वार्ता

बुटवल निरन्तर खस्कियो, अब हामी बनाउछौँ

गत चुनावमा जसले मलाई भोट दिनु भएन उहाँहरू पछुताएको पाएँ

विक्रम खड्का |
बैशाख २२, २०७९ बिहिवार १५:२६ बजे

बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि गठबन्धनको नेतृत्व गर्दै कांग्रेसका खेलराज पाण्डे चुनावी मैदानमा छन् । कांग्रेस बुटवल नगर सभापतिसमेत रहेका पाण्डेलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । दोस्रो पटक मेयर पदका लागि प्रतिस्पर्धामा रहेका पाण्डे बुटवलबासी माझ परिचित नाम हो । २०२६ फागुनमा स्याङ्गजाको कालीगण्डकी–२ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । मेयर पदका उम्मेदवार खेलराज पाण्डेसँग इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि विक्रम खडकाले गरेको कुराकानी :

मतदाताका घर–दैलोमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 
उहाँहरूले ठीक मान्छेले टिकट पाएको भनिरहनु भएको छ । हामीले एक पटक तपाईलाई अवसर दिन्छौँ, ढुक्क भएर लाग्नुस् भन्नुभएको छ । नगरको निर्वाचन जित्नुस र हामीले चाहेको सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुस् भनी आर्शिवाद शुभकामना दिइरहनु भएको छ । सबैको माया पाएको छु । यसअघि पटक–पटक विश्वास गरेका दलहरूले निराश बनाएको, ठूला ठूला सपना देखाएर केही पनि काम नगरेकामा एकखालको निराशा पनि देखिन्छ । जनताले चुनावमा भोट हालेर जिते पनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुनेको छु । त्यसैले उहाँहरूको माया मतमार्फत् मलाई प्राप्त हुने विश्वास छ ।


मतदाताले तपाईँलाई किन मत दिने ?
अन्तर्वार्तामै म सबै कुरा भन्न सक्दिनँ । कतिपय कार्यक्रमहरू विस्तृतमा उल्लेख गर्नुपर्ने हुन्छ । तर पनि, म केही मुख्य योजनाहरू भन्न चाहन्छु । म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रूपमा विकास गर्न चाहन्छु । यहाँका नदी किनारका बासिन्दाले सुरक्षित रूपमा आफ्नै जग्गा जमीनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो । यो नागरिकको मौलिक हक हो । सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासलाई समाधान गर्नेछु । त्यो पनि बुटवलभित्र नै व्यवस्थापन गरेर समाधान गरिनेछ । ज्योतिनगर पहिरोका कारण के/कस्तो क्षति भयो भन्ने यहाँलाई जानकारी नै छ । त्यहाँ जनप्रतिनिधिका रूपमा के गरिनुपथ्र्यो र त्यसो नगर्दाको परिणाम के भयो भन्ने पनि जनताले नै देखाइदिएका छन् । मोतीपुर औद्योगिक क्षेत्रको समस्या पनि उस्तै छ । त्यो मेरो गढ हो भन्ने जनप्रतिनिधिलाई जनताले नै कसरी लखेटे त्यो पनि बुझ्नुभएकै छ होला । यसर्थ, यी समस्या समाधान जनतालाई चिढाएर, रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन कि उनीहरूलाई सुरक्षित अनुभूति हुनेगरी र अपनत्व महसूस हुने गरी समाधान गरिनुपर्छ । चुनावको मुखमा आएर काम देखाउन भित्री सडकहरू भत्काएर अलपत्र पारिएका छन् । जनताका समस्या के हुन् भन्नेमा ध्यान नै दिइएको छैन । सडकका आयोजनाहरू समयमै निमार्ण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानीको समस्या समाधान गर्न प्रभावकारी काम गरी समाधान गर्नेछु । बुटवलमा खानेपानीका लागि पहाडका भीरमा भन्दा बढी समस्या देख्छु म । शुद्ध पिउने पानीका लागि ठाउँ–ठाउँमा भाडा लिएर लाइन लाग्नुपर्छ । धारामा कहिले पानी आउँछ कहिले आउँदैन । अलिअलि वर्षा भयो कि धमिलो पानी आउँछ । यस्तै, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा महत्वपूर्ण योजना हामीले बनाएका छौं । अर्को महत्वपूर्ण कुरा भनौं, बुटवललाई हेरेर मानिसहरूमा संघीयताप्रति नै अविश्वास जगाउने काम भएको छ । बुटवल खराब कामको मानक बनेको छ । यहाँका जनप्रतिनिधिले गरेका बेथिति देखेर जनतामा जनप्रतिनिधिप्रति चरम असन्तुष्टि देखिन्छ । उपमहानगरपालिका भ्रष्टाचारमा डुबेको छ । गठबन्धनले तयार गरेको घोषणापत्र अनुसार सबै काम मैले गर्नेछु । मैले समावेशी ढंगले सबै दलहरूलाई अपनत्व हुने गरी सहभागी गराएर काम गर्ने भएकाले पनि मलाई जिताउनु हुने छ  । 

