साहित्य

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक लोकार्पण

इकागज |
कात्तिक १३, २०७९ आइतबार १९:० बजे

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित सिद्धिचरण हलमा सार्वजनिक गरिएको हो ।  

समारोहमा प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, अतिथि तथा विशेष अतिथिहरू नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता सुरजचन्द्र लामिछाने, नीलहिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की निर्देशक पिङ्की गुरुङ, मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी, पुस्तकका सल्लाहकारहरू माल्भिका सुब्बा र लेक्स लिम्बुले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । 


उनीहरूलाई सर्जकहरू डा. शर्मा र डा. पाठकले साथ दिएका थिए । कार्यक्रममा पुस्तकका सर्जकमध्ये एक एवम् दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा कसरी बन्यो भन्नेबारे आफ्नो अनुभव साझा गरिन् । आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन् । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा आफूभित्र रहेको चित्रकार फेरि प्रस्फुटित भएको उनको भनाइ छ ।  

‘लकडाउनको समयमा डर, त्रास र दुःखबीच चित्र मेरो साथी बन्यो । चित्रहरूले मलाई यी आवेगसँग जुझ्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बने । मसँगै मेरी सहपाठी अर्पणाले पनि त्यस्तै गर्थिन्,’ उनले थपिन् । आफ्ना चित्रहरू मण्डला र मिथिला शैलीबाट प्रभावित भएको उनको कथन छ । त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको शर्माले बताइन् । 

‘लकडाउनकै समयमा हामीले एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे थाहा पायौं । परिवार र समाजले अस्वीकार गरेका कारण उनीहरू प्रेम जोगाउन अमेरिका जानुपरेको सुन्यौं,’ उनले भनिन् । समाजले नस्विकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? उनीहरूले अरू कति ठूला सामाजिक विभेद र समस्या झेल्नुपर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको नजिक भएको र उनीहरूकै कथालाई चित्रको रूप दिने निचोडमा पुगेको सर्जक शर्माको भनाइ छ ।  

पुस्तकको रचनागर्भबारे बोल्दै शर्माले भनिन्, ‘चित्रका लागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा, ती मैले देखेको र सुनेको भन्दा बेग्लै थिए । ती पात्रहरूको व्यथा, दुःख र भोगाइ हर कोहीले कल्पनासमेत गर्न नसक्ने खालका थिए ।’ उनले थपिन्, ‘जसले भोगे ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् ? त्यसैले यस पुस्तकका हरेक पाना पाना मात्र नभएर जीवनकथा हुन् ।’ 

लेखिँदै आएका पुस्तकभन्दा फरक विषय र चित्र कोरिएको कागजको मुठा बोकेर प्रकाशनका निम्ति विभिन्न संस्था धाउनुपर्दाको चुनौतीहरूमाथि प्रकाश पारिन् अर्की सर्जक अर्पणा पाठकले । अन्ततः यस पुस्तक प्रकाशनलाई साहित्य, कला र समाजप्रतिको दायित्वका रूपमा फाइनप्रिन्टले ग्रहण गरेको उनको भनाइ छ । 
नेपालको सन्दर्भमा ‘एलजिबिटिआइक्यू’ समुदायका लागि बनाइएको यो पहिलो कलरिङ बुक भएको सर्जक साथै पुस्तकको सल्लाहकारहरूको दाबी छ । 

समाज हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि गर्वका साथ कुनै विभेदबिना बाँच्न योग्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु नै यस पुस्तकको मूल उद्देश्य रहेको सर्जक शर्माको भनाइ छ । ‘म मानिस हुँ र म महिला भएर बाँचिरहेकी छु । मलाई यसमा गर्व छ । मैले बच्चैदेखि पाएको साथ र समर्थनले गर्दा यो सम्भव भएको हो । तर आफ्नो लैङ्गिक पहिचानकै आधारमा कतिले यो अवसर पाउँदैनन् । यस्तो अवसर सबैले पाउनुपर्छ । र सबैले आफूप्रति गर्व गर्न पाउनुपर्छ भन्ने सन्देश यो किताबले दिन खोजेको हो,’ शर्माले भनिन् ।  

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरातन समाजलाई नै परिवर्तन गर्ने पुस्तक लोकार्पण समारोहमा सहभागी हुन पाउँदा आनन्दित भएको बताए । उनले यस सिर्जनालाई ‘एलजिबिटिआइक्यू’ समुदायले भोगेको कठिनाइहरूको प्रस्तुतिको संज्ञा दिए । 

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले कलाका माध्यमबाट अभिव्यक्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको कथाले हिंसा र यस समुदायबारे समाजमा व्याप्त रूढिवाद कम गर्न सहयोग पुग्न सक्ने धारणा राखिन् । ‘यो पुस्तक हामी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हक, अधिकारको आन्दोलनमा एउटा इँटा बन्न सक्छ । यसले विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो समुदाय वा आफ्नै भावना समेत बुझ्न मद्दत गर्न सक्छ,’ उनले भनिन् । 

कार्यक्रममा वाग्मती प्रदेश सरकारको कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आफ्नो मन्त्रालयमार्फत सीमान्तकृत तथा अल्पसङ्ख्यकहरूलाई कलामार्फत आफ्नो भावना र समस्या अभिव्यक्त गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।  लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई कलामार्फत आफ्नो हक, अधिकार र विविधताको मुद्दा समेट्ने गरी बजेट विनियोजन गर्ने उनको भनाइ छ । 

यस पुस्तकले आम मानिसलाई मानव शरीरसँगै जन्मने आत्मा र भावनालाई चिनाउने प्रयास गर्न सक्ने पिङ्की गुरुङले बताइन् । उनले भनिन्, ‘चित्रले मानिसलाई महसुस गराउँछ । पढेको कुरा त दिमागमा बस्ने हो । चित्रमा देखेको कुरा मानिसको मनमा बस्छ । त्यसलाई मानिसले अनुसरण गर्छन्,’ उनले भनिन् । 

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले अरू कसैको भावनालाई चित्रमार्फत उतार्ने जमर्को गरेकामा दुई सर्जकहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरे । पुस्तकमा समेटिएका चित्रले एउटा सिङ्गो समुदायको प्रतिनिधित्व गर्ने विश्वास रहेको उनको भनाइ छ ।  

सन् २०२० मा पुस्तकको अवधारणा बन्दादेखि सल्लाहकार रहेकी माल्भिका सुब्बाले लेखकहरूले चित्र र समग्र पुस्तकमा लैङ्गिक तथा यौनिक समुदायको मुद्दा सम्बोधन न्यायपूर्ण ढङ्गमा गरेको दाबी गरिन् । आफू समाजको अंश भएको र यहाँ अरू कसैको ठाउँ नओगटी उनीहरूका लागि बोल्न आवश्यक लागेकाले पुस्तकलाई पूर्ण बनाउन साथ दिएको उनको भनाइ छ । 

अर्का सल्लाहकार लेक्स लिम्बूले समलिङ्गी पुरुषका रूपमा आफूले भोगेका चुनौतीहरूबारे बोले । ‘नेपालमा मात्र होइन, विदेशमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले समस्या भोग्नुपर्छ । यस पुस्तकले तिनै चुनौती देखाउने कोसिस गरेको छ,’ उनले भने । 
 


Author

थप समाचार
x