वार्ता

अन्तर्वार्ता

वीरगञ्जले गुमाएको साख फर्काउँछु : राजेशमान सिंह

कमल विष्ट |
बैशाख २०, २०७९ १८:२५ बजे

काठमाडौं– आसन्न वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा औद्योगिक करिडोर तथा आर्थिक राजधानी समेत मानिने वीरगञ्ज महानगरपालिकामा यसपालि रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

एकातिर पाँच दल सम्मिलित सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह छन् भने अर्कातिर नेकपा एमालेका विजय सरावगी । यी दुवैलाई चुनौती दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा पत्रकार गिरिश गिरी पनि चुनावी मैदानमा होमिएका छन् । 


आगामी चुनावमा वीरगञ्ज महानगरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) बाट टिकट पाएका सिंहले २०४३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति सुरु गरेका थिए । केही महिनाअघि लोकतान्त्रिक समाजवादी पार्टीबाट एमाले प्रवेश गर्ने तयारी गरिरहेका उनले पछि जसपा प्रवेश गरेर मेयरको टिकट पाएका हुन् । 

अहिलेसम्मको चुनावी अंक गणितमा सफल नदेखिएका उनी यसपालि भने आफूले जित्नेमा पूर्ण विश्वस्त छन् । गत निर्वाचनमा पनि वीरगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेका थिए । तर, उनी आफ्ना निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका विजय सरावगीसँग ७ हजार बढी मतान्तरले पराजित भएका थिए । यसपालि पनि उनको प्रतिस्पर्धा एमालेबाट मेयरको टिकट पाएका सरावगीसँगै हुनेछ । 

यसपालि चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेका सिंहसँग इकागजकर्मी कमल विष्टले उनलाई बेलाबेला लाग्ने आरोप, उनका चुनावी एजेण्डा, जित्ने आधारलगायतका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश । 

तपाईंलाई बेलाबेला लाग्ने गरेको एउटा आरोपबाट कुराकानी सुरु गरौँ है ? टिकट पाउनकै लागि पार्टी फेरिरहने नेता भन्छन् नि तपाईंलाई ?

भन्नेले जे पनि भन्छन्, त्यसमा मेरो केही भन्नु छैन । तर, केचाहिँ स्वीकार्छु भने एमाले प्रवेश गर्ने घोषणा गर्नु मेरो महाभूल थियो । 

लोसपामा रहँदा म पार्टीभित्रको गुट–उपगुटले वाक्कदिक्क भइसकेको थिएँ । यो नगरका लागि केही गर्नैपर्छ भन्ने अठोट थियो, त्यो अठोट लोसपामै बसेर पूरा हुँदैन भन्ने लागेर हामीले एमाले प्रवेश गर्ने निर्णय ग¥यौं । तर, त्यहाँ त लोसपाभन्दा ज्यादा घात अन्तरघातको खेल हुने रहेछ । 

एमालेमा केही यस्ता मान्छेहरु भेटेँ, जो पार्टीको नाममा आफ्नो दोकान चलाइरहेका थिए, छन् । अहिले सरावगी आएपछि ती व्यक्तिहरु मस्त छन् । कसैले गाडी पाएका छन्, कसैको घरको प्लास्टर भएको छ । 

बाहिरबाट हेर्दा त यस्तो छ भने भित्रको वातावरण झन् कस्तो होला भन्ने लाग्यो । त्यसैले हामी आफ्नो निर्णयबाट पछि हट्यौं । पार्टीमै बसिरहेको भए मेयरको टिकट मैले पाउनेमा दुई मत थिएन ।  

मैले बल्ल बुझेँ, वीरगञ्जमा एमाले अहिलेसम्म किन अगाडि नबढेको रहेछ भनेर । म अन्तिममा जसपामै फर्किएँ, जुन मेरो आधार थियो ।

