वार्ता

अन्तर्वार्ता

‘पुरानै ढर्रा र रूढिवादी सोचले पाँच वर्ष भुम्लेली जनताको चीरहरण भयो’

कमल धिताल |
बैशाख २२, २०७९ बिहीबार १६:१८ बजे

काभ्रे पलाञ्चोक भुम्लु गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी हुन्, प्रेम भुजेल । भुम्लुमा यसपालि गठबन्धनका साझा उम्मेदवारका रूपमा भुजेल चुनावी मैदानमा छन् । माओवादीको सशस्त्र युद्धमा होमिएका भुजेल आफूलाई यो जिन्दगी नाफाको जिन्दगी ठान्छन् । यतिखेर चुनावी मैदानका उत्रिएका भुजेल अब पाँच वर्षमा भुम्लुको अनुहार फेर्ने वाचा गर्छन् । भन्छन्, ‘तपाईं हेर्न आउनुहोला, पाँच वर्षमा चुनावी वाचाहरू पूरा भएको पाउनुहुनेछ ।’ स्थानीय निर्वाचनका लागि भुजेलको अजेण्डा लगायतका विषयमा इकागजका कमल धितालले गरेको कुराकानी ।

भुम्लु गाँउपालिका प्रमुखमा तपाईंको उम्मेदवारी के का लागि ?


प्राकृतिक स्रोत–साधनले भरिपूर्ण भएको भुम्लु गाउँपालिकाले कुशल नेतृत्व लिन नसक्दा यसको उचित प्रयोग भएन । यहाँका जनताको जीवनस्तर पनि जस्ताको त्यस्तै रहिरह्यो । वार्षिक बजेट जति प्राप्त हुन्छ त्यसैअनुरुप कर संकलित हुन्छ । त्यति हुँदा हुँदै पनि हाम्रो सामाजिक रूपान्तरण, भौतिक पूर्वाधारको विकास हुन सकेन ।

भौतिक पूर्वाधारमा आएका अधिकांश बजेट ‘फ्रिज’ भएर जान्छ । यसरी बजेट ‘फ्रिज’ हुन पाँच वर्षसम्म केही परिवर्तन नहुँदा समाज यथास्थितिमै रह्यो । संघीयताको संरचना अनुसार स्थानीय तह आयो र जसको स्थानीय तह सञ्चालन गर्ने नीति थियो, उसको नेतृत्व नहुँदा त्यो अलपत्रमा पर्‍यो ।

स्थानीय तह सञ्चालित भइरहँदा आधा समय त तपाईंहरुको नेकपा एकै पार्टी थियो नि त काम गर्न दवाव दिनुभएन ?

हो, तर तपाईं उहाँहरूलाई गणतन्त्र तथा संघीयता लगायतका कुरा नै नमिलेर त समाजवादीका साथीहरू समेत त्यो त्यो पार्टी एमालेमा बस्न सक्नु भएन । एमालेका साथीहरूलाई खासमा संघीयता नै मन परेको छैन । त्यतिखेर एमालेका साथीहरू संघीयता नचाहिने ‘बोकाको टाउकोमा भैँसीको सिङ हालेको’ जस्तो भयो भन्दै गर्नुहुन्थ्यो । संघीयता संरचना उहाँहरूले मन पराउनु भएको छैन ।

संघीयता मर्म भावना बुझ्नु भएको छैन, त्यसकारण पनि त्यो चलाउने विधि उहाँहरूलाई थाहा छैन । उहाँहरूले पञ्चायत चलाउनुभयो, बहुदल चलाउनुभयो । गणतन्त्रमा आइपुग्दा उहाँहरु शिथिल भइसक्नुभएको छ । त्यही शिथिल मनस्थितिले गर्दा परिवर्तित युगलाई चलाउन सक्नुभएन, उहाँहरूले पुरानै ढर्रा र पुरानै रूढिवादी सोचले सञ्चालन गर्दा पाँच वर्षसम्म बस्दा भुम्लेली जनताको चीरहरण भयो ।  यसलाई ठीक ढंगले परिचलान गर्न सिर्जनशील सोच भएका युवा शक्ति विचार भएको र ‘भिजन’ भएका कारण नेतृत्वका लागि मेरो उम्मेदवारी हो ।

भुम्लुवासीले तपाईंलाई नै मत किन दिने ?

हाल मसँग प्रतिस्पर्धा गर्ने भनेको एमाले मात्र छ । अनि म चाहिँ एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको एक्लो उम्मेदवार हुँ । तीन वटा दलको नेतृत्व मैले गरेको छु । त्यस्तै म १० वर्ष जनयुद्धमा होमिएको मानिस हुँ । यो समाजलाई रूपान्तरण गर्नुपर्छ यो देशलाई जनगणतन्त्रमा लैजानुपर्छ र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसहितको व्यवस्था कायम गरेर २१ औं शताब्दीको नयाँ जन गणतन्त्रमा जानुपर्छ भन्ने हिसाबले लडेको मानिस हुँ ।

