वार्ता

जनताकाे जीवनस्तर उकास्न मेराे उम्मेदवारी

इकागज |
बैशाख २७, २०७९ मंगलबार १९:१० बजे

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार चुनावी मैदानमा छन्  भगवान अधिकारी। नेपाल विद्यार्थी संघ काभ्रेका पूर्व अध्यक्ष अधिकारीले ने.वि.संघको केन्द्रीय प्रचार विभाग सदस्य, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभाग आदिमा संलग्न रही राजनीतिक अनुभव संगालेका छन् । राजनीतिक जीवन शुरूवातदेखि नै निष्ठा, विचार र आदर्शको राजनीतिक अनुयायी रहेका उनी विभिन्न राजनीतिक आन्दोलनमा अग्रभागमा रहेर सक्रिय उनी पटकपटक प्रहरी धरपकड, थुनामा परेका छन् । प्राध्यापनका साथै अधिवक्तासमेत रहेका उनै अधिकारीसँग इकागजले गरेको चुनाव केन्द्रितवार्ता प्रस्तुत गरिएको छ ।

बेथाञ्चोक गाउँपालिकामा तपाईको मुख्य पाँच प्राथमिकता के–के हुन् ?


बेथाञ्चोक गाँउपालिकाको माया र स्नेह हर पल हर क्षण मेरो मन, मुटु र मस्तिष्कमा रहेको छ । यहाँ हरेक नागरिकको सुख दुःखको सारथी, असहायहरूका लागि वैशाखी बन्न सकुँ भन्ने लाग्छ । बेथाञ्चोक शब्द नै मेरो लागि आत्मीय छ । बेथाञ्चोकका हरेक कुराहरूलाई मैले प्राथामिकतामा राखेको छु । यो मेरो सेलेक्सनमा पर्छ त्यो पर्दैन भन्ने कुनै पनि बिषयहरू छैनन् । मेरा लागि विकासका हरेक सूचकाङ्कहरूले उतिकै महत्व राख्दछ ।  भौतिक पूर्वाधारको विकास, कृषि संगसंगै पर्यटनको विकास, बेथाञ्चोकबासीहरूको जीवनस्तरमा सुधार, दिगो व्यवस्थापन र सुशासन  मेरो प्रमुख प्राथामिकता विशेषता हुन ।

समग्र बेथाञ्चोकको शिक्षा, स्वास्थ्य र खानेपानीको विकासको खाका यहाँले कसरी कोर्नु भएको छ ?

गुणस्तरीय र प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकतालाई महशुस गरी विद्यालय शिक्षालाई स्तरीय र प्रतिष्पर्धी बनाउने प्रतिवद्धता जाहेर गरेका छौं । आवश्यकता अनुसार सामुदायिक आवासीय विद्यालयहरू सञ्चालन गर्ने, बेथाञ्चोक गाउँपालिकाभित्रका सबै विद्यालयहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गरी प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम यसै वर्षबाट संचालन गर्नेछौं । आधारभूत तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिनुका साथै बेथाञ्चोकका हरेक विद्यालयहरूलाई नमुना विद्यालय बनाउने अभियानमा हामी सबैले हातेमालो गरी अगाडि बढ्न जरूरी छ । 

नागरिक स्वास्थ्य अहिलेको गहकिलो मुद्धा बनेको छ । स्वास्थ्य सेवामा सेवाग्राहीमुखी बनाई सहजर सुलभ रूपमा प्रदान गर्नेछौं । अबका दिनमा उपचारकै अभावमा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउने छैन । जसका लागि हामीले स्वास्थ्य कोषको स्थापना गरी स्वास्थ्य सेवातर्फका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनेछौं । हरेक नागरिकहरूलाई स्वास्थ्य बीमामा आवद्ध गराउने, ढुंखर्क प्राथामिक अस्पताल र पाँगु भुग्देउ प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तरयुक्त स्वास्थ्य संस्थाको रूपमा स्थापित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ । बेथाञ्चोक अस्थायी अस्पताललाई थप व्यवस्थित बनाई २४ सै घण्टा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेमा प्रतिवद्ध छु । १५ मिनेट भित्रमा एम्बुलेन्सको पहुँच हुने गरी निजी, सार्वजनिक साझेदारीमा ग्रामीण एम्बुलेन्सको व्यवस्था गर्ने लगायतका योजनाहरू तय गरेका छौं ।

खानेपानीको क्षेत्रमा “एक घर एक धारा कार्यक्रम”लाई निरन्तरता दिँदै बाँकी कामलाई ३ वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिएका छौं । “बेथाञ्चोक गाँऊ, स्वच्छ पानी पिऊँ” भन्ने नाराका साथ खानेपानीको बृहत् सम्भाव्यता अध्ययन गरी दातृ निकाय र संघीय बजेट समेत परिचालन गरी एक घर एक धाराको अवधारणामा स्वच्छ खानेपानीको व्यवस्था सहित मुहान संरक्षण कार्यक्रमलाई प्राथामिकतामा राखेर कार्य सम्पादन गर्नेछौं ।

अबको पाँच बर्षमा बेथाञ्चोक गाउँपालिकालाई कस्तो बनाउन चाहनु हुन्छ ?

