साहित्य

कथा

पीडा !

विनोद भण्डारी |
असार १८, २०७९ शनिबार १७:२१ बजे

‘मम्मी !’ 
‘के भयो बावु ?’

राति एघार बजे बिस्तरामा रमेश आत्तिएर उठेपछि उसकी आमाले सोधिन् । उ केही बोलेन । उसलाई छातिमा सुम्सुम्याइन् । उसको मुटुको गति तीव्र वेगले धड्किरहेको रहेछ । जीउ पनि ज्वोरोले रनन्न छ ।


‘बाबु के भयो ? पानी खान्छौ ?’ स्नेहपूर्ण प्रश्न गर्दै उनले छेउमा भएको गिलासको पानि पिलाइन् । रुमाल भिजाएर चिसो गरी निधारमा राखिदिइन् । हुन त उसको जीउमा अझै पनि ज्वरो उस्तै छ, तर आमाको काखले आधा ज्वरो त्यसै निको भएझँै लाग्यो । जीउ शीतल भयो । 

आमा चिन्तित् भइन् । आज श्रीमान् पनि अफिसको कामले बाहिर गएका छन् । भm्याल खोलिन् ताकि ताजा हावा कोठाभित्र छिरोस् । ‘
केही समयपछि ‘बाबु अव कस्तो छ ? ’ भन्दै उसको निधार छामिन् । उसको ज्वरो केही कम भयो ।

उसलाई एक्कासी आएको ज्वरोको कारण उनले पत्ता लगाउन सकिनन् । छोरो पनि हिजोअस्तिको तुलनामा आज स्कुलवाट आएपछि खासै बोलेको छैन । 

उनीहरू पुनः बिस्तरामा पल्टिए । आमाले बत्ति निभाइन् र छोरोलाई भनिन् 
 ‘बावु नडराई सुत, केही हुन्न तिम्लाई, ज्वरो ठीक भयो ।’
 

‘हस् मामु’ उसले यत्ति भन्यो र आमाको काखमा लुट्पुटियो ।

बाह्र बज्यो । 

घरबाहिर कुनै कुकुर भुकेको आवाज रमेशको कानमा पर्यो ।

‘मम्मी !’ 

‘फेरि के भयो बावु ? किन डराएको ? भन त के भयो ?’ .आत्तिएर छोरोलार्ई एकैचोटि तीनवटा प्रश्न गरिन् उनले ।

फेरि छोरोले राम्ररी बोल्न सकेन । शरीर फेरि तातो भएछ । थुप्रैबेर पानीपट्टी गरेपछि ज्वरो केही कम भयो । ऊ नबोली सुत्यो । तर निदाएको छैन ।  आमाको स्याहारवाट अलि ठीक भएझैँ लागे पनि यता रमेशलाई दिउँसोको घटनाले अझै लखेटिरहेको थियो । आँखा बन्द भए पनि मस्तिष्कमा त्यही दृश्य झलझली आइरहेको थियो । 
–––––––
वास्तवमा रमेश एक कक्षामा पढ्ने सानो बालक हो । घरबाट स्कुल केही टाढा भएकाले ऊ पढ्न सधैं स्कुलबसमा जान्थ्यो र त्यसैमा फर्किन्थ्यो ।

स्कुलबाट फर्किँदा एउटा बस बिसौनीमा उसको स्कुलबस सधैं दुई मिनेट जति रोकिन्थ्यो । रमेशले बसको भm्यालवाट तल हेर्दा त्यहाँ सधैं एउटा खैरो रङको कुकुर देख्थ्यो ।

उसलाई त्यो कुकुर अति मन पर्थ्याे । गाडीबाट झरेर कुकुरसँग खेल्न जाउँ जाउँ जस्तो लाग्थ्यो । घुम्रो परेको आफ्नो पुच्छरलाई  कुकुरले मुखले छुन खोज्थ्यो । यसो गर्दा उ आफैँ फनफनी घुम्थ्यो । आहा कति मजाले घुमेको कुकुर ! रिंगटा पनि नलाग्ने । ‘मेरो घरमा यस्तो कुकुर भइदिए त, उसँग दिनदिनै मज्जाले खेल्न हुन्थ्यो ।’ उसले बसभित्रबाटै कल्पना गर्थ्याे ।