प्रचार–प्रसारमा व्यस्त हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

एकदमै राम्रो प्रतिक्रिया मिलिरहेको छ । सोचेको भन्दा राम्रो प्रतिक्रिया पाइरहेकाले हामीलाई थप ऊर्जा मिलेको छ । पूर्वमेयरले नगरका लागि केही नगरेको गुनासो नगरबासीहरु सुनाउनुहुन्छ । उहाँहरु अब तपाईंले केही गर्नुपर्छ भनेर भन्नुहुन्छ । मबाट धेरै आशा गर्नुभएको छ । 

प्रचार–प्रसारमा हामीले सबैभन्दा जोड घरदौलोमा दिएका छौँ । बिहानदेखि बेलुकासम्म हरेक वडाका हरेक घरमा पुगेर आफ्ना कुरा राख्दै भोट मागिरहेका छौँ । 
यसका अलावा गठबन्धनमा सम्मिलित दल तथा विभिन संघसस्थासँग कसरी गठबन्धनलाई जिताउने भनेर छलफल, परामर्श गरिरहेको छु ।

मेयरको उम्मेदवार बन्दै गर्दा वीरगञ्जलाई समृद्ध महानगर बनाउन के–के छन् तपाईंका एजेण्डा ?

चुनावका लागि हाम्रो संकल्पपत्र जारी भइसकेको छ । हामीले आवश्यकताका आधारमा हाम्रा कामलाई विभिन्न चरणमा विभाजन गरेका छौँ । पहिलो चरणमा नागरबासीको दैनिकीलाई सहज र समृद्ध बनाउन सहयोग गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, कर व्यवस्थापनलगायतका विषयमा जोड दिएका छौँ । 

वीरगञ्ज औद्योगिक करिडोर हो । यहाँ एक हजार बढी उद्योग तथा कलकारखाना छन् । तर, यहाँका अधिकांश नगरबासीलाई रोजगारीको समस्याले पिरोलेको छ । हरेक दिन सयौँ युवाहरु रोजगारीको खोजीमा छिमेकी मुलुक भारतदेखि खाडीतिर पलायन हुन बाध्य छन् । हामीले यो समस्यालाई गम्भीरतासाथ हेरेका छौँ । उनीहरुलाई यहीँ कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एउटा विज्ञको टोली बनाएर उद्योगीसँग परामर्श भइरहेको छ ।

नगरबासीहरु दिन प्रतिदिन करको बोझले थिचिइरहेका छन् । यो समस्या निदान गर्न व्यक्तिको आर्थिक स्थितिलाई ध्यानमा राखेर करको दायरा तोक्ने हाम्रो नीति छ । आयस्रोत कम भएकालाई करै नलाग्ने योजना अगाडि सारिएको छ । 

वीरगञ्जलाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गरिएको छ । तर, न्यून आर्थिक स्तर भएका नगरबासीको घरमा शौचालय छैन । खुला दिसापिसाब मुक्त क्षेत्र घोषित गर्नुपूर्व नगरप्रमुखले बिहान–बेलुका हातमुख जोड्न धौधौ हुनेले कसरी शौचालय बनाउन सक्लान् भनेर सोच्नुपर्छ कि पर्दैन ? हामीले यो विषयलाई ध्यानमा राखेर शौचालय बनाउन नसक्ने नगरबासीको घरमा निःशुल्क शौचालय बनाउने नीति बनाएका छौँ । 

अपवादबाहेक यहाँका अधिकांश सरकारी कार्यालय र कर्मचारीहरु भ्रष्ट छन् । कर्मचारीलाई भेटी नचढाइन काम नहुने समस्या छ ।  यस नगरमा व्याप्त कुशासनलाई जरैदेखि उखेल्ने योजना छ । 

नेपाल कृषिप्रधान देश हो । तर, धेरै किसानले खेतीबालीको बेला समयमै मलखाद पाउँदैनन् । जसका कारण उनीहरुको उत्पादनमा ह्रास आउँछ । हामीले यो समस्यालाई भित्रैदेखि बुझेका, मनन गरेका छौँ । महानगरको समन्वयमा प्रत्येक किसानलाई समयमै मलखादको बन्दोबस्त गर्नेछ । 

