साहित्य

पर्व र संस्कृतिको स्वागत गर्दै कपनमा सुनिए कविता

इकागज |
कात्तिक ५, २०७९ शनिवार १३:२९ बजे

काठमाडौँ- कपन साहित्य समाज, बूढानीलकण्ठले लक्ष्मीजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र प्रकृतिसम्बन्धी कविता वाचन गरेका छन् । कविता, मुक्तक, गजल, हाइकु र सुसेलीमार्फत उनीहरूले तिहारजस्ता पर्व र संस्कृतिको स्वागत गर्दै सीमारक्षा र देशभक्तिमा पनि जोड दिए ।    
    
कार्यक्रममा त्रिलोचन आचार्यद्वारा लिखित मुक्तकसङ्ग्रह ‘विनासर्त’को पनि विमोचन गरियो । सङ्ग्रहमा सीमा अतिक्रमण, देशप्रेम, राजनीतिक नेताका आचरण, सांस्कृतिक विचलन, श्रमको सम्मान आदि विषयमा एक छन्दमा छ वटाका दरले ४० छन्दमा रचिएका दुई सय ४० मुक्तक छन् । प्रायः मुक्त लयमा चतुष्पदीमा लेखिने मुक्तकमा शास्त्रीय छन्दको प्रयोग कमै पाइन्छ । निजामती कर्मचारी आचार्यका यसअघि कविता, खण्डकाव्य र निबन्ध गरी सात कृति प्रकाशन भइसकेका छन् । सिन्धुपाल्चोक, इन्द्रावती–६, बडहरेका कविले विभिन्न पुरस्कार एवं सम्मान पनि प्राप्त गरिसकेका छन्।    
    
नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यवाहक सदस्य सचिव हेमनाथ पौडेलले प्रगतिशील कवि आचार्यका मुक्तकमा समाजको यथार्थप्रति आलोचनात्मक दृष्टिकोणका साथ भाग गाम्भीर्य र संरचनात्मक विशिष्टता पनि रहेको बताए । समालोचक डा रामप्रसाद ज्ञवालीले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यकारका विशाल र गतिशील जम्बोजेट भएको विचार राखे ।    
    
समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मण अधिकारीले विसं २०६१ मा स्थापित समाजका गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा गोविन्द वेदमणि, ॐप्रसाद कोइराला, भारद्वाज मित्र, मित्रलाल पङ्ज्ञानी, बिसु केसी, श्याम रिमाल, केशव पाठक, विनोद वत्स, दुर्गा भमरकोटे, प्रमोद भण्डारी, भोला उपाध्याय र शान्ति रिसालले आआफ्ना रचना प्रस्तुत गरेका थिए ।



Author

थप समाचार
x