वार्ता

जनताले विश्वास गरेको मान्छे हुँ, पाँच हजार मतान्तरले चुनाव जित्छु (अन्तर्वार्ता)

‘म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु’

विनोद देवकोटा |
बैशाख १५, २०७९ बिहिवार १४:२ बजे

बागलुङ ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट चन्द्रलाल अर्याल चुनावी मैदानमा छन् । २०३० सालमा ढोरपाटन–२ कै कुत्थाप्लमा जन्मेका अर्यालले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । १२ दाजु–बहिनीमध्येका कान्छा अर्याल आफू राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्किएको बताउँछन् । १२ वर्षकै उमेरदेखि जनमोर्चाबाट राजनीति सुरु गरेका उनी २०५७ सालदेखि माओवादीमा जोडिएका हुन् । ‘मेरो राजनीतिक परिवार हो । जेठो दाजु पञ्चायतमै प्रमुख वडाध्यक्ष हुनुहुन्थ्यो । माइलो दाजु तुलसीलालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ,’ उनी भन्छन्, ‘उहाँबाटै प्रभावित भएर म राजनीतिमा लागेको हुँ । राष्ट्रिय जनमोर्चाको पुष्ट भूमि हुँदै २०५७देखि म माओवादीमा आवद्ध छु । जनयुद्धमा पनि सामेल भएँ । त्यसपछि निरन्तर माओवादीमै छु । २०४२ सालदेखि राजनीतिमा आवद्ध भएको हुँ ।’ राजनीतिसँगै लामो समय विभिन्न संघसंस्थामा पनि आवद्ध भए । ‘यसअघिको सरकारले कामै गर्नै सकेन । विकास, जन सरोकार र जनचासोका केही काम भएनन् । बेथिति र भ्रष्टाचारमात्र मौलायो,’ उनी भन्छन्, ‘म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु । पाँच हजार मतान्तरले चुनाव जित्छु ।’ यसै विषयमा केन्द्रित भएर अर्यालसँग इकागजका विनोद देवकोटाले गरेको कुराकानीः

तपाईंको उम्मेदवारी किन ? 
म गत चुनावमा पनि मेयरको आकांक्षी थिएँ । पार्टीले अर्कोलाई टिकट दियो । जिताउन लागेँ । तर, चुनाव एमालेका देवकुमार नेपालीले जित्नुभयो । माओवादीको निष्ठावान कार्यकर्ता भएकोले यसपटक पार्टीले मलाई विश्वास गर्‍यो ।


यसअघिको सरकारले केही काम गर्नै सकेन । विकास, जन सरोकार र जनचासोका काम भएनन् । बेथिति र भ्रष्टाचारमात्र मौलायो । ढोरपाटन बागलुङको एउटा यस्तो नगरपालिका हो जहाँ गत वर्षको बेरुजु मात्रै ६ करोड २५ लाख छ । यहाँ बेथिति र भ्रष्टाचार भयो । विधिको शासन भएन । सुशासन र विकास भएन । पाँच वर्षमा जनताका आधारभूत आवश्यकता र यहाँको समस्याको समाधान गर्ने कुनै काम भएन । कुनै खालको खाका बनेन । यहाँको विकास, सुशासन र पारदर्शिताका लागि, जनचासो र जनअपेक्षाका काम गर्न मेरो उम्मेदवारी हो । 

जनताले तपाईंलाई विश्वास गर्ने आधार के हुन् ? 
म यहीँ ठाउँमा विभिन्न सामाजिक संघसंस्था हुँदै ३७ वर्षदेखि राजनीतिमा क्रियाशील छु । कुनै नचाहिने काम गरेको छैन । अनैतिक काम गरेका छैन । मेरो धेरै आधार छन् । जनताले विश्वास