साहित्य

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

इकागज |
साउन २५, २०७९ बुधबार २१:३९ बजे

फाइल फोटो

काठमाडौँ - यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ ।

बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उनको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो । 


पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिए । पुन देश बाहिर रहेकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ । 

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’नामक संस्था दर्ता भएको हो । संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ । अक्षय कोषको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिए । 

त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गरेको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ । 


Author

थप समाचार
x