साहित्य

एक राजनेताको स्वीकारोक्ति

शिशिर उप्रेती |
कात्तिक ५, २०७९ शनिबार ६:५२ बजे

म गीतामाथि हात राखी
कसम खाएर भन्छु— 
जे जे भन्छु सबै झुटो भन्छु, झुट सिवाय केही पनि भन्दिनँ ।

तपाईँलाई राजनीतिमा चाख छैन भने
मेरो झुट पत्ता लगाउन सकस नहोला
यदि तपाईँ राजनीतिमा आबद्ध हुनुहुन्छ भने
मेरो झुटलाई साँचो मान्ने छुट दिएको छु ।


तपाईँ चिन्ता नगर्नुस्
म चाबहिलदेखि साँखुको सडक बनाउँछु 
(सर्त लागू हुनेछ, ‘चुनाव जितेँ भने मात्र’)
ढुक्क हुनुहोस् म कोटेश्वरको जाम हटाउँछु । 
त्यही सर्तमा म केही प्रतिबद्धताहरू व्यक्त गर्न चाहन्छु ।
डिजिटल प्रविधिको प्रयोगले तपाईंको जीवन 
सरल बनाउने जिम्मा निःसन्देह मेरो हो ।
तपाईँ देशमा रोजगारी नभएर

परिवार पाल्ने चिन्ताले डिप्रेसनमा हुनुहुन्छ ?
आउनुहोस् यता छ, फ्री टिकट र भिसा ।
म यो देश समृद्ध बनाउन प्रतिबद्ध छु
नेपाल स्विजरल्यान्डभन्दा कम छैन
अब सिङ्गापुर पनि झट्टै बन्छ ।
रेल र पानीजहाज के हो त ?
बाटो तपाईँको आँगनसम्म धाउनेछ
हावाको सट्टामा धारोमा पानी पठाउँछु
मेलम्ची मेरो अलि पुरानो सपना थियो
छाडिदिनुहोस् न यार पुराना कुरा 
म तपाईँलाई नयाँ–नयाँ सपना सुनाउँदै छु ।
के मलाई तपाईँ आफ्नो १० वर्ष दिन सक्नुहुन्छ ?
यदि त्यो मामुली समय तपाईँसँग छ भने
म फुटाउँछु मूल विकासको ।
यदि समय छैन भने हिँड्नुहोस यार काठमाडौँको 
द्रुत रेलमा बसेर सररर सयर गरौँ एकछिन
सुन्दर सहरको मनमोहक दृश्य हर्दै ।
अब देशमा भएका सबै कलकारखाना 
तत्कालै खुल्नेछन् ।

त्यसपछि त आयात बन्द निर्यात नै निर्यात 

आत्मनिर्भर बन्ने हो
डलर सञ्चितीको कुनै चिन्ता हुनेछैन
नेपाल श्रीलङ्का हुन्छ भन्ने को हो ?
वाहियात कुरा गर्ने ?
देशद्रोहीहरू ।
अग्रगमन र प्रतिगमन 
समान अर्थ लाग्ने शब्दहरू हुन्
कित्ताकाट किन गर्नुप¥यो ?
हामी क्लोन न हौँ एकअर्काको 
छोड्नुहोस् यस्ता कुरा
म तपाईँको छिमेक टोलमा फ्री वाईफाई जोडिदिन्छु
अन्डर पास र फ्लाइओभर बनाउला
बिजुलीको तार चाँडै अन्डरग्राउन्ड हुन्छ ।
जडीबुटी, गाँजा बेच्नुपर्छ
पानी बेचेर मुलुक धनी बनाउनु पर्छ ।
हाइड्रोजन भनेको थाहै होला यहाँलाई ?
तपाईँ श्रमजीवी, इमानदार, कर्मनिष्ठ भए
मेरा शब्द जालमा एकछिन फस्नु होला
तर पनि मेरो झुट पत्ता लगाउन सक्नुहुन्छ
यदि तपाईँ भ्रष्ट नेताको चाटुकार हो भने
मेरो झुटलाई सत्य मान्ने छुट छ तपाईँलाई ।
कर्णालीमा सिटामोल र चामल चाँडै पुग्छ
देशकै नैतिकताको धरोहर मनाङबाट 
चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ
इँट्टा भट्टामा रोजगारी दिने गरी 
तराईमा परिवारकै लायक पात्र छानेका छौँ
चिन्ता किन गर्नुहुन्छ ? 
बैंङ्किङ कसुर भनेको अपराध हुनै सक्दैन
न्यायालय र न्यायाधीश निष्पक्ष छन् ।
अख्तियार दुरुपयोग गर्नेलाई 
पाता फर्काइन्छ
बलात्कारीलाई फाँसीको व्यवस्था हुन्छ ।
पुगेन त अब ?
चुनावपछि देश स्वर्ग बन्छ स्वर्ग
आफ्नो अमूल्य मत खेर जान नदिनु होला
तपाईँहरूको दुःखका दिन अब धेरै बाँकी छैनन्
अर्थात् चुनाव सकियो कि दुःख सकियो ।
म कसम खाएर भन्दै छु
पवित्र ग्रन्थको कसम
मान्नुस् न यार
नेपाल आमाको कसम ।

...
 


Author

थप समाचार
x