अनियमितता

शिक्षक, केन्द्राध्यक्ष र परीक्षार्थीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
चैत २९, २०७८ मंगलबार १७:१३ बजे

काठमाडाैँ – जुम्लामा रहेकाे चन्दननाथ माविमा कार्यरत तत्कालीन शिक्षक, केन्द्राध्यक्ष र परीक्षार्थीसहित ४ जनाजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले शिक्षक कलानन्द माझी, उनका छाेरा शेखर माझी, प्रभात शाही  र केन्द्राध्यक्ष मिनराज शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे । 

उक्त विद्यालयकाे प्रावि श्रेणीमा कार्यरत शिक्षक कलानन्दले छोरा परीक्षार्थी शेखरलाई परीक्षा केन्द्रमा उपस्थित नगराई हाजिरीमा उपस्थित देखाएको भन्ने उजुरी निवेदनकाे आधारमा गरिएकाे अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेकाे हाे ।


शिक्षक कलानन्दले सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत आफ्नो छोरा शेखरलाई राष्ट्रिय परीक्षा वोर्ड, सानोठिमी, भक्तपुरबाट मिति २०७५ साल वैशाख ३० गतेदेखि मिति २०७५ जेठ ९ गतेसम्म श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लामा सञ्चाचालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय पास गराउनको लागि सिम्बोल नम्बर र रजिष्ट्रेसन नम्बरसहितको कन्ट्रोल लिष्ट गैरकानूनी तरिकाले सच्चाई, थपघट गरी सोही सिम्बोल नम्बर र रजिष्ट्रेसन नम्बरमा विद्यार्थीको नामथर पहिले नै विज्ञान विषय लिई कक्षा ११ र १२ को परीक्षा पास गरिसकेको प्रभात शाही उल्लेख गरी पुन: अर्को कन्ट्रोल लिष्ट बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेकाे अनुसन्धानबाट खुलेकाे अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

त्यसैगरी श्री कर्णाली माध्यामिक विद्यालयका केन्द्राध्यक्ष मिनराजले निज कलानन्दसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईबटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी विषय र फिजिक्स बिषयको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्‍ने पूर्ण थाहा/जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रुपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएकाे उनले बताए ।

 


Author

थप समाचार
x