त्यस्तै, शिक्षा र जनचेतनाको अभावका कारण यहाँका महिला, दलितलगायतका समुदायहरु पीडित छन् । यहाँ हरेक वर्ष दशौँ महिलाहरु दाइजो नल्याएको निहूमा ज्यूँदै जलाइन्छन्, बोक्सीको आरोपमा मारिन्छन्, दलितहरु जातीय विभेदको शिकार हुन्छन् । यी घटनाहरु शिक्षा र प्रभावकारी कानूनको अभावका उपज हुन् । हामीले महिला, दलितलगायतका सीमान्त समुदायलाई विशेष ध्यानमा राखेर शिक्षाका कार्यक्रम अगाडि बढाउने छौँ । 
हाम्रो ध्यान विशेषगरी हरेक तह–तक्पामा शिक्षा, स्वास्थ्य र विकास पुर्याउनेमा केन्द्रित छ । 

अनि गुरु योजना चाहिँ के छन् त ?

वीरगञ्जमा पर्यटन व्यवसायको पनि उत्तिकै सम्भावना छ । आन्तरिक र बाह्य दुवै किसिमका पर्यटकलाई आकर्षित गर्ने सौन्दर्य र सम्भावना वीरगन्जसँग छ । तर, सम्भावनाका क्षेत्र पहिल्याएर प्रबद्धन गर्ने त धेरै परको कुरा पहिल्यैबाट प्रसिद्धि कमाएका पर्यटकीय क्षेत्रलाई समेत नजरअन्दाज गरिएको छ । 

वीरगञ्जमा विभिन्न शक्तिपीठ तथा अन्य पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । पहिल्यै प्रसिद्धि कमाइसकेका र सम्भावना बोकेका क्षेत्रलाई पहिल्याएर वीरगञ्जलाई पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । 

मास्टर प्लान अन्तर्गत नै हामीले वीरगञ्जलाई स्मार्ट सिटी बनाउने नीति लिएका छौँ । सुचना तथा प्रविधिको भरपूर उपयोग गरी नागरिकले सरकारी कार्यालय पुग्नुपर्ने बाध्यता हटाउनेछौँ ।

ढल व्यवस्थापनको समस्या यहाँको एउटा प्रमुख समस्या हो । हामीले केही वर्षभित्र अस्तव्यस्त ढललाई व्यवस्थित गर्नेछौँ । यसबाहेक अरु पनि धेरै गुरु योजना छन्, दीर्घकालीन योजना छन् ।

समग्रमा भन्नुपर्दा हामी वीरगञ्जलाई साँच्चिकै महानगरपालिका बनाउनेछौँ । यहाँ आउने हरेकले अनुभूति गरुन् र भनून्– वाह ! क्या महानगर ! 

गएको निर्वाचनमा तपाईंले विजय सरावगीसँग ७ हजार बढी मतले पराजय भोग्नुभयो । फेरि उनैसँगै लड्दै हुनुहुन्छ । यसपालि तपाईंको जित्ने आधार के हो ?

हो, गत निर्वाचनमा जित्ने पक्कापक्की भए पनि सरावगीसँग हार व्यहोरेँ । हारका प्रमुख २ कारण छन् । 

पहिलो र सबैभन्दा महत्वपूर्ण कारण हो– सबै वडामा मेरो पकड नुहुन । २०७४ भन्दा अगाडि वीरगञ्ज उपमहानगर थियो । वीरगञ्ज उपमहानगर हुँदा १९ वटा वडा थिए । महानगर बन्ने भएपछि १९ बाट १६ मा झारियो । तर, पछि राजनीतिक चलखेल गरेर त्यसमा फेरि १६ थपेर गरेर ३२ वडा बनाइयो । पछि थपिएका १६ वडामा मेरो पकड थिएन । मैले ती वडाका नागरिकसँग कहिल्यै काम गर्ने मौका पाएको थिइनँ, मेरो गृहकार्य थिएन । 

