वार्ता

हेटौंडामा लामाले तोड्लिन् एमालेको 'ह्याट्रिक' साख ?

सरिता दाहाल |
बैशाख २६, २०७९ सोमबार २१:१९ बजे

काठमाडाैँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुखैमा आइसकेको छ । चुनाव आउन ४ र मौन अवधि सुरु हुन २ दिन मात्र बाँकी रहेको अवस्थामा विभिन्न पदका लागि विभिन्न दलका तर्फबाट र स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो प्रसारप्रसारलाई अझ तीव्र बनाएका छन् । सुदूरपूर्वदेखि पश्चिमसम्मै चुनावी सरगर्मी बढिरहेका बेला मकवानपुरमा पनि चुनावी सरगर्मी बढेको छ । १ लाख ४ हजार ५ सय १३ मतदाता रहेको यस जिल्लामा ८ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका छन् । 

त्यसमा पनि बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडामा चुनावी माहोल अझ तातेको छ । विगत तीन दशकदेखि नेकपा एमाले हाबी हुँदै आएको हेटौंडामा यसपालि मुख्यगरी एमाले र पाँच दलीय सत्तारुढ गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसो त यहाँ राप्रपा र जसपा पनि बलिया छन् । 


२०७४ सालमा भएको स्थानीय निर्वाचनमा मकवानपुरका १० पालिकामध्ये हेटौंडा उपमहानगरसहित ६ पालिकामा एमालेको वर्चस्व बनाएको थियो । हेटौंडामा २०४९, २०५४ र २०७४ गरी तीनै पटक नेकपा एमाले विजयी भएको थियो । 

गएको निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला नेपाली कांग्रेस एमालेसँग जम्मा ६ सय १५ मतान्तरले मेयरमा पराजित थियो । एमालेले मेयर–उपमेयरसहित १२, कांग्रेसले ५ र माओवादीले २ वडामा जित हासिल गरेको थियो भने राप्रपाले ६५ सय मत प्राप्त गरेको थियो । 

आफ्नो गढ दाबी गर्दै आएको एमालेलाई पाँच दलीय गठबन्धन र पार्टी फुटका कारण हेटौंडामा आफ्नो विरासत धान्न चुनौती छ । हेटौंडा उपमहानगरमा एमालेले मेयरका रूपमा संविधान सभाका पूर्व सदस्य समेत रहेका अनन्त पौडेललाई उठाएको छ । तर, पौडेल भने आफूले जित्नेमा शंकै नभएको दाबी गर्छन् ।

त्यस्तै, राप्रपाले मेयरको उम्मेदवार दीपकबहादुर सिंहलाई बनाएको छ । मकवानपुरमा राजनीतिक र सामाजिक जीवन बिताएका सिंह पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।  

अनि दुवैलाई हराएर पछि पारेर पहिलो बन्ने होडमा छ, सत्तारुढ गठबन्धन । बाँडफाँटमा हेटौंडा आफ्नो भागमा परेपछि एकीकृत समाजवादीले यहाँ मिनाकुमारी लामालाई मेयरको उम्मेदवार बनाएको छ । गत निर्वाचनमा तत्कालीन एमालेबाट उपमेयरमा निर्वाचित भएकी लामा पार्टी विभाजनपछि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएकी थिइन् । उक्त निर्वाचनमा ३२ हजार ४ सय ३७ मतका साथ उपमेयरमा विजयी भएकी लामा यसपालि मेयर हुने दौडमा छिन् । गठबन्धनमा सम्मिलित सम्पूर्ण दल तथा कार्यकर्ताको सहयोग रहने भएकाले उनी आफूले जित्नेमा विश्वस्त छन् । पार्टीभित्र जे–जे विवाद भए पनि चुनावमा कार्यकर्ताले आन्तरिक तिक्तता भूलेर इमान्दारीता प्रकट गर्नेमा लामा ढुक्क छिन् । 

हेटौंडाकी पूर्वउपमेयर तथा अबको निर्वाचनमा मेयर बन्ने दौडमा रहेकी तिनै लामासँग चार दिन मात्र पर रहेको निर्वाचनको सन्दर्भमा इकागजकर्मी सरिता दाहालले कुराकानी गरेका छन् । प्रस्तुत लामासँग गरिएको कुराकानीको सम्पादित अंश । 

कुराकानीको सुरुवात चुनावी प्रचारप्रसारबाटै गरौँ है । प्रचारप्रसार कस्तो भइरहेको छ, प्रतिक्रिया कस्तो छ ?

एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । हामी जहाँ जाउँ हाम्रो पक्षमा जनलहर छ, हामीलाई समर्थन छ । यसले हामीलाई थप उत्साहित बनाएको छ, प्रेरित गरेको छ । 

चुनाव मुखैमा आइसकेको सन्दर्भमा हामीले चुनावी अभियानलाई अझ तीव्र बनाएका छौँ । नगरका केही वडमा घरदैलौ भ्यायौँ, केहीमा बाँकी छ । यो निर्वाचनमा जसै गरी पनि जित्नु पर्छ भनेर हामी नेता तथा कार्यकर्ता निरन्तर रुपमा धेरैभन्दा धेरै मतदातासँग भेट्ने अभियानमा छौँ । गठबन्धनमा सम्मिलित सबै दलहरु कटिबद्ध छौँ। हामीले वडावडामा सम्पर्क कार्यालयहरु बनाउने, घरदैलो गर्ने, आफना प्रतिबद्धता पत्र मतादाताबीच लैजाने र उहाँहरुको सुझाव लिने काम व्यापक रुपमा भइरहेको छ । 

तपाईं एकपल्ट उपमेयर भइसक्नुभएको व्यक्ति फेरि किन चुनावमा होमिनुभयो ?

यसअघि विगत पाँच वर्ष उपमेयर भएर कार्यभार सम्हालिरहँदा धेरै आधारहरू बनेका छन् । र, यो सँगै मैले हेटौंडा नगरलाई राम्रोसँग चिन्ने मौका पाएको छु । कहाँ के आवश्यक छ, त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बुझ्न पाएको छु । विगतमा मैले गर्न आवश्यक ठानेका तर गर्न नपाएका कामहरू अब मेयरको भूमिकामा रहेर पूरा गर्ने मेरो संकल्प छ । विगतमा मैले योजना प्रमुख भएर अगाडि सारेका योजनामध्ये केही सम्पन्न भइसकेका छन् भने केही चलिरहेका छन् । तीमध्ये केही बाँकी पनि छन् । चलिरहेका र बाँकी रहेका योजनाहरू सम्पन्न गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

अघि सारेका योजनामध्ये केही बाँकी नै छन् भन्नुभयो । सबै योजनाहरु किन पूरा हुन सकेनन् ?

आफूले अघि सारेका सबै योजना पूरा गर्न सकिनँ । यसमा विविध कारण छन् । सबैभन्दा महत्वपूर्ण कारण भनेको म मेयर नभएर उपमेयर हुनु हो । उपमेयर भएकै कारण चाहेका सबै काम गर्न सकिनँ । मेरो भूमिका अधिकांश समय सहको जस्तो भयो । उपमेयर भएर पनि निर्णायक तहमा मेरो पहुँच नै थिएन ।  

आफ्नो कार्यकालको मूल्यांकन आफैँ गर्दा कस्तो पाउनुहुन्छ ? १० मा कति दिनुहुन्छ ?

म आफूलाई मुल्यांकन गरेर अंक दिने पक्षमा छैन । म आफूले सर्वश्रेष्ठ काम गरेँ भनेर पनि दाबी गर्दिनँ । तर, के चाहिँ दावा गरेर भन्न सक्छु मैले  आफ्नो कर्तव्य र अधिकार भित्र रहेर जति काम गरेँ, जति गर्न पाएँ त्यो मन,वचन र कर्मले गरेकी छु । पूर्ण निष्ठा र इमान्दार भएर काम गरेकी छु । 

तपाईं मेयरमा निर्वाचित हुनुभयो भने हेटौंडा कस्तो हुनेछ, के छन् अजेण्डा ?

आफूले जितेपछि हेटौंडा कस्तो हुन्छ भन्ने मैले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरिसकेको छु । त्यसमा हामीले आफू के गर्छौँ र कसरी गर्छौँ भन्ने कुराको व्याख्या गरेका छौँ । समग्रमा भन्नुपर्दा यस नगरलाई अझ सुन्दर र व्यवस्थित बनाउने हाम्रो लक्ष्य छ । सबैले हेटौंडालाई, ‘वाह, क्या उपमहागर !’ भन्ने लायक बनाउने ठाउँ बनाउनेछौँ । 

आफ्ना योजनालाई अलि सप्रसँग व्याख्या गर्न चाहन्छु । युवालाई रोजगार सिर्जना हुनेछ, महिला दिदीबहिनीहरू शिक्षित र उद्यमी बन्नेछन् । हेटौंडामा ज्येष्ठ नागरिक हस्पिटल बनाइनेछ, हेटौंडा नगरपालिकालाई बालमैत्री तथा महिलामैत्री बनाउनेछौँ, खेल क्षेत्रमा अब्बल युवा युवतीलाई लक्षित गरी पूर्वाधार विकासको योजना बनाएको छौँ ।

किसानको पशुपंक्षीमा हुने प्रकोप रोक्न, कृषि प्राविधिकको व्यवस्था गर्ने लक्ष्य छ । घरदैलोको अस्पतालसम्म पनि पुन नसक्ने विस्तारामा सुतिरहेका, थलिएका बिरामीलाई स्वास्थ्य सेवा पुर्याउने योजना छ । नगरपालिकाले गाँस, बास, कपासको व्यवस्था गर्नुपर्ने जनताको लागि हामी मेरो हेटौंडा भनेर ढुक्क हुने वातावरण निर्माण गर्ने नीति लिएकी छु । कर्रा करिडरमा पर्यटकीय क्षेत्र बनाउनेछु । हेटौंडाबासीलाई मेरा लागि स्थानीय सरकार छ भन्नेमा ढुक्क बनाउनेछु ।

