जीवनशैली

कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता : दुई जनामा सीमित भाषा अहिले ३० जनामा फैलियाे

इकागज |
साउन १६, २०७९ सोमवार १५:१९ बजे

देउखुरी- प्यूठान जिल्ला सरुमारानी गाउँपालिका-६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत छिन् । उनको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उनलाई नेपाली भाषाकै बानी पर्‍यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उनी कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने भएकी छिन् ।

    भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषीका नयाँ पुस्तालाई ९० घण्टा (पहिलो सत्र) र ६० घण्टा (दोस्रो सत्र) को प्रशिक्षणमा उनले आफ्नै मातृभाषा सिक्ने अवसर पाउएकी हुन् । पहिलो सत्रमा कुसुन्डा भाषामा आफ्नो परिचय दिने र सामान्य शब्द उच्चारण मात्रै सिकेकी थिइन् । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएपछि उनी पनि गीत लेख्न र गाउन सक्ने भएकी हुन् ।  


    कुसुन्डा भाषाको संरक्षण गर्ने र पछिल्लो पुस्तालाई सो भाषा सिक्न सघाउने हिमाको लक्ष्य छ । उनी भन्छिन्, 'भाषा बचाउन गीत लेखेकी हुँ । कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु ।' 

    बढीचौरकै फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यमिक विद्यालय धर्नामा नै कक्षा ११ मा अध्ययनरत छिन् । कुसुन्डा भाषाको कक्षा लिइसकेकी उनी घरपरिवारमा कुसुन्डा भाषामा नै बोल्ने अभ्यास गर्छिन् । मातृभाषा सिकेमा लोप नहुने र बोलचालमा ल्याइराखियो भने मात्र भाषालाई बचाइराख्न सकिने भएकाले कुसुन्डा भाषा सिकेको उनी बताउँछन् । 

    कुसुन्डा भाषा सिक्न थालेदेखि उनले भेटेकाहरूसँग ‘नमस्कार’ को सट्टा ‘सोजाक’ भन्न थालेकी छिन् । उनी भन्छिन्, 'सुरुसुरुमा त बुझिन्नथ्यो । पढ्दै जाँदा सजिलो भएको छ । धेरै कुरा जान्ने भएका छौँ । यो भाषा पढ्ने साथीहरू एकापसमा कुरा गर्दा कुसुन्डा भाषामा नै प्रयोग गर्ने गरेका छौँ ।'

    भाषा जोगाउने प्रयास

    घोराही उपमहानगरपालिका-१८ सुपैलाखुटीका कमला सेन कुसुन्डाले कुसुन्डा भाषा जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी कुसुन्डा भाषाको एक मात्र जीवित पूर्ण वक्ता हुनुहुन्छ । उनकै सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ । कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रयास गरिएको छ । 

    तीन वर्षअघिसम्म कुसुन्डा समुदायबाट कुसुन्डा भाषाका पूर्ण वक्ता दुईजना मात्रै थिए । तीमध्ये एकजना दाङको लमही नगरपालिका-३ कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको तीन वर्षअघि अर्थात् २०७६ पुस ९ गते मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिएको थियो । 

    कुसुन्डा भाषाको संरक्षण गर्न र त्यसलाई जीवित राख्न लमही नगरपालिका-५ का अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आएका छन् । भाषा आयोगको सहयोगमा उनले २०७४ सालमा कुसुन्डा भाषाको कुसुन्डा जाति र शब्दकोश प्रकाशन गरे । विसं २०७८ मा कुसुन्डा गिपन (कुसुन्डा भाषा कक्षा) र आधारभूत पाठ्यसामग्री (क) र खण्ड (ख) प्रकाशन गरेका छन् ।

    त्यस्तै सोजाक (कुसुन्डा पाठ्यसामग्री) प्रकाशन भएको छ । यसै वर्ष उनी कुसुन्डाको वृत्तचित्र तयार गर्दै छन् । उनका गेम्येहाक, कुसुन्डा व्याकरण (कुसुन्डा र नेपाली भाषामा) प्रकासोन्मुख पुस्तक हुन् । आलेको मातृभाषा मगर भए पनि उनले लोपोन्मुख कुसुन्डा भाषाको संरक्षणका लागि काम गरेका छन् ।

    कुसुन्डा भाषा संरक्षणका लागि केही सकारात्मक प्रयासहरू भइरहेका छन् । कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा भएको शिक्षा क्षेत्रका अगुवा गिरिराज शर्मा बताउँछन् । उनका अनुसार कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूर्ण भाषा हो । कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र विकासमा निकै ठूलो चुनौती देखिएको उनको भनाइ छ । शर्माका अनुसार केही वर्ष अघिसम्म कुसुन्डा भाषा बोल्न र बुझ्न नसक्ने कुसुन्डा समुदायमा अहिले आफ्नो मातृभाषामा कुराकानी गर्न थालेका छन् । यो भाषाको अध्ययन गरेर सजिलोसँग बोल्न र लेख्न सक्ने भएका छन् । कुसुन्डा समुदायको नयाँ पुस्ता भाषा सिक्न, पढ्न र संरक्षण गर्न सक्रिय हुन थालेपछि केही आशा पलाएको उनको भनाइ छ । 

    भाषालाई प्रविधिसँग जोड्ने योजना    

    भाषा कक्षालाई अब परिवार र प्रविधिसँग जोडेर विस्तार गर्ने योजना बनाइएको कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक आले बताउँछन् । उनी भन्छन्, 'कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका वृत्तचित्र बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।' कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डा बोल्न त सक्छन् तर लेख्न सक्दैनन् । उनलाई लेखनमा आलेले सहजीकरण गरिरहेका छन् । 

    दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । सुरुसुरुमा ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा भाषाको कक्षा चलाइएको थियो । यो जिम्मेवारीलाई अहिले कमलाले निरन्तर अगाडि बढाइरहेका छन् । कुसुन्डा भाषा बोल्न जान्नेहरूको सङ्ख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाको भनाइ छ । भाषा, शब्द निर्माण र भाषिक संरचनासम्बन्धी लोपोन्मुख कुसुन्डा समुदायका लागि तालिम पनि सञ्चालन गरिएको थियो । 

    अनुसन्धानकर्ता आलेको दोस्रो पुस्तक ‘सोजाक’ प्रकाशित छ । आलेले तयार गर्नुभएको पुस्तक ‘सोजाक’ कुसुन्डा समुदायमा अभिवादन व्यक्त गर्न प्रयोग गरिने शब्द हो । यस पुस्तकमा पाठ्यसामग्रीलाई वर्णमालासहित २१ वटा पाठमा विभाजन गरिएको छ । प्रत्येक पाठमा कुसुन्डा भाषा, व्याकरण र संवादलाई केन्द्रित गरिएको छ । लुप्तप्रायः स्थितिमा पुगेको कुसुन्डा भाषा र संस्कृतिको संरक्षण, विकास र दैनिक जीवनमा कुसुन्डा भाषाको प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले तयार पारिएको यस पुस्तकमा कुसुन्डा भाषाको शब्द सङ्कलन, वाक्य निर्माण, संवाद र नेपाली अर्थ समावेश गरिएको छ । यसले गर्दा कुसुन्डा भाषा पढ्न, बुझ्न र सिक्न सजिलो भएको पुस्तक लेखक आले बताउँछन् । 

    एकल भाषाका रूपमा मानिएको कुसुन्डा भाषाको छुट्टै महत्व छ । कुसुन्डा भाषा कुनै एक समुदायको मात्र नभई देशकै महत्वपूर्ण सम्पदा पनि हो । पुस्तक पढिसकेपछि अभ्यास, कुसुन्डा शब्दलाई नेपाली, नेपाली शब्दलाई कुसुन्डा, कुसुन्डा वाक्यलाई नेपाली र नेपाली वाक्यलाई कुसुन्डा भाषाको वाक्य बनाउने क्रियाकलाप समावेश गरिएको छ । थोरै जनसङ्ख्यामा रहेका तर विभिन्न जिल्लामा छरिएर बसोबास गरेका र शिक्षामा पछि परेका यस समुदायलाई कुसुन्डा भाषामा साक्षर बनाउन पुस्तक निकै उपयोगी छ । पुस्तकले कुसुन्डा भाषा कक्षामा सहभागीलगायत कुसुन्डा भाषा अध्ययन गर्न चाहने पाठकलाई समेत सहयोग पुगेको छ ।  

    राष्ट्रिय जनगणना २०६८ अनुसार, दाङमा कुसुन्डा भाषा बोल्नेमा १४ पुरुष र १४ महिला गरी २८ जना रहेको उल्लेख छ । जनगणना अनुसार, देशभर १२३ पुरुष र १५० महिला गरी २७३ जना कुसुन्डा रहेको छ । कसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले २०७९ असारमा गरेको अध्ययनमा १५५ जना कुसुन्डा गरेको जानकारी दिएका छन् । भाषा संरक्षणका लागि सङ्ख्या यकिनका लागि अध्ययन गर्दा यस्तो नतिजा आएको उनको भनाइ छ ।  दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको उनी बताउँछन् । 

    कुसुन्डा समुदायको वृत्तचित्र निर्माणको तयारी 

    कुसुन्डा भाषा लोप हुन थालेको भाषा भएकाले यसलाई बोल्न पछिल्लो पुस्तालाई सिकाउने काम भयो तर सो भाषीका मानिसले प्रयोगमा ल्याएका रहनसहन, धर्म संस्कृति र अन्य संस्कारलाई जीवन्त राख्नका लागि  वृत्तचित्र चित्रण  गर्न थालिएको हो ।  कुसुन्डा भाषाका वक्ता लीलबहादुर र कमलासँग मिलेर वृत्तचित्र निर्माणको काम सुरु गरेको कुसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले जानकारी दिए । वृत्तचित्रमा आवाज अन्तरक्रियात्मक छ । अर्थात् यो जो कोहीले हेर्छ त्यस व्यक्तिले कुसुन्डा भाषाका शब्दहरू सिक्न ठूलो स्वरमा उच्चारण गर्नुपर्छ । वृत्तचित्रमा ज्ञानीमैया र उनले आफ्नो मातृभाषालाई पुनरुत्थान गर्न गरेका प्रयासलाई सम्मान गरिएको अनुसन्धानकर्ता आलेले जानकारी दिए  । 

    नाउ हियर मिडियाले कुसुन्डा समुदाय र नेपालका साझेदारहरूसँग मिलेर भाषा पुनरुत्थान र दस्ताबेजीकरण गर्न अमेरिकास्थित निय तेरओ फाउन्डेशनको सहयोगमा काम भएको हो ।

    यो संस्थाले १० वर्षदेखि ‘कुसुन्डा’ परियोजनामा काम गर्दै आइरहेको छ । वृत्तचित्र निर्माता गायत्री परमेश्वरन र फिलिक्स गएड्ट्केले नेपाल भ्रमण गर्ने क्रममा कुसुन्डा समुदाय र यसको मातृसत्तात्मकता व्यक्तित्व, ज्ञानीमैया कुसुन्डा-कुसुन्डा भाषाको अन्तिम बाँकी वक्ताहरूमध्ये एकसँग परिचय भएपछि वृत्तचित्र निर्माणको पहल सुरु भएको थियो । रासस


Author

थप समाचार
x