बेथाञ्चोक गाँउपालिका नेपालकै समृद्ध र उत्कृष्ट गाउँपालिका बनाउने हाम्रो योजना हो । बेथाञ्चोक गाउँपालिकामा धेरै सम्भावनाहरू पनि छन, केही चुनौतीहरू पनि छन् । हरेक चुनौतीहरूलाई अवसरमा परिणत गरी “हाम्रो गाउँ समृद्ध बनाऔं” भन्ने अभियानमा अघि बढ्नेछ । बेथाञ्चोक गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावनाहरू छन् । यी सम्भावनाहरूलाई विकासमा परिणत गर्न कृषि र पर्यटन सम्बन्धी छुट्टै योजनाहरूका साथ अघि बढ्छौंं । अबको पाँच वर्षमा आर्थिक, सामाजिक, साँस्कृतिक र भौगोलिक पहिचान बोकेको, दिगो विकासका लक्ष्यमा शिखर चुमेको एक सवल, सक्षम र समृद्ध बेथाञ्चोक बनाउने मेरो योजना रहेको छ ।

बेथानचोक नै भए पनि डाँडापारीको रुपमा रहेको च्याम्राङबेशीको विकासलाई कसरी अगाडि ल्याउन सकिएला ?

यो निक्कै महत्वपूर्ण प्रश्न हो । विविधताको सम्भावना भए पनि च्याम्राङबेशीलाई विशेष सम्बोधन आवश्यक छ । वडा नं १ को फुर्केथली तथा भालुछाप्रा, ठुलाखोरीया क्षेत्रलाई चिया खेतिको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यसमा प्रचुर सम्भावना छ । वडा नं १ को तीन तले झरना, देखि  रतौन झरनाबाट छयाङ् छयाङ् लगायतका झरनालाई आधार मानी पूर्वाधार विकास गर्ने वडाको उत्पादन चिया खुवा, कफीलाई पर्यटन आकर्षणका विषय बनाउन सकिन्छ ।

यसका लागि मैले त्यहाँका जानकार, विज्ञहरुसँग छलफल पनि गरेको छु ।  स्थानीय गाउँहरुमा होमस्टेको विकास गर्ने । जहाँबाट बेथानचोक नारायण हुँदै ढुर्खकसम्म सडक मार्ग तथा नमनबाट ललितपुरको कालेश्वर हुँदै गोटिखेलको बैतरणी धामसम्म पुग्ने पदमार्ग निर्माण गर्न सके, फुर्केथलीलाई चियाको हबको रुपमा विकास गर्न सके त्यस भेगले मुहार फेर्नेमा दुइमत छैन् । च्याम्राङबेसी तथा झिङ्गेमा होमस्टेहरु संचालन गर्ने । त्यस क्षेत्रलगायतको बस्तीलाई झिङ्गे डाँडामा एकीकृत बस्तीका रुपमा आधारभूत पूर्वाधार सहित विकास गर्न आवश्यक छ ।

यसो गरिएको खण्डमा ढुर्खकबाट फुर्केथली झिङगे च्याम्राङबेसी हुँदै सडकमार्गबाट पुनः ढुर्खक नै आइपुग्ने अथवा  च्याम्राङबेसी फुर्केथली झिङ्गे सुकुम हुँदै ललितपुरको कालेश्वरबाट गोटिखेलको बैतरणीधाम सम्म पर्यटक पैदल यात्रा गर्न सक्ने छन् । यसले त्यस भेगको विकासमा नयाँ आयाम आउने छ । सुकुम झिङ्गे कलङसिङ लामिडाँडालाई कफी खेती सुकुमलाई आँप लिची तथा केराको पकेट क्षेत्रको सम्भावना प्रचुर देखिन्छ भने यहाँ उत्पादन भएको दुध, चिया र कफीलाई बेथानचोकको ब्राण्ड दिएर बजारीकरण गर्ने  गर्न सकिन्छ ।

यतिमात्र हैन मर्चे क्षेत्रलाई स्याउ तथा जडिबुटी उत्पादन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यी सबका लागि त्यस भेगमा सडकको विकासलाई नै जोड दिनु पर्छ । यसका अतिरिक्तवडाका सबै कृषकहरुलाई व्यवसायिक बनाएर पशुपालन व्यवसायमा आर्कषित गराउने र दुःध उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने हो भने च्याम्राङबेशीको मुहारमा पाँच वर्षमा खुशीका रेखा प्रष्ट देखिने छ ।

भुग्देउ पनि पछाडि परेको गुनासा आइरहेको छ नि !

