अनियमितता

सरकारी अनुदान ‘हजम’ गर्नेहरु भ्रष्टाचारको फन्दामा

इकागज |
कात्तिक २४, २०७९ बिहिवार १७:३७ बजे

काठमाडौं– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अनुदान रकम आफ्नै परिवारका सदस्यका कम्पनीको खातामा राखेकोे अभियोगमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख हिरा केवटलगायत सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोग लगाएको छ।

सरकारी अनुदान २० लाख ७५ हजार रुपैयाँ संस्थाको नाममा राख्नुपर्नेमा अध्यक्ष केवटकै सहोदर भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी स–मिलको नाममा राखेको अभियोगमा आयोगले बिहीबार भ्रष्टाचार मुद्दा लगाएको थियो । आयोगका अनुसन्धानअनुसार, कार्यबिधि र सम्झौताबमोजिम मत्स्य ब्लक सञ्चालक समितिको नाममा राख्नुपर्ने पचास प्रतिशत सरकारी अनुदान अध्यक्षको परिवार सदस्य सञ्चालक रहेको सहानी स–मिलको नाममा दर्ता भोगचलन गर्ने÷गराउने उद्देश्य राखेको पुष्टी भएको छ ।


आयोगले केवट र उनका भाउजु दुर्गादेवीसहित तत्कालीन प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यवसायिक माछा ब्लक सञ्चालक समितिका अध्यक्ष उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरीविरुद्ध २० लाख ७५ हजार रुपैयाँका दरमै अभियोग लगाएको छ । आयोगले अभियोग बराबर जरिवानाका अतिरिक्त कैद सजायँको मागसहित मुद्दा लगाएको हो ।
 


Author

थप समाचार
x