साहित्य

साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई

इकागज |
मंसिर २१, २०७९ बुधवार २१:३२ बजे

काठमाडौँ - साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । 

साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले उनलाई पुरस्कृत गरे । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।


त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा रेग्मीले श्रीबाबु कार्कीद्वारा लिखित ‘संदिग्ध शताब्दी’ र डा दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित ‘डोल्पो ओ डोल्पो’ निबन्ध सङ्ग्रह विमोचन गरेका हुन् । 

कार्यक्रममा सचिव डा रेग्मीले साहित्य सृजना गर्ने लेखकले पुस्तक प्रकाशन गरेर ज्यादै दुःख पाउनुपरेको बताए । `लेखकले पुस्तक आफूले लेखेका रचनालाई पुस्तकका रूपमा उतार्न ज्यादै कठिन छ, त्यसपछि प्रकाशन चहारेर प्रकाशन गराउन अर्को कठिनाइ छ, बल्ल प्रकाशन भएर बजार गयो, बिक्री भएर पछि पारिश्रमिक पाउन कठिन छ`, उनले भने, `यस्ता समस्यालाई समाधान गर्न हामी लागि पर्नेछौँ, साझा प्रकाशन सबै लेखकलाई आश्रय दिने थलो हुनेछ । यस क्षेत्रमा काम गर्न साझालाई मेरो सहयोग रहनेछ ।`

पुरस्कृत व्यक्तित्व प्राध्यापक ढुङ्गानाले पुरस्कारको लोभमा नभई पूर्वीय वाङ्मयको जानकारी दिन किताब लेखेको बताए । `पुरस्कार पाउँछु भन्ने लोभमा किताब निकालेको हैन, पढाउने क्रममा पूर्वीय वाङ्मयको जानकारी दिने खालका उपयुक्त किताबहरू आवश्यक छ भन्ने लाग्यो, त्यसक्रममा पाठकको मानसिकताअनुसार किताब लेख्ने विचार आयो, धेरै मेहनत गरेर किताब निकाल्न सफल भएँ`, उनले भने, `एक वर्ष नपुग्दै मेरो कृति चर्चामा पुग्न सफल भयो, पुरस्कारका लागि योग्य ठान्नु भो, यसका लागि कृतज्ञता व्यक्त गर्दछु ।`

प्रा डा माधवप्रसाद पोखरेलले नयाँनयाँ प्रविधिको सुविधाले लेख्ने, पढ्ने र सृजना गर्ने संस्कृति हराएकामा चिन्ता व्यक्त गरे । `प्रविधिले अहिलेको पुस्तामा सृजना गर्ने शक्ति हराएको छ`, प्राडा पोखरेलले भने । 

साझा प्रकाशनका अध्यक्ष विजय सुब्बाले विगतमा साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाइएका कारण साझा प्रकाशन संकटकालीन अवस्थामा आएको बताए । 

`साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाउने मन्त्री र मन्त्रालयका कारण यो अवस्था आइपुगेको हो`, अध्यक्ष सुब्बाले भने, `साझा नबुझ्ने मन्त्री र सचिव मात्रै हैन । साझालाई बिगार्न साथ दिने कर्मचारी पनि रहेकाले अहिले पनि समस्यामा रहेको छ । यसलाई सुधार्न हामी लागिपरेका छौँ ।`
रासस


Author

थप समाचार
x