महाकवि

महाकविबारे संसद्‍मा बीपी

‘हाम्रो इतिहासमा यत्रो ठूलो साहित्यिक जन्मेको थिएन’

इकागज |
कात्तिक २८, २०७७ शुक्रबार १५:३३ बजे

(नेपाली साहित्यमा जनस्तरबाटै महाकविको पगरी गुथ्न सफल लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्ती । ५० वर्ष बाँचेर उनी २०१६ सालमा भौतिक रूपमा बिदा भएको पनि ६१ वर्ष भइसक्यो । उनको निधनमा शासन वृत्तसमेत शोकाकुल भएको घटना यहाँ आर्काइभका रूपमा प्रस्तुत गरेका छौँ- सम्पादक ।)

प्रतिनिधि सभाका सभामुख कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा २०१६ भदौ ३० गते मंगलबार दिउँसो तीन बजे बैठक प्रारंभ भयो । प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सदनमा भने, ‘नेपालि साहित्य जगतका एक महान विभूती महाकवि श्री लक्ष्मी प्रसाद देवकोटाको असामयिक निधनबाट देशलाइ हुन आएको ठूलो क्षति उपर यो सदनले हार्दिक दुःख प्रकट गर्दै, उहाँको दिवंगत आत्माको शान्तिका लागि आन्तरिक कामनाका साथै उहांको सन्तप्त परिवारका प्रति समवेदना प्रकट गर्दछु ।’


आफू स्वयं लेखक तथा साहित्यकारका रूपमा स्थापित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले देवकोटाबारे सदनमा थपे, ‘यो सभाका प्रत्येक माननीय सदस्यलाई थाहा भएको कुरा हो, हिजो नेपालको सबभन्दा ठूलो साहित्यिक मलाइ त यो भन्नामा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासको सबभन्दा ठूलो व्यक्तिको हिजो निधन भयो । ... हामीहरू उहाँकै साहित्यको छत्रछायाँमा हुर्केका हौं जस्तो लाग्दछ ।' देशको प्रधामन्त्रीबाट म उहाँको छत्रछायाँमा छु भन्ने अभिव्यक्ति आउनु देवकोटाको विराट् र स्वीकार्य व्यक्तित्वको वियोगको क्षणको क्षणिक मूर्च्छना मात्र नभएर उनीप्रति ठूलो सम्मानभाव पनि हो ।

अन्त्यमा प्रधानमन्त्री कोइरालाले सदनमा प्रस्ताव गरे, ‘स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा अब सभा स्थगित होस् ।’ 

बीपी सदनमा अघि बढ्छन्, ‘उहाँले नै जुन एउटा नयां दृष्टिकोण साहित्यमा दिनुभयो, नयां भावना र नयाँ विचाररू साहित्यमा दिनुभयो, त्यसैका हामीहरू पनि प्रोडक्ट हौँ ।...यो सभामा उपस्थित हुनुभएको माननीय सदस्यहरू पनि उहाँलाई गुरु मान्दथे र त्यस्तो ठूलो व्यक्तिको हिजो मृत्यु भयो । म उहाँको मृत्युलाई हठात् भन्‍न सक्दिनँ ।’

आफूलाई भविष्यमा अविश्वास गर्ने मानिस होइन भन्दै प्रधानमन्त्री बीपी झनै भावुक भएको देखिन्छ, उनी भन्छन्, ‘हामीहरूको इतिहासमा, साहित्यिक इतिहासमा पनि यत्रो ठूलो साहित्यिक जन्मेको थिएन । उहाँको क्षतिको पूर्ति हुन धेरै गाहारो पर्ने छ ।’

प्रधानमन्त्री बीपीको सम्बोधनको पूर्ण पाठ यहाँ पढ्नुहोस्


अर्थ तथा आयकर उपमन्त्री माननीय शिवप्रताप शाहले देवकोटाको काजकृया, ऋण, दुई छोरालाई १६ वर्षको उमेरसम्म मासिक छात्रवृत्तिबारे सदनमा गरेको घोषणा पनि यहाँ पढ्नुहोस् । यसैगरी विपक्षी दल नेपाल राष्ट्रिय गोर्खा परिषद्‍का सांसद मृगेन्द्र शमशेर, सांसद काशीप्रसाद श्रीवास्तव, सांसद तुलसीलाल अमात्य तथा निस्तारराय यादव पनि सदनमा बोलेका छन् । उनीहरूको भनाइको छायाँ-छवि पनि यहाँ छ ।

सदनले दिवंगत आत्माको शान्तिका लागि दुई मिनेटसम्म उठेर मौन धारणा गरेको थियो । अन्तमा प्रधानमन्त्री कोइरालाले सदनमा प्रस्ताव गरेका थिए, ‘स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा अब सभा स्थगित होस् ।’ 


Author

थप समाचार
x