अनियमितता

बकैया नदी ठेक्कामा नगरप्रमुखसहितलाई भ्रष्टाचारको अभियोग

इकागज |
असार १२, २०७९ आइतवार १५:५२ बजे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित ठूलो संख्यामा पदाधिकारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ । यादव यसपालि पनि नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हु्न् ।

तिनीहरुले बकैया नदीको ठेक्कामा बढी कबोल, धरौटी जफ्त प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको हो । आयोगले नगरप्रमुखसहितका पदाधिकारीविरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ अभियोग लगाएको हो । उनीहरुले २०७५ मा ठेक्कासम्बन्धी निर्णय लिएका थिए ।


आयोगले तत्कालीन उपप्रमुख कान्ती देवी, नगरका वडाध्यक्ष–वडा सदस्य संजय प्रसाद, भविछन राय यादव, दिपनारायण साह, शेख एजाज अहमद, हिरा राय यादव, उमाशंकर साह कलवार, दिपनारायण चौधरी, योगेन्द्र प्रसाद चौधरी, ज्ञानेन्द्र चौधरी, लक्ष्मण साह कानु, सुन्दरी माझी, जिरनी देवी, फुल कुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रबिन्द्रकुमार निधिलाई अभियुक्त बनाएको छ । 

तिनीहरुले नगर कार्यपालिकाको बैठकको निर्णय कार्न्वयन गराउन वेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोश्रो बढी वोलकवोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी वोलकवोल गर्ने बाेलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा अमानतबाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको अभियोग आयोगको छ ।

नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय गरेको कारण नगरपालिकाको आन्तरिक आयमा हानि नोक्सानी गर्ने मनसायले बदनियत राखी कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यन्वयन नगराएको जिकीर आयोगको छ । उनीहरुको क्रियाकलापबाट नगरपालिकाको आयमा पर्न गएको हानि–नोक्सानीलाई आयोगले भ्रष्टाचार ठहर्‍याएको हो ।

आयोगले त्यो समयमा कार्यरत नगरकार्यपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साहले बद्नियतपूर्वक हानि–नोक्सानिमा संलग्न भएको जिकिरसहित पदाधिकारीहरु सरह अभियोग लगाएको छ ।


 


Author

थप समाचार
x