त्यस्तै, सबै महिलालाई नि:शुल्क सेनिटर प्याड वितरण गरिने छ । शहरी स्वास्थ्य केन्द्र यो वितरण हुनेछ, म उपमेयर हुदा विद्यालय स्तरमा सेनिटरी प्याड वितरण गरेका छौं । उच्च शिक्षामा लगानी हुनेछ । महिललाई प्रविधिसँग, कृषिसँग जोडेर अघि बनाइनेछ । प्रत्येक वडामा एक एक सार्वजनिक शौचालय हुनेछ, हाल ५ वटा मात्रै छ । महिलालाई निःशुल्क क्यान्सर चेकजाँचको व्यवस्था गरिनेछ । यसरी महिला र बालमैत्री बनाउनेलगायतका थुप्रै अजेण्डा छन् हामीसँग । 

हेटौंडामा विगत ३ दशकदेखि एमालेको एकछत्र राज छ । गएको निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धन हुँदा पनि एमालेले जित्यो । त्यसमाथि तपाईंहरुको पार्टी संगठन एकदमै कमजोर छ । यस्तो अवस्थामा तपाईंको जित्ने आधार के ?

मेरो जितको मुख्य आधार प्रमुख आधार भनेको गठबन्धनको साथ र पाँच वर्षमा मैले गरेको काम हो । केन्द्रबाट नै पाँच राजनीतिक दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन सफल बनाउन निर्देशन दिइरहँदा अहिले मकवानपुरमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ । अहिले चार दलहरूको गठबन्धन रहेको अवस्थामा मैले भरपूर साथ पाउँछु उहाँहरूबाट । गठबन्धन भनेकै एकले अर्कालाई साथ दिने भन्ने हो । मलाई चारै दलका नेता तथा कार्यकर्ताले सहयोग पक्कै गर्नुहुनेछ ।

यस अर्थमा हाम्रो जित हिजो पनि सुनिश्चित थियो, आज पनि छ र भोली पनि पक्का छ । किनकी हामीले जनताको समस्यालाई सम्बोधन गर्ने अजेण्डा ल्याएका छौँ, जनताको अपेक्षालाई सम्बोधन गर्ने योजना ल्याएका छौँ । जनताले अवश्य पनि हामीमा विश्वास गर्नुहुनेछ । हामी पनि जनताको विश्वासलाई कुनै पनि हालतमा सम्बोधन गर्नेछौँ । हामी जहाँ जाउँ जन लहर चलेको छ, एकदम राम्रो समर्थन पाएका छौँ ।

हेटौंडा उपमहानगरमा मेयरको टिकट आफूले पाउनुपर्ने भन्दै कांग्रेसले दाबी गरको थियो, नपाएपछि ऊ रुष्ट छ । असन्तुष्ट कांग्रेसलगायतका पक्षले तपाईंलाई भोट देलान् ?

हो, सुरुमा टिकटलाई लिएर कांग्रेसमा तिक्तता थियो । किनभने एउटा इतिहास बोकेको पार्टी पनि हो । जुन लामो समयसम्म लोकतन्त्र स्थापना गर्दादेखि नेपालको पहिलो पार्टी जसले धेरै नेताहरू पनि उत्पादन गरेको छ । धेरै नेताहरूले रगत–पसिना बगाएर योग्य व्यक्तिले जीवन नै यसमा बिताइरहनुभएको छ । सक्षम कार्यकर्ताहरू उत्पादन भएको छ । उहाँहरूले यो विषयमा आफ्नो पक्षमा नेतृत्व हुनुपर्छ भन्ने स्वभाविक नै हो । हामीले अहिले जुन गठबन्धनबाट चुनाव लड्दै छौँ । यो तत्कालको निर्णयले भएको पनि होइन । यो विषयमा मैले भन्दा पनि काँग्रेसका नेता ज्यूहरूले नै कार्यकर्ताहरूलाई सम्झाइ–बुझाइ गराइरहनुभएको छ । काँग्रेसबाट मलाई घात हुँदैन । म ढुक्क छु ।

तपाईंको पार्टीभित्र पनि धेरै कुरामा मतभेद छ । पार्टी भित्रको आन्तरिक विवाद कसरी मिलाउनु हुन्छ ?

पार्टीभित्र मुख्य कुरामा विवाद छैन । जति र जे–जेमा छ त्यसलाई अस्वभाविक रुपमा लिनु पर्दैन । असलमा भन्ने हो भने त्यो विवाद नै होइन । चुनावताका आउने केही असन्तुष्टिहरूलाई आन्तरिक विवाद भनिँदैन । सक्षम व्यक्तिले नेतृत्व गर्न खोज्नु विवाद हैन । आन्तरिक कुराहरू आन्तरिक रुपमै मिलिसके, अब हामी चुनाव जित्ने एकै अजेण्डा बोकेर हिडेँका छौँ । केही कार्यकर्ताहरूको केही असन्तुष्टी र दाबीहरू सम्बोधन हुँदै जानेछन् । 


Author

थप समाचार
x