साहित्य

राष्ट्रिय थारू साहित्य सम्मेलन

'थारू समुदायको जीवन अझै दु:खदायी'

लेखराम सापकोटा |
माघ २१, २०७९ शनिवार १६:५६ बजे

बाँके। बाँकेको फत्तेपुरमा राष्ट्रिय थारू साहित्य सम्मेलन चलिरहेको छ । सम्मेलनमा थारूको जनजीवन, संस्कार र संस्कृति बारेमा विभिन्न सन्दर्भमा छलफल चलाइएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने आयोजक थारू गोचाली समाज बाँके र थारू लेखक संघ नेपालले जानकारी दिएको छ ।

शनिबार आयोजना गरिएका विभिन्न छलफल कार्यक्रम मध्ये `आख्यानमा थारू जीवन´मा थारूका बिषयमा कलम चलाएका लेखकलाई उभ्याइएको थियाे। मनोज चौधरी, महानन्द ढकाल र गणेश वर्तमानसँग नवीन अभिलाषीले कुराकानी गरे । चितवनका लेखक मनोज चौधरीका `टुकी´ र `टुवरा´ गरि दुईवटा उपन्यास प्रकाशित छन् । यी दुवै उपन्यासमा लेखक चौधरीले थारूको जनजीवनलाई चित्रण गरेका छन् ।


त्यसैगरी बाँके, कोहलपुरका महानन्द ढकालले `बुह्रान´ उपन्यास लेखेका छन् । थारू भाषाकै शब्द `बुह्रान´ उपन्यासमा विभिन्न कारणले थातथलो छोडेर बसाइँसराइ गरेका थारू समुदायको चित्रण गरिएको छ । अर्का सहभागी गणेश वर्तमानको `त्वाना´ पुस्तक पनि यहि सम्मेलनमा विमोचन भएको उपन्यास हो । थारू जातिको पारम्पारिक हतियारलाई त्वाना भनिन्छ ।

सहजकर्ता अभिलाषीले तीन जना लेखकसँग कुराकानी गर्दै थारू जनजीवनलाई खोतल्ने प्रयास गरे । बरघर अर्थात मुखिया बस्ने थारूदेखि कमैया बसेका थारूहरूको जीवनलाई बहसमा उतारे । लेखक मनोज चौधरीले हुनेखाने थारूभन्दा श्रमजीवी थारू समुदाय धेरै भएको दाबी गरे । साहु महाजनको घरमा गोठालो बसेर पनि जीवन गुजारा गर्न थारू समुदाय अझैसम्म बाध्य बनेको चौधरीले बताए । लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको शक्ति अहिले पनि कमजोर भएको बताए । थारूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो ढकालले गरे ।

आफू थारू समुदाय कै भएकोले थारू विषयमा पुस्तक लेख्न अप्ठ्यारो नभएको मनोजले बताए । बुह्रानका लेखक ढकालले आफू थारू समुदाय कै सेरोफेरोमा जन्मेहुर्केकोले यो विषयमा किताब लेख्न केही सहज भएको बताए । थारू समुदायका बारेमा लेखिनुपर्ने विषय धेरै भए पनि अहिलेसम्म किताबका माध्यमबाट थोरै मात्र विषय सार्वजनिक भएको गणेश वर्तमानले बताए । `आउन बाँकी अरू विषयमा कलम चलाउने मेरो रहर छ´, वर्तमानले भने ।


Author

थप समाचार
x