जीवनशैली

बेवारिसेको सहारा बन्दै मानव सेवा आश्रम

धनबहादुर गुरुङ |
पुस ११, २०७८ १२:४२ बजे

पोखरा - रमेश मानव साढे ३ वर्ष अघिसम्म बेवारिसे थिए । शरीरमा एकसरो कपडाविनै पोखरा २५ याम्दीको पुल ओहोरदोहोर गरिरहन्थे । लामो कपाल, झ्याप्प दाह्री, खाली खुट्टा, लामा नङ । समग्रमा बेवारिसे जिन्दगी उनको पहिचानजस्तै थियो । मानसिक सन्तुलन ठिक नहुँदा झनक्क रिसाउने अनि कसैले केही भने हात छाड्ने उनको स्वभाव थियो । 

मानव सेवा आश्रमले यही हुलियामा याम्दी पुलबाट उनको उद्धार गर्‍यो । पोखरा १७, छोरेपाटनस्थित आश्रममा लगेर सबैभन्दा पहिले उनको सरसफाइ भयो । क्षणभरमै केही परिवर्तन देखियो । तर जीउडालमा परिवर्तन आए पनि मानसिक परिवर्तन हुन समय लाग्यो । दिसापिसाब एकै ठाउँमा गरिदिने, ट्वाइलेट पठाउँदाभित्रै चुक्कल लगाएर बसिदिनाले आश्रमका सहयोगी आजित थिए । आश्रमको माया, प्रेम, सरसफाइ, औषधीसँगै योग, ध्यानले उनीमा विस्तारै परिवर्तन हुन थाल्यो । वर्षदिनमै उनमा धेरै परिवर्तन आयो । भारतीय मूलका रमेश के कारणले नेपाल आए कसैलाई पत्तो छैन । नेपाली भाषा पनि राम्रोसँग नजान्ने उनले आश्रमको काममा सघाउन थाले । 


अर्को वर्ष उनलाई आश्रमको अर्को शाखा पोखरा–२५, हेम्जा सारियो । अहिले हेम्जामा रहेका उनीजस्तै सबैका लागि खाना पकाउन सघाउने र बिहान नियमित दूध लिन जाने उनको दिनचर्या बनेको छ । नेपाली बोल्न नजान्ने रमेश हेम्जाको आश्रम आफ्नो र अरु कामदार भन्नसम्म भ्याउँछन् । हेम्जा आश्रममा उनीजस्तै १ सय ३ जना आश्रित छन् । उता, छोरेपाटनस्थित आश्रममा महिला तथा बालबालिका गरी ७२ जना आश्रित छन् । 

२०७४ चैत १७ देखि पोखरामा सञ्चालनमा रहेको आश्रम दाता र सरकारी सहयोगबाट चल्दै आएको छ । गण्डकी प्रदेशअन्तर्गत कास्कीमा २ सहित गोरखा, लमजुङ र बागलुङमा मानव सेवा आश्रमका शाखा सञ्चालित छन् । गोरखामा ४८, लमजुङमा ३५ र बागलुङमा ५२ जना आश्रित छन् । आश्रमले उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा ध्यान दिंदै आएको आश्रमका संस्थाका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले बताए । 

नेपाललाई २०८२ सालसम्ममा सहयोगापेक्षी सडक मानवमुक्त बनाउने उद्देश्य २०६९ सालमा हेटौडाबाट मानव सेवा आश्रम सुरुआत भएको हो । माानव सेवा आश्रमले देशभर आफ्नो सञ्जाल बिस्तार गरेको तिमिल्सिनाले बताए । आगामी दिनमा अझ सेवा क्षेत्र बढाउने सोचमा रहेको उनले बताए । स्थापनाकालदेखि नै आश्रममा विभिन्न सहयोगी दातासहित स्थानीय, प्रदेश र केन्द्र सरकार सुरुदेखि नै सकारात्मक रही सहयोग गर्दै आएको छ । 

आश्रमले हेम्जाको बबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा ३ सय जना अट्ने भवन बनाउँदैछ । 

प्रदेशभरका सहयोगापेक्षी मानवलाई एकै ठाँउमा राख्ने गरी बबियातरामा भवन बनाउन लागेको संस्थाले जनाएको छ । त्यसमा प्रदेश सरकारले हालसम्म १ करोड ४० लाख सहयोग गरेको छ । यो वर्ष पनि भवन निर्माण र आश्रितका लागि ५० लाख उपलब्ध गराउने प्रतिबद्धता प्रदेश सरकारले गरेको उनले बताए ।  

यसैबीच, आश्रमको सहकार्यमा गण्डकी सरकारले हालैमात्रै प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक समारोहबीच प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेका थिए । 

प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिकाका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त गण्डकी प्रदेश घोषणा गरिएको हो । 

सोक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार भौतिक विकासमात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत क्रियाशील रहेको बताए । पर्यटकीय नगरी पोखरामा सडकमा आश्रित मानवका कारण नकारात्मक सन्देश गइरहेको र अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको उनको भनाइ छ । 

सडक मानव व्यवस्थापनका लागि सरकारले मानव सेवा आश्रमसँग सम्झौता भएको हो । यसका लागि प्रदेश सरकारले आश्रितलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउनेछ । 
 



Author

थप समाचार
ad
x