वार्ता

सबैलाई पायक पर्नेगरी गाउँपालिका केन्द्र कायम गर्छौँ (अन्तर्वार्ता)

'पाँच वर्ष वडामा उत्कृष्ट काम गरेँ, अब गाउँपालिका बनाउने योजना छ'

विनोद देवकोटा |
बैशाख २५, २०७९ आइतबार १२:४८ बजे

कैलाली जति सुगम भनेर चिनिन्छ यहाँ त्योभन्दा धेरै विकट गाउँ छन् । त्यसैमध्येको एक हो मोहन्याल गाउँपालिका । मोहन्यालका केही भू–भाग तराईसँग जोडिएको भए पनि अधिकांश ठाउँ निकै विकट छन् । ठूलो क्षेत्रफलमा फैलिएको मोहन्याल  अन्य पालिकाको तुलनामा विकासमा पनि पछाडि छ । मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा (मोआवादी केन्द्र)बाट देवीदत्त उपाध्याय ‘हिमशिखर’ उम्मेदवार छन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समेत साथ पाएका उनी यस पटक मोहन्यालको नेतृत्वमा बाजी मार्ने दाउमा छन् । यसअघि वडा नम्बर २ को अध्यक्ष रहिसकेका उपाध्याय उमेरले पनि युवा छन् । समग्र मोहन्याल बनाउन नेतृत्वमा जान चाहेको उनी बताउँछन् । चुनावी अभियानअन्तर्गत घरदैलो अभियानमा रहेका उपाध्यायसँग मोहन्याल बनाउने योजना के छन् ? यसै सन्दर्भमा उपाध्यायसँग इकागजका विनोद देवकोटाले गरेको कुराकानीः

जनताबीच के–के प्रतिबद्धता लिएर गइरहनुभएको छ ? 
हामी जनताको घरदैलोमा पुगिरहेका छौँ । हाम्रा थुप्रै एजेण्डा छन् । गाउँपालिकाको समग्र विकासकै एजेण्डा लिएर जनतामाझ गइरहेका छौँ । अहिलेसम्म गाउँपालिकाको प्रशासनिक संरचना बनेको छैन । हामी निर्वाचित भएपछि गाउँपालिकाको स्थायी संरचना निर्माणलाई पहिलो प्राथमिकता दिनेछौँ ।


प्रशासनिक संरचनाको कुरा गरिहाल्नुभयो । केन्द्रकै विषयमा विवाद छ । प्रशासनिक भवन कहाँ बनाउने ? 
हो, केन्द्रका विषयमा पनि विवाद छ । सबै भूगोललाई पायक पर्नेगरी केन्द्र कायम गर्छौँ ।

फेरि एजेन्डातिर जाऊ, तपाईका योजना के–के छन् ?
हामीले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा बढी जोड दिएका छौँ । शिक्षाको गुणस्तर सुधार र स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन पहल गर्नेछौँ । यी कामलाई प्राथमिकतामा राखेका छौँ । मोहन्यालका अधिकांश ठाउँमा सडक सञ्जाल जोडिएको छैन । सबै ठाउँमा सडक जोड्ने पाँच वर्षको प्राथमिकता हुन्छ । बनेका सडकको स्तरोन्नती गर्ने योजना छ । कालो पत्रेतिर अघि बढ्ने योजना छ । कृषिमा आत्मनिर्भर बनाउन कार्यक्रम सन्चालन गर्ने योजना छ। खानेपानी र सन्चारलगायत एजेण्डा छन् । 

जनता के भन्छन् ? उनीहरूको अपेक्षा, गुनासो र सुझाव के पाउनुभयो ? 
हामीले गठबन्धनको तर्फबाट संयुक्त अपिल जारी गरेका छौँ । त्यसमा धेरै कुरा समेटिएको छ । जनताले पनि त्यो महसुस गरेका छन् ।  यसलाई अक्षरसः लागू गर्नुपर्छ भन्ने जनचाहना छ । जनतामा एक प्रकारको आशा छ । हाम्रो युवाहरूको टिम छ । युवाले गर्छन् भन्ने विश्वास लिएका छन् । जनताबाट सकारात्मक सन्देश पाएका छौँ । 

तपाईले परिकल्पना गरेको मोहन्याल कस्तो हो, निर्वाचित भएपछि के–के गर्नुहुन्छ ?
मोहन्याल कैलालीका अरु पालिकाभन्दा अलि फरक खालको छ । भौगोलिक रूपमा विकट पनि छ । हामी क्षेत्रफलको हिसाबले कैलालीकै सबैभन्दा ठूलो छौँ । प्रत्येक ठाउँका आवश्यकता फरक छन् । तीनलाई परिपूर्ति गर्ने कुरा चुनौतीपूर्ण पनि छ । कृषिमा आश्रित बढी छन् । कुनै ठाउँमा सिँचाईंको समस्या छ । कुनै ठाउँमा अर्को समस्या छ । चुनौतीपूर्ण छ । तर, हल गर्न नसकिने कुरा छैन ।
 
मैले दुईटा कुरामा ध्यान दिएको छु । 
पहिलो कुरा पर्यटनको छ । मोहन्यालका धेरै ठाउँमा पर्यटनको राम्रो सम्भावना छ । जस्तो पितमारी, सुगरखालको मालिका, बजेडी, पण्डौन, युद्ध पर्यटन क्षेत्र खिमडी आदि सम्भावना भएका क्षेत्र हुन् । यी क्षेत्रमा संरचना निर्माण गरेर प्रवद्धन र प्रचार–प्रसार गर्न सकियो भने राम्रो सम्भावना छ । यसबाट मोहन्यालको आयस्रोत बढ्न सक्छ र रोजगारी पनि सिर्जना हुनसक्छ । 

दोस्रो कुरा मोहन्यालमा आन्तरिक स्रोत एकदम न्यून छ । केन्द्र र प्रदेशको अनुदानमा चलेको छ । 
अनुदानमा आधारित गाउँपालिका चलाउँदा अपेक्षाकृत विकासलाई अगाडि बढाउन सकिँदैन । आन्तरिक स्रोतहरू बढावा दिनुपर्छ । आन्तरिक स्रोत जुटाउन असाध्यै मेहनत गछौँ । यो नगरी गाउँपालिका अगाडि बढाउन सकिँदैन । पर्यटकीय सम्भावना भएका क्षेत्रलाई पहिचान गरी प्रवद्धन गर्न सकियो भने मोहन्यालले फड्को मार्न सक्छ । 

राजश्व उठ्न उद्योग धन्दा छैनन् । व्यापार व्यवसाय पनि खासै छैन ।  आन्तरिक स्रोत कसरी जुटाउने ?

थुप्रै सम्भावना छन् । प्राकृतिक सम्पदा छन् । जंगल, जडिबुटी, र जनशक्तिको कुरा हुनसक्छ । थुप्रै ठाउँमा गिटी, ढुंगा, बालुवा छन् । सेती लोकमार्ग निर्माणाधीन छ । त्यसलाई चाहिने गिटी, बालुवा मोहन्यालबाट सबै मापदण्ड पूरा गरेर र मोहन्याललाई असर नपर्ने, गरी दिन सकियो भने आयस्रोत जुटाउन सकिन्छ । सानातिना उद्योग, व्यापार, पसलहरूबाट राजश्व उठाउन सकिएको छैन । यिनलाई व्यवस्थित गर्न सकियो भने आयस्रोत बढ्न सक्छ । 

गिटी बालुवाको कुरा गरिहाल्नु भयो । नदीजन्य पदार्थको बिक्री कर संकलनमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ । जसमा तपाई पनि मुछिनुभएको छ नि ?

त्यो विषय वास्तवमा तत्कालीन अध्यक्ष (स्व. नवलसिंह रावल)को हठका कारण भएको थियो । राजश्व छुट गर्न हुन्थेन । मैले त्यो कुरा पटक–पटक उठाएको हुँ । मैले त्यही बेला सिधैँ कार्यपालिकाबाट छुट गराउने कुरा राम्रो हुँदैन भनेको थिएँ । मिस्टेक चाहिँ भएको हो । 

कार्यपालिका सदस्यका हिसाबले जिम्मेवारी त तपाईले पनि लिनु पर्ला नि ?
अध्यक्षज्यूले त्यो निर्णय नगरुन्जेल बैठकका कुनै पनि कारबाहीहरू अगाडि बढाउनु भएन । तीन/चार महिनासम्म बजेट नै विनियोजन नगर्ने स्थिति आयो । कार्यपालिका नियमित गर्न र बजेट कार्यान्वयन गर्न, रोकिएका काम अगाडि बढाउन हामीले सहमति दियौँ । त्यो मुद्दाको विषय बन्यो । अदालतमा विचाराधीन छ । त्यस विषयमा कानुनीरूपमा सामना गर्ने नै छौँ । तर, यो पनि हाम्रो लागि शिक्षा हो । कतिपय कुराहरू नबुझेर, नजानेर र अध्यक्षको दबाबमा हामीले गर्‍यौँ । यस्ता कमजोरी अबका दिनमा नदोहोरिने गरी अगाडि बढ्नुपर्छ । 

प्रतिद्वन्द्वी उम्मेदवार(धरम थापा, एमालेका अध्यक्ष उम्मेदवार) लाई कसरी हेर्नुभएको छ ?
उहाँको खासै राजनीतिक कुरा भएजस्तो लाग्दैन । राजनीतिक रूपमा मोहन्याललाई केही गर्ने खालको खाका छ जस्तो पनि लाग्दैन । उहाँहरूले जातीय कुरा गरिरहनु भएको छ । नाता लगाउने, जातको कुरा गर्ने, साम्प्रदायिक कुरा गर्ने र भोट लिनेबाहेक अरु देखिनँ । 

तपाईंको र उहाँको राजनीतिक पृष्ठभूमि त एउटै हो नि । यसले तपाईंलाई असर गर्दैन ?

पृष्ठभूमि एउटै भए पनि राजनीतिक चरित्र र दृष्टिकोणमा धेरै फरक छ । हिजो सडकबाट उठाएर उम्मेदवार बनाएका थियौँ । उहाँ पार्टीमा धेरै योगदान गरेको क्रियाशील मान्छे पनि होइन । म २०५८देखि पार्टी भूमिगत भएर लागेको हो । सामाजिक र राजनीतिक क्षेत्रमा पार्टीमा काम गर्दै आएको मान्छे हो । वडामा निर्वाचित भएर एक कार्यकाल पनि पूरा गरेँ । सामाजिक विकास समिति संयोजकमा नेतृत्वदायी भूमिका खेलेको छु । विगतको अनुभवका हिसाबले पनि मोहन्याल बनाउने योजना छ । उहाँको उम्मेदवारीले मलाई खासै असर गर्दैन । बरु झन् सहज हुन्छ । प्रत्येक चुनावमा दल बदलेर उम्मेदवार बन्नेहरूसँग मलाई के को डर ? यति कुरा त जनताले पनि बुझ्छन् नि । 

चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
म सतप्रतिशत विश्वस्त छु । 

जित्ने आधार के हुन् ? 
मैले वडामा पाँच वर्ष नेतृत्व गरेँ । त्यहाँ सफलतापूर्वक काम गरेको छु । सबै मतदातालाई जानकारी छ । वडाध्यक्षको रूपमा मैले मोहन्यालकै सबै वडाभन्दा उत्कृष्ट काम गरेँ । यो सबै मतदाता, विशेषगरी माओवादी केन्द्रभन्दा बाहिरका मतदाता पनि आकर्षित हुनुहुन्छ । मोहन्यालमा पार्टीको संगठन तुलानात्मक रूपमा बलियो छ । एकल पनि जित्न सक्ने हैसियतमै थियौँ हामी । म गठबन्धनको उम्मेदवार भएकोले कांग्रेस र नेकपा (एस)को पनि समर्थन छ । त्यसकारण जित्नेमा कुनै संकै छैन ।
 
गठबन्धनभित्र असन्तुष्टि छ नि ! सबैले मत दिन्छन् त ? 
असन्तुष्टि थियो । त्यो हल गरिसकेका छौँ । अहिले गठबन्धनमा कुनै असन्तुष्टि छैन । कांग्रेसको तर्फबाट लोकेन्द्र बडुवाल दाइ स्वतन्त्र र माओवादीबाट पनि टीकासरी बुढा दिदीले बागी/स्वतन्त्र दिनुभएको थियो । उहाँहरूले उम्मेदवारी स्थगित गरिसक्नुभयो । गठबन्धनको उम्मेदवार विजयी गराउन भोट माग्न हामीसँगै हुनुहुन्छ । घरदैलो गरिरहेका छौँ । 

वडा नम्बर २ मा वडाध्यक्ष हुँदा उत्कृष्ट काम गरेको भन्नुभयो । गत पाँच वर्षमा गाउँपालिका त लथालिङ्ग नै भयो । त्यसको दोष तपाईंले नलिने ? यसमा तपाईकै बढी भूमिका रह्यो भन्ने आरोपहरू पनि छ ।

गत चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । तीन वडामा पनि उहाँहरूको प्यानलसहित जितेको थियो । कार्यपालिकामा पनि करिब–करिब उहाँहरूकै बहुमत थियो । हामी कार्यपालिका सदस्य रहे पनि नेतृत्वदायी भूमिकामा थिएनौँ । नेतृत्वदायी भूमिकामा भएकाहरूले सही खालको निर्णय गरेनन् । त्यो खालको कुनै प्रस्तावै ल्याएनन् वा चाहेनन् भने सदस्यले मात्रै चाहेर हुँदैन । त्यो हामीले भोगेका छौँ । अहिले म के मा ढुक्क छु भने हामी आयौँ भने ती सम्पूर्ण समस्या समाधान गर्न सकिन्छ । 

अन्तिममा के भन्नुहुन्छ ?
हाम्रो गठबन्धन छ । गाउँपालिका अध्यक्ष उम्मेदवारमा म छु । उपाध्यक्षमा कांग्रेसको उम्मेदवार हुनुहुन्छ । हाम्रो उमेर समूह पनि मिल्छ । युवा छौँ । केही गरौँ भन्ने जोश र योजना छन् । यी कुरालाई विश्वास गरेर बैशाख ३० गते गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन मोहन्यालवासीलाई आग्रह गर्न चाहन्छु । वडामा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्न चाहन्छु ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x