गठबन्धनका दलहरूबीच तालमेल कस्तो छ ? 
सुरु–सुरुमा बुझाइँमा केही समस्या थिए, अब ती समाधान भएका छन् । यो गठबन्धन राष्ट्र जोगाउन, संविधानको रक्षा गर्न, मुलुकलाई अस्थिरता र अराजनीतितिर धकेलिनबाट जोगाउन बनेको हो । जतिबेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । यदि कांग्रेसले त्यसको अगुवाई नगरेको भए र पाँच दल एकै ठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहँदैनथ्यो । जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धी गुम्ने खतरा थियो । जनतामाझ यसबारे भ्रम फिजाउन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ । एमालेसँग अरु कुनै एजेण्डा छैनन् । देशलाई अस्थीर बनाउने र अराजनीतिक बाटोमा लैजाने उसको योजना असफल भएको छ । यो कुरा उसले लुकाउन गठबन्धनविरोधी नारा लिएर जनतामाझ गएको छ । नेपाली कांग्रेस सत्तामा आउन चाहिरहेकै थिएन । ५ वर्षको कार्यकाल पूरा होस् भन्ने नै थियो । हामी जनताको मतलाई सम्मान गर्छौं । हामी अराजनीतिक गतिविधिलाई कहिले पनि प्राथमिकता दिँदैनौ । 

चुनाव जित्ने आधारहरू के हुन् ? 
म २०७४ मा पनि चुनाव लडेँ । त्यतिखेर मेरो २३९८ भोट कम भयो । त्यो चुनावदेखि यो चुनावसम्म मैले जनताका समस्या समाधान गर्न निरन्तर लडिरहेको छु । जतिले मलाई भोट दिनुभएन, उहाँहरू वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौं भन्ने अनुभव बुटवलबासीले गरेको मैले पाएको छु । अघिल्लो चुनावमा भ्रममा परिएछ भन्नेहरू यतिखेर मलाई नै जिताउन खटिनुभएको छ । किनभने, जति काम जितेका मान्छेले गर्न सकेनन्, मैले नजितेरै पनि गरेँ । मैले जितेको भए त्यसको कैयौं गुणा धेरै काम म गर्न सक्थेँ भन्ने कुरा जनताले बुझ्नुभएको छ । अर्को कुरा, बुटवल नयाँ शहर होइन । यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । पुराना बासिन्दाको लगाव फरक खालको छ । नयाँ बासिन्दाको फरक खालको लगाव छ । ती दुवै खालका बासिन्दाको मन जित्न सक्नुपर्छ । उहाँहरूको भावनाको सम्मान गरेर काम गर्न सक्नुपर्छ । यो काम म गर्न सक्छु । बुटवलमा हाम्रो पार्टी कांग्रेस एकजुट छ । कुनै समस्या छैन । संगठन बलियो छ । प्रत्येक टोलका समितिहरू सक्रिय छन् । एकजुट छन् । यसपालि २३ हजार जति नयाँ मतदाता थपिएका छन् । यी मतदातामा धेरै युवा हुन् । केही नामावली सारेर आएकाहरू छन् । युवा मतदाताको मत मलाई आउँछ । अर्को कुरा म बुटवल उपमहानगरपालिकामा कुनै पेशा व्यवसाय गरेर थाकेर, रिटायर्ड हुने बेलामा थकाई मार्न जान लागेको होइन । म एउटा जोश, जाँगर लिएर बुटवललाई म परिवर्तन गर्छु । यहाँका बासिन्दाको निराशा हटाएर उत्साह भर्छु, एउटा नयाँ आशा जगाउँछु भन्ने दृढ अठोटका साथ उम्मेदवार बनेको हुँ । यहाँका पाको पुस्ताको फरक खालको अवस्था छ । यहाँको पाको पुस्तामा पहाडको झल्को आउँछ । गाउँको निरश मेटिन्छ । उहाँहरूलाई आफ्नो पुर्ख्यौली थलोको साइनो मेट्ने वातावरण चाहिएको छ । त्यो वातावरण म बनाउन सक्छु ।

सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या निर्वाचित भएको एक वर्ष भित्रै सम्बोधन गरी ठोस रूपमै समस्या समाधान गर्नेछु । 

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको मुद्दा जहिले पनि उठ्छ, तर समाधान हुँदैन । कसरी समाधान गर्नुहुन्छ ? 