मेरो लक्ष्य भनेको जनताको चेतना स्तरमा आमूल परिवर्तन गराउने हो । जसलाई सामाजिक रूपमा आर्थिक रूपमा र भौतिक रूपमा विकास र सुन्दर शान्त र समृद्ध भुम्लु बनाउन पर्छ भन्ने उद्देश्यले सानै उमेरदेखि क्रान्तिमा हिँडेको मानिस हुँ । मसँग कुनै छलकपट जालझेल र षडयन्त्र छैन । मेरो एउटै मात्र लक्ष्य अरूको निम्ति बाँच्नुपर्छ समाजका निम्ति बाँच्नुपर्छ । यो देशको निम्ति बाँच्नुपर्छ । एक समय म जीवन बाजी थापेर संघर्षमा हिँडेको मानिस हुँ । सहिद हुन्थे होला, यो मेरो नाफाको जिन्दगी हो र यो फाइदाको जीवन सामाजिक कार्य गर्छु भनी हिँडेको भुम्लुका सबै मतदातालाई थाहा छ । जनताप्रति समर्पित मान्छे भएको र निःस्वार्थ ढंगले सेवा गर्ने भएको हुँदा मलाई मत प्राप्त हुन्छ भन्ने विश्वास लिएको छु । 

तपाईंको चुनावी अजेण्डाहरू के–के छन् ?

मेरो चुनावी अजेण्डा शैक्षिकमा आवाससहितको पूर्वाधार निर्माण गर्ने हो । अर्काे त, शिक्षामा आमूल परिवर्तन नगरी देश अगाडि बढ्दैन । शिक्षा नै मानिसको चेतना विकासमा सहयोगी सिद्ध हुने हुँदा पहिलो प्राथामिकता शिक्षामा दिनेछु । यसकारण एउटा वडामा आवाससहितको एक विद्यालय बनाउने योजना छ । अर्को परम्परागत रूपमा भइरहेको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने हो ।

यसबाट हामी आयात निरुत्साहन गरेर कृषि वस्तु निर्यातसम्म गर्न सक्ने हुन्छौँ । यस्तै युवाहरूलाई प्राकृतिक स्रोतहरूको उपयोग गरी स्वरोजगारी दिने हो । जस्तो हाम्रो १० वडा छ, यसमा १० बगैंचा निर्माण गर्न दिने । यसमा कुनै वडामा जडिबुटी फार्म, तरकारी फार्म, पशुपालनको फार्म लगायतका विभिन्न स्वरोजगारका फार्म बनाउन १ हजार ‘पालिका विकास प्रहरी’ बनाउँदै निर्माण कार्यमा लगाउने योजना छ । त्यस्तै पर्यटन उद्योगहरू सञ्चालनका लागि पर्याप्त पूर्वाधारहरू बनाउने र भएका पार्कहरूलाई पनि व्यवस्थित गरेर पर्यटक भित्र्याउने योजना छ ।

चुनाव प्रचारका क्रममा मतदाताका घर–दैलो पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

असाध्यै उत्सावर्द्धक रहेको छ । अनि नेपाली कांग्रेसका चर्चित युवा नेता दावा लामा गठबन्धनमा हुनुहुन्छ, यसले गर्दा यहाँका मतदाता निकै उत्साहित छन् । म अध्यक्ष, दावाजी उपाध्यक्ष हुँदा खेरि सशक्त नेतृत्व भएको हुँदा अब भुम्लु विकास हुन्छ भन्ने आशाले यहाँका मतदाता निकै उत्साहित भएको मैले पाएको छु । त्यसमाथि दावाजी समाजप्रति केही गर्नुपर्छ भन्ने भावना भएको युवा हुनुहुन्छ । म र दावाजी जस्ता जागरूक युवाहरूको नेतृत्व पाउने आशाले गर्दा पनि मतदाता निकै उत्साहित रहेको पाएको छु । यहाँका मतदाता सबैको मुहारमा खुसी भरिएको पाएको छु ।

तपाईंले गर्नुभएका यी वाचाहरू अबको ५ वर्षमा पुरा हुन्छन् त ?
तपाईं हेर्न आउनुहोला पाँच वर्षमा वाचाहरू पूरा भएको पाउनुहुनेछ । कतिपय योजनाहरू भने पाँच वर्ष भन्दा लामो समय लाग्ने छ भने त्यो त्यो पूरा हुन्छ भनी म भन्न सक्दिनँ, अरू भने पूरा हुन्छन् । तपाईं पनि भुम्लु घुम्न आउनुहोला ।

पाँच वर्षपछि तपाईंसँग यसैगरी कुरा गर्दा मैले भनेको अधिकांश वाचाहरू पूर्ण भएको पाउनु हुनेछ । साथै भुम्लुका जनताका लागि आगामी पाँच वर्षमा यसअघि नभएको विकास देख्न पाउनेछन् ।

आफ्ना प्रतिस्पर्धीहरुलार्ई के भन्न चाहनुहुन्छ ?

मेरो प्रतिस्पर्धी एक जना हुनुहुन्छ, उहाँलाई म के भन्न चाहन्छु भने तपाईं पनि जनताको माझमा जाँदै हुनुहुन्छ मतदाताका अगाडि सत्य कुरा बोल्नुस् । सम्भावना भएका कुरा बोल्नुहोस् । त्यस्तै प्रतिस्पर्धी पार्टीहरूलाई मर्यादित ढंगले बोल्ने गर्नुहोस् । तपाईंको आफ्ना कुरा राख्ने समयमा अरूलाई गाली गरेर समय खेर नफाल्नुहोस् । साथै अनावश्यक ढंगले अरूलाई गाली गर्ने, घमण्ड र अहंकार देखाउने काम बन्द गर्नुहोस्, बाँकी ३० गते मतदाताले देखाउनेछन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x