अनियमितता

राजस्व चुहावट अभियोगमा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार अभियोग

इकागज |
असार १०, २०७९ शुक्रबार १४:२० बजे

काठमाडौ – खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्रीमा राजस्व चुहावट गरेको अभियोगमा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बाराको जीतपुरसिमरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं र न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने ठेक्का न्यू पाथिभरा सप्लायर्सले लिएको थियो । सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा लिइएन । आर्थिक वर्ष २०७६-०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट हुन भएको थियो । आयोगले राजस्व चुहावट गरेको रकमलाई भ्रष्टाचार गरेको अभियोग लगाउँदै जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

उता, ठेकेदार कम्पनीका प्रोपाइटर प्रोपाइटर श्रेष्ठलाई १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ बिगो कायम भ्रष्टाचार मुद्दा चलाएको छ । ठेकेदारले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५ सय १० रुपैयाँ दाखिला नगरेको रकम जोडी भ्रष्टाचार मुद्दा लागेको हो ।
 


Author

थप समाचार
x