त्यसैले स्कुलबाट टिफिनमा थोरै भएपनि खाजा बचाएर ल्याउने र बसको भm्यालवाट झारिदिने गर्थ्याे  । त्यसरी झ्यालबाट झारिदिँदा कुकुरले क्‍वाप्प खाएको हेर्न उसलाई एकदमै मजा लाग्ने । कुकुर त खुसी भएर झन् बुरुक्क उफ्रिने बसको झ्यालसम्मै । 

कुकुरले पनि आफूलाई एउटा केटोले खानेकुरा खसालिदिन्छ भनेर याद नै गर्ने । त्यसैले त्यो कुकुर उही समयमा उही ठाउँमा पहिल्यै आएर बस्थ्यो । 
तर हिजो चाहिँ त्यो कुकुर खुट्टा खोच्याएर उभिएको थियो, सधँै बस्ने ठाउँभन्दा केही पर । सायद कुनै सवारी साधनले किचिदिएछ । खुट्टाको घाऊमाथिको रगत खान भुन्भुनाइरहेका झिंगाहरूमा रमेशको आँखा गयो । उसलाई बसबाट तल झरेर ती झिंगाहरु धपाउन मन लाग्यो ।

कुकुरले रमेशलाई देख्यो । चिन्यो, खुसी भयो । अनि आफ्नो नियमित गतिमा रमेश बसेको झ्याल नजिकै आउन खोज्यो, सकेन । एउटा खुट्टा भाँचिएको थियो । त्यसैले बल्लबल्ल घिस्रिँदै नजिकै आउँदै गरेको कुकुरको पीडाले रमेशलाई दुख्यो । 

बाटोमा खेल्दा लडेर घुँडामा चोट लाग्दा आफूलाई आमाले अस्पताल लगेर उपचार गरेको रमेशले सम्झ्यो । सोच्यो,  ‘यसलाई कसले उपचार गर्छ, कसरी ठीक हुन्छ यसको घाऊ ? मलाई जस्तै उपचार गरिदिने यस्को त कोही पनि छैन ।’

अनि अर्को दिन अर्थात् आज पनि त्यही ठाउँमा स्कुलबस रोक्यो । उसले आँखा ठूलो बनाएर हेर्यो । सधैं बस्ने ठाउँमा कुकुर थिएन । अलि परसम्म नियाल्दा उसले हेर्न नसक्ने दृश्य देख्यो ।

ओहो ! त्यो खैरो कुकुरको त आधा भाग मात्र छ । टाउको त छँदै छैन । निकै व्यस्त हुने काठमाडौंको सडकको बीचमा त्यो कुकुरलाई कुनै सवारी साधनले किचिदिएछ । आधा भाग मात्र देखिएको मृत कुकुरको विभत्स दृश्यले रमेशको मुटु घोच्यो । टाउकोबाट उछिट्टिएको एउटा आँखाले त उसैलाई मात्र हेरिरहेको छ, एकोहोरो । रमेशको कोमल बाल हृदय काँप्यो । एकछिन् बेहोस होला जस्तो भयो ।    

यही घटनाले उसको हृदयमा गहिरो छाप बनायो । यस्तो दृश्य उसलै कहिल्यै देखेको थिएन । त्यसैले आत्तिएर ज्वरो आएको । 

दुईचोटि उठेर सुतिसकेपछि अहिले उसकी आमा निदाइसकेकी छिन् । ऊ पनि निदाउनै लागेको के थियो । घरबाहिर कसैको कुकुर फेरि भुकेको आवाज आयो । ऊ फेरि झस्क्यो । त्यो बाल हृदयमा गढेको दृश्य फेरि सल्बलायो ।

फेरि त्यो कुकुरले बुरुक्क उफ्रेर क्वाप्प खायो उसको खाजा, कल्पनामा । फेरि आफ्नो पुच्छर छुन खोज्दा फनफनी घुम्यो कुकुर । फेरि घाऊ भएको खुट्टा खोच्याउँदै हिँड्यो त्यो कुकुर, त्यसको पीडाले रमेशलाई दुख्यो । फेरि त्यही उछिट्टिएको आँखाले एकोहोरो हेरिरह्यो । 

‘बिचरालाई कति दुख्यो होला, कति करायो होला । त्यसको त मेरो जस्तो आमा पनि छैन ।’ निदाएकी आमाको छातीमा टासिँदै बलियोगरी समायो ।
उसले काठमाडौंको सडकको धेरै ठाउँमा यस्ता कुकुरहरुलाई देखेको थियो । ति सबैलाई सम्झ्यो । 


Author

विनोद भण्डारी

भण्‍डारी काठमाडौँ इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रमुख हुन् ।


थप समाचार
x