यदि १६ मात्रै वडा हुन्थ्यो भने मैले जितेको हुन्थेँ । पूराना १६ वडामा मैले प्राप्त गरेको मतपरिणाम हेर्ने हो भने म अगाडि थिएँ । 
दोस्रो कारण, मेरा आफ्नै सहकर्मीबाट पाएको धोका हो । सुरुमा हामीबीच जसले टिकट पाए पनि निर्वाचनमा एकले अर्कालाई सहयोग गर्ने भन्ने थियो । तर, पार्टीबाट मैले टिकट पाएपछि उहाँले मलाई समर्थन गर्नुभएन, बरु विरोधमा लाग्नुभयो । 

तर, यसपालि त्यस्तो छैन । यो निर्वाचनमा मेरो जित सुनिश्चित छ । मेरो जितको दुईवटा मुख्य आधार गठबन्धन हो । पाँच दलको सम्पूर्ण भोट मैले पाउनेछु । जसपा एक्लैको संगठन पनि एकदमै मजबुद छ यहाँ । एमाले फुटेपछि यहाँ कमजोर मात्र होइन, उसको संगठन नै छैन । 

त्यस्तै, यसपालि साढे चार वर्षमा मैले ३२ वटै वडामा आफ्नो संगठन बनाएको छु । हरेक वडाका हरेक नागरिकसँग भेटेको छु, उहाँहरुको इच्छा–आकांक्षालाई बुझेको छु । सबैको मन जित्ने काम गरेको छु । 

वीरगञ्जबासीले यी वर्षमा सरावगीको काम देखिसक्नुभएको छ । यो निर्वाचनमा सरावगीलाई भोट दिने मनसायमा छैनन् । वीरगञ्जको कुल १ लाख २५ हजार ४ सय ७९ मतदाता छन् । कुलको ७५ प्रतिशत मत ल्याएर मेयर जित्छु । 

यसअघिका मेयरहरु के–के कुरामा कहाँ–कहाँ चुके जस्तो लाग्छ ?

यसअघिका सबै मेयरहरु हरेक कुरामा चुकेका छन् । वीरगञ्जको पहिचान गुमेको छ, साख गुमेको छ ।

मुलुक संघीय संचरनामा गएपछि वीरगञ्ज उपमहानगरबाट महानगरमा बढुवा भयो । वीरगञ्जेलीहरु यो बढुवाले निकै उत्साहित थिए । स्थानीय सरकार भएपछि अब केही हुन्छ भन्ने आशा जगेको थियो उहाँहरुको मनमा । तर, नतिजा त्यस्तो आएन । उहाँहरुको आशाप्रति कुठाराघात भयो । महानगर व्यवस्थित र समृद्ध हुनुपर्नेमा झन् आफ्नो भएको साख, पहिचान गुमाउँदै गयो । झनै अस्तव्यस्त बन्यो ।

सरावगीबाट वीरगञ्जवासीलाई धेरै आशा थियो । तर, उहाँले आफूले गर्छु भनेकोबाट २ प्रतिशत काम पनि गर्नुभएन । सहजै गर्न सकिने कुरा पनि उहाँले गर्नुभएन । थाहा छैन, उहाँ के के कुरामा अल्झिनुभयो ? व्यक्तिगत रुपमा म उहाँलाई योभन्दा बढी केही भन्दिनँ । 

वीरगञ्जबासीहरु एकदमै दुःखी छन् । 

म यो नगरको छोरो हुँ । पहिल्यैदेखि यस ठाउँका लागि केही गर्ने इच्छा छ । अब ठीक समय आएको छ । दृढ अठोट र संकल्पका साथ केही गर्छु भनेर आएको छु । सबैको साथ र सहयोग पाए गर्ने पनि छु ।
 



Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
ad
x