सुकुम्बासी समस्याहरूको बारेमा कुरा गर्दा यसका अल्पकालीन र दीर्घकालीन उपायहरू छन् । अल्पकालीन उपायमा हामी उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिका भित्र यसलाई एउटा मापदण्डमा ल्याउन सक्छौ । यसको नामसारीका प्रक्रिया वडाहरूमार्फत् लैजान सक्छौँ । यति मात्रै गर्न सक्यौ भने धेरै समस्या यसबाट समाधान हुन्छ । यसअघि देखिएका विकृति हटेर जान्छन् र दीर्घकालीन समस्या भनेको लालपूर्जा प्रदान गर्ने हो त्यो नै हाम्रो मुख्य उद्देश्य हो । भूमि सम्बन्धी कार्यालयहरू गठन भएका छन् त्यसमार्फत कामहरूको टुंगो लगाउँछौ । हामी लालपूर्जाका नाममा ललिपप देखाउँदैनौँ । लालपूर्जा भनेर निस्सा वितरण गर्दैनौँ । यसको समाधान गर्न सक्ने आधार तयार गरेरै यसो भनिरहेको छु ।   

अन्य पार्टीका उम्मेदवारहरूले बुटवललाई आफ्नो गढ भनेर प्रचार गरिरहेका छन् नि ? 
कसैले गढ भन्दैमा त्यो सत्य नै हुन्छ भन्ने छैन । मैले अघिल्लो चुनावमा २३९८ भोट कम ल्याएको हुँ । अब ९० हजारभन्दा बढी मतदाता छन् । कसरी गढ भयो ? यो नागरिकमा भ्रम फिजाउन फैलाइएको हल्ला मात्रै हो । हामीले बुटवलमा त्यसअघि सूर्यप्रसाद प्रधान दाईले चुनाव जित्नुभएकै थियो । हामीले हाम्रो गढ भनेर भ्रम त फिजाएनौँ। संघीय सरकारको नेतृत्व गर्दैमा देश हाम्रो गढ भयो भन्दिने त ? यसपटक पाँच दलीय गठबन्धनका तर्फबाट म चुनाव जित्छु । म गढ भनेर भ्रम फिजाउन्न । किनकि यो कुनै पार्टीको गढ हैन । बुटवलबासीको उपमहानगर हो । यसलाई बुटवलबासीको साझा सम्पत्तिका रूपमै रहन दिनुपर्छ । पार्टीको सम्पत्ति जस्तो गरिनुहुन्न । अर्को कुरा, बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । देशमा भएका हरेक ठूला आन्दोलनको नेतृत्व गर्ने कांग्रेसले गरेका गतिविधिलाई एमालेसँग दाज्दै मिल्दैन । बुटवल र बुटवलबासीका लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तीनका जनप्रतिनिधिले केही गरेनन् । त्यो कुरा जनताले स्पष्ट बुझ्नु भएको छ । हिजो हामीले निकै दुःख गरेर प्रदेशको अस्थायी राजधानी बुटवल ल्याएका थियौँ । एमालेले बुटवलको राजधानी खोसेर दाङ्ग पुर्‍यायो । त्यसमा एमालेका स्थानीयदेखि प्रदेश र केन्द्रमा नेत्तृत्व गर्नेहरूकै कारण राजधानी यहाँबाट सारेर दाङ पुर्‍याइएको हो ।  

अन्तमा आम नगरवासी र मतदातालाई हाम्रो के भन्नहुन्छ ?
म नगरबासीसँग आग्रह गर्छ कि तपाईले फेरि गल्ती नदोहोर्‍याउनुस् । यसपालि मलाई आफ्नो मत दिएर जिताउनुस् । म तपाइकै सेवक हुँ र बाँकी जीवन पनि नगरबासीकै सेवक भएर बिताउने छु । बुटवल उपमहानगरपालिकालाई पश्चिम नेपालकै आर्थिक र समृद्ध नगरको रूपमा विकास गर्न निस्वार्थ भएर लाग्ने छु । सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्या निर्वाचित भएको एक वर्ष भित्रै सम्बोधन गरी ठोस रूपमै समस्या समाधान गर्नेछु । अरु थुप्रै महत्वपूर्ण र नगरका लागि आवश्यक योजनाहरू म सँग छन् । तीनको कार्यान्वयन गरेर बुटवल उपमहानगरलाई देशमै उत्कृष्ट सुशासनयुक्त, आर्थिक र व्यापारिक केन्द्र बनाउने छु ।
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x