भुग्देउ पछाडि छैन नै । तर, केही दुर भने पक्कै हो । भुग्देउमा म त झन सम्भावना नै सम्भावना देख्छु । भुग्देउको कोप्तिलदेखि थापाडाँडा–मेदाम्सु हुँदै टार, साँझखोरीयादेखि मजुवाबेसी, बाहुनबेसी, आयेँटार, नारायणथान, थिङछाप, सिउरानी र रोशीपारी क्षेत्रमा माहुरीपालन, भैसी, बाख्रापालनका लागि उर्वर छ ।

यहाँ पाइने घाँस सोत्तर नै यहाँको वैभव हो । यहाँका जनताले एउटा अभियानै चलाउने हो भने हामी गाउँपालिकाबाट यसलाई विशेष सम्बोधन गर्छौ । यो क्षेत्र बाख्रा पालनको हब बन्छ । बाख्रा रिसोर्टका अवधारणा ल्याउनुस । हामी तपाईहरुसँगै उभिन्छौँ । यस्तै तावरी, भञ्ज्याङकर्ख फ्याङखोला, गोलगाउँ, सिमटार भञ्ज्याङ क्षेत्र पशु तथा बाख्रापालनका लागि प्रचुर सम्भावना छन् । लप्सी, केराउ, लसुन, तोरी जुनेलो खेतिका लागि पनि यहाँ धेरै सम्भावना देख्छु भने तावरी, भञ्ज्याङकर्ख गोलगाउँ, सिमटार भञ्ज्याङहोमस्टेका लागि थप नयाँ गन्तव्य बन्न सक्छन् ।

यहाँबाट देखिने हिमश्रृङ्खला र महाभारतको चिसो हावा पानीले कसको मन नलोभ्याउनला र ? यस्तै यो क्षेत्रलाई लप्सी उत्यादनको हबको रुपमा विकास गर्न सकिन्छ भने कफी र चिया उत्पादनको पनि पकेट क्षेत्र बन्नेमा दुइमतै छैन । म त भुग्देउ र आसपासको क्षेत्रलाई सम्भावनाको भण्डार देख्छु । हो भुग्देउमा एउटा प्लस टु छैन । यस विषयमा त्यहाँका प्रवुद्ध व्यक्तिहरुसँग बसेर हामी चाँडै छलफल गरेर यसलाई टुंगो लगाउँछौँ । भुग्देउको समृद्धिका लागि हामी जिम्मेवार बन्छौँ । भुग्देउमा साँच्चै वैभव छ ।

प्रसंग बदलौँं चुनावी अभियानमा लागिरहँदा मतदाताबाट कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ ?

मैले बेथाञ्चोक गाँउपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेस पार्टीबाट टिकट पाएकै दिनदेखि बेथाञ्चोकका मतदाताहरूमा एक प्रकारको उत्साह छाएको छ । भुग्देउदेखि च्याम्राङबेशीसम्म अनि चलालदेखि कामीडाँडासम्म सबैले चाहिको दिगो समृद्धि र विकास नै हो । चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुग्दा प्राय सबैले खुशी व्यक्त गर्नु भएको छ । उहाँहरूले खोजेको, रोजेको उम्मेदवार पाएका छौं । तपाईबाट हामी बेथाञ्चोकको समृद्धिको अपेक्षा गरेका छौं भन्ने खालका साथ, समर्थन र आर्शिवाद प्राप्त भएको छ । युवादेखि अग्रज नागरिक आमा बुबाहरूले विश्वास र आर्शिवाद प्रदान गर्नु भएको छ । म उहाँहरूको समर्थन र विश्वासप्रति आभारी छु ।

चुनावी अभियानमा पाएको शुभेच्छा र समर्थन वैशाख ३० गते मतमा बदलिनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

बेथाञ्चोकका मतदाताहरूको साथ र समर्थनमा मलाई एकरति पनि शंका छैन । उहाँहरूले दिनुभएको साथ र समर्थनप्रति म पूर्ण विश्वस्त छु ।  म शासक बन्नका लागि हेन जनताको सेवक बन्नका लागि मेरो उम्मेदवारी हो । बेथाञ्चोक नारायणको कृपाले म नामले मात्र हैन कामले बेथाञ्चोकका जनताहरूको लागि सहयोगसिद्ध बन्न सकुँ । यसपालिको निर्वाचनमा बेथाञ्चोकका आम मतदाताहरूले गर्नु भएको समर्थनलाई अमूल्य मत प्रदान गरेर मलाई विजयी गराउनेमा म ढुक्क छु । बेथाञ्चोकप्रति मेरो जति आस्था छ त्यती नै विश्वास बेथाञ्चोकका मतदाताप्रति रहेको छ ।


Author

थप समाचार
x