साहित्य

संग्रौलाको जीवनीमा आधारित पुस्तक ‘एक बागी’ सार्वजनिक

इकागज |
कात्तिक १४, २०७९ सोमबार १२:४३ बजे

काठमाडौं– लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईद्वारा लिखित खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’ सार्वजनिक भएको छ । आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक भएको हो । पुस्तक पूर्वराजदूत तथा लेखक महेश मास्के, अनुसन्धानकर्मी सविन निङ्लेखु, उषा श्रेष्ठ र गगन थापाले सयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा गगन थापाले खगेन्द्र संग्रौलाले उनी र उनको पुस्तालाई प्रश्न गर्न सिकाएको बताए । ‘मेरो पुस्ताका थुप्रैले उनलाई गुरु मान्छन् । यसका केही संयोग छन्,’ उनले भने, ‘उनका कैयन कुराहरू प्रति हाम्रा प्रश्नहरू थिए । त्यही प्रश्न गर्न उनले सिकाए । उनले बागी हुन सिकाए । तिमीले उत्तरहरू भेट्दैनौ होला तर पनि तिमीले प्रश्न गर भनेर सिकाए । सडकमा सिकाए । कहिलेकाहीँ पाठशालामा सिकाए ।’


अनुसन्धानकर्मी सविन निङ्लेखुले पुस्तकमा प्रसाईँले संग्रौलाको जीवनमा लिएका निर्णयहरू सहि थिए कि गलत थिए भनेर लेखकको रूपमा बौद्धिक स्वतन्त्रताको प्रयोग गरेको बताए ।  ‘खगेन्द्र दाइले जीवन जिउने क्रममा विभिन्न निर्णयहरू लिनुभएको थियो,’ उनले भने, ‘त्यो सही थियो कि गलत ? त्यो किन जरूरी थियो ? त्यो निर्णय किन लिइयो ? आन्दोलनलाई अगाडि राखेर हेर्दा, बहिष्करणलाई अगाडि राखेर हेर्दा त्यो निर्णय लिन जरूरी थियो कि थिएन भनेर पनि उज्जवलले आफ्नो बौद्धिक स्वतन्त्रता प्रयोग गरेको छ ।’ उनले उक्त पुस्तक अंग्रेजी अनुवाद गर्नुपर्ने प्रस्ताव समेत गरे । 

प्रसाईँले खगेन्द्ररूपी झ्यालबाट आफूले उनले बाँचेको समय र समाज देखाउन खोजेको जिकिर गरे । 
 

पूर्वराजदूत तथा लेखक महेश मास्केले पुस्तकमा प्रसाईंले एकै पटक आख्यानको स्वाद, इतिहासको गहिराइ, शोध ग्रन्थको अन्वेषण पस्किएको बताए । संग्रौलामाथि अनुसन्धान गरिरहेकी उषा श्रेष्ठले पुस्तकमा खगेन्द्र संग्रौलाको बखान मात्रै नभएको बताइन् । उनले लेखक प्रसाईँको लेखनको  समेत प्रशंसा गरिन् । संग्रौलाले पुस्तक लेख्नेभन्दा आफूबारे लेख्न बाँकी केही छैन जस्तो लागेको अनुभव सुनाए ।

‘मैले आफ्ना निबन्धहरुमा आफ्नै जीवनका संस्मरणहरु लेखेँ । मेरो जीवनी लेख्ने प्रसंग उठेपछि मलाई लागेको थियो– भन्न बाँकी के छ? जीवनीप्रति मेरो सहमति थिएन,’ उनले भने, ‘तर उज्ज्वल प्रसाईले अत्यन्तै कष्टसाध्य अनुसन्धानको माध्यमबाट मेरो जीवनका विभिन्न पाटा, पक्ष र आयामहरु, देखिएका र नदेखिएका कुराहरु उधिनेर निकालेका छन् ।’ पुस्तक आएपछि अझै थुप्रै कुरा छुटे भन्ने लगेको उनले सुनाए । 

लेखक प्रसाईंले पुस्तक खगेन्द्र संग्रौलाका लेख रचना र त्यसबेला उनीबारे लेखिएका लेखहरूको अनुसन्धनबाट लेखिएको बताए । पुस्तक लेख्नका लागि गरिने अनुसन्धानका लागि संस्थाहरुको अभाव भएकाले मार्टिन चौतारी जस्ता संस्थाको आवश्यकता रहेको बताए । प्रसाईँले खगेन्द्ररूपी झ्यालबाट आफूले उनले बाँचेको समय र समाज देखाउन खोजेको जिकिर गरे । 
 


Author

थप समाचार
x