वार्ता

ललितपुरमा ‘संवाद, सहभागिता र जवाफदेहीता’ नारा लिएका स्वतन्त्र उपमेयर उम्मेदवार खड्का

कमल विष्ट |
बैशाख २३, २०७९ शुक्रबार १२:४२ बजे

काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् राजन खड्काले । पेशाले उद्यमी तथा कृषि अभियन्ता खड्का गत निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारकै रुपमा चुनाव लडेका थिए । उक्त निर्वाचनमा उनी ललितपुर महानगरको वडा नम्बर ४ को अध्यक्षका लागि चुनावमा उठेका थिए । उनी त्यति बेला तेस्रो बनेका थिए । 

‘संवाद, सहभागीता र जवाफदेहिता’लाई आफ्नो मूल नारा बनाएका खड्काले पुतली चुनाव चिह्न पाएका छन् । प्रस्तुत छ, तिनै उपमेयरका स्वतन्त्र उम्मेदवार खड्कासँग आमागी निर्वाचनको सन्दर्भमा इकागजकर्मी कमल विष्टले गरेको कुराकानीको सम्पादित अंश ।


चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ तपाईंको ?

मेरो प्रचारप्रसार खर्चिलो र भड्किलो छैन। त्यसमाथि स्वतन्त्र उम्मेदवार भएकाले समय पनि कम छ । स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न निर्वाचनको १०–१२ दिनअघि मात्र दिन्छ आयोगले । स्वतन्त्र उम्मेदवारलाई चुनावको प्रचारप्रसार गर्न यथेष्ट समय हुँदैन । म सँग पनि छैन। आफ्नो चुनाव चिह्न लिएर हरेक घरमा जाने समय र स्रोतसाधन नभएकाले मैले आफ्नो प्रसारप्रसारलाई मुख्य रुपमा सामाजिक सञ्जाल र माइकिङमा केन्द्रित गरेको छु । 

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको यो समस्यालाई बुझेर कम्तीमा पनि दुई महिनाअघि चुनाव चिह्न दिने व्यवस्था मिलाउनुपर्छ । 

गत निर्वाचनमा तपाईं वडाअध्यक्षमा लड्नुभएको थियो, यसपालि चाहिँ उपमेयरको लड्दै हुनुहुन्छ । किन ?

हो, गत निर्वाचनमा वडाध्यक्षका लागि लडेको थिएँ, अहिले भने उपमेयरका लागि लड्दै छु । यो किन भने योबीचमा मैले धेरै अध्ययन–अनुसन्धान गरेँ । उपमेयरको काम, कर्तव्य र अधिकार राम्रोसँग बुझेँ । यसबीचमा गरेका अध्ययन–अनुसन्धानले ममा सम्भावनाको खोजी गर्न सक्ने क्षमता बढेको छ । 

म विगत १० वर्षदेखि टोल विकास, शिक्षा, स्वास्थ्य, कृषि, सुचनाको हक जस्ता क्षेत्रमा पनि काम गर्दै आइरहेको छु । यी यावत क्षेत्रमा काम गर्दै गर्दा यसअघिका मेयरहरु कहाँ कहाँ चुकेका छन् भन्ने राम्रोसँग देखेको छु मैले । नगरको समग्र विकासका लागि यी क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ । 

उपमेयर भएपछि के गर्ने योजना छन् तपाईंका ?

म उपमेयर भएपछि यो–यो गर्छु भनेर मैले आफ्नो ‘उम्मेदवारीपत्र’ सार्वजनिक गरेको छु । त्यसमा मैले स्थानीय सरकार संचालन ऐन २०७४ बाट निर्देशित भइ एउटा उपमेयरले गर्नुपर्ने काम र कर्तव्यबारे उल्लेख गरेको छु । एउटा उपमेयरले आफ्नो अधिकारभित्र रही विभिन्न सम्बन्धित सरोकारवाला निकायसँगको आपसी सहयोग र सहकार्यमा गर्नुपर्ने काम लेखेको छु । 

मैले विशेषगरी ४ वटा योजना अघि सारेको छु । ती हुन्– न्यायिक समितिको संयोजक भइ गर्ने कार्य, महानगरपालिकाको योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी प्रतिवेदन पेश गर्ने, उपभोक्ता हितको संरक्षण गर्ने र गैर सरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने । 

यसका अलावा मेयरको अनुपस्थितिमा कार्यकारीको भूमिका निर्वाह गरी सभा तथा कार्यपालिकामा गठित समितिहरुको कामको सहजीकरण तथा समन्वय गर्ने र सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका काम गर्ने योजना पनि छ ।

ललितपुर महानगरको आफ्नै विशेष पहिचान, मौलिक सभ्यता, भाषा, नेवाः सम्पदा आदि छ । तर, कला र संस्कृतिको महत्वलाई राम्रोसँग बुझेको नेतृत्व पाउन नसक्दा महानगरले दिन प्रतिदिन आफ्नो साख गुमाउँदै गइरहेको छ । 

ललितपुरले गुमाउँदै गएको साख फर्काउन सक्ने नेतृत्वको आवश्यकता छ ।  

यसपालि पनि स्वतन्त्र उम्मेदवारकै रुपमा चुनाव लड्ने निर्णय गर्नुभयो । कुनै पार्टीबाट टिकट नपाएर हो वा स्वतन्त्र रुपमै लडनुपर्छ भन्ने लागेर हो ?

कुनै पार्टीबाट टिकट नपाएर यसपालि पनि स्वतन्त्र उम्मेदवारी दिएको होइन । वास्तवमा भन्ने हो भने मैले टिकटका लागि कुनै पार्टी वा नेताको कार्यालय धाएकै छैन । यसअर्थमा म बाध्यता नभएर रहरले स्वतन्त्र उम्मेदवार बनेको हुँ । 

म राजनीतिक दल तथा नेताहरुको प्रवृत्तिले आजित भएका नागरिकको सामुहिक आवाजको प्रतिनिधित्व गर्न चाहन्छु । टोलटोल, बस्तीबस्तीमै पुगी निष्पक्ष तथा जनसहभागितामूलक ढंगले नागरिक सभाको प्रयोगद्वारा योजना, नीति तथा नियम बनाउने प्रणालीको विकास हुनुपर्छ भन्ने मान्यता राख्छु म । यसो हुँदा दलगत भ्रष्टाचार तथा अनियमितताको नागरिकबाटै खबरदारी भइ स्थानीय स्रोत र साधनको वितरणमा समानता, निष्पक्षता र पारदर्शिता कायम हुन्छ । 

पार्टीबाट उठ्दा प्रचारप्रसार निकै खर्चिला र भड्किलो हुन्छ, जसका कारण मितव्ययी तरिकाले चुनावमा प्रतिस्पर्धा हुँदैन । स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा संवादमुखी, सहभागितामूलक लोकतन्त्रमा आधारित नागरिकसभाको विकास हुन्छ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x