साहित्य

राष्ट्रकवि घिमिरेको महाकाव्य ‘ऋतंभरा’ लोकार्पण

इकागज |
असोज ७, २०७९ शुक्रबार २०:४९ बजे

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाकाव्य ‘ऋतभारा’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँ, सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमबीच महाकाव्य लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, श्रीमती महाकाली घिमिरे, कविद्वय भुवनहरी सिग्देल र डा.लेखप्रसाद निरौला आदिले महाकाव्य लोकार्पण गरेका हुन् ।

कार्यक्रममा राष्ट्रकविका छोरा राजीव घिमिरेले बुवालाई लेखनाथ साहित्य सदन लिएर आउँदाको किस्सा सुनाए । ‘उहाँलाई यहाँ ल्याउँदा हामी कपडामा आइरन, जुत्तामा पालिस गरेर चिटिक्क पारेर ल्याउँथ्यौँ,’ उनले सुनाए, ‘आज बुवा हुनुहुन्न तर, उहाँको कृति हामीले धेरै मेहनत गरेर ल्याएका छौँ । अरुबेला बुवालाई यहाँ ल्याउँदा लिएर पनि जान्थ्यौँ । आज उहाँ हुनुहुन्न । तर, उहाँको कृति लिएर आएका छौँ । जुन उहाँका साहित्यिक अनुरागीहरूलाई छाडेर जाँदैछौँ ।’


राजीवका अनुसार १ सय १ वर्षको उमेरमा पनि राष्ट्रपति घिमिरे पाँच महिना होइन पाँच वर्ष पछिको योजना सुनाउँथे । ‘यो पुस्तक जसरी पनि पूरा गर्ने उहाँको आत्मविश्वास थियो,’ उनले भने, ‘उहाँको इच्छा हामीले पूरा गरिदिने कोसिस गरेका छौँ ।’

महाकाव्यबारे चर्चा गर्दै उनले भने, ‘सुरुमा हामीले भेट्दा उहाँको यो कृति प्लास्टिकको तीनओटा पोकाभित्र थियो ।’

ती पोका उनीहरूले परिवारका सबै सदस्य बसेर खोले । ‘अरूका लागि उहाँ राष्ट्रकवि भएपनि हाम्रा लागि बुवा हुनुहुन्थ्यो,’ उनले भने, ‘कृति प्रकाशनका लागि ती पोकाहरू खोल्दा हामी निकै भावुक भएका थियौँ ।’

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले धेरैले प्रतिक्षा गरेको कृति प्रकाशित हुँदा खुसी लागेको बताए । यसका लागि साझा प्रकाशन र परिवारले खेलेको भूमिकाप्रति उनले आभार प्रकट गरे । ‘यो कृतिले साझालाई पुनर्जीवन दिन सघाउने छ,’ उनले भने, ‘लामो साधनाबाट खारिएर निस्किएको कृति आफैँमा निकै महत्वपूर्ण छ ।’

त्यस्तै, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले राष्ट्रकवि घिमिरेले जीवनकालमै आफ्नो महाकाव्य साझाबाट प्रकाशन होस् भन्ने इच्छा व्यक्त गरेको बताए ।
कवि लेखप्रसाद निरौलाले ‘ऋतंभरा’ राष्ट्रकविलाई जीवित राख्ने कृति भएको बताए । ‘यसलाई बुझ्न केही कठिन र समय लाग्ने भए पनि यो कृति एकदमै गम्भीर छ,’ उनले भने । 

अर्का कवि भुवनहरी सिग्देलले आठ दशकको साहित्यिक साधनापछि महाकाव्य तयार भएको बताए । ‘राष्ट्रकविले यो कृतिबारे कुरा गर्दा मलाई ठट्टा जस्तै लाग्थ्यो,’ पुराना कुरा सम्झिँदै उनले भने, ‘उहाँको घर जाँदा ‘कहाँ छ तपाईंको कृति ?’ भनेर सोध्थेँ । उहाँ ‘सिरानमा छ’ भन्नुहुन्थ्यो । ‘किन सिरानमा राखेको ?’ भनेर सोध्दा ‘पाकेको छैन, पकाउँदै छु’ भन्नुहुन्थ्यो । आज त्यही कृति हाम्रो हातमा आएको छ ।’

राष्ट्रकवि घिमिरेको जन्मदिन पारेर महाकाव्य लोकार्पण गरिएको हो । उनको १ सय १ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो । 


Author

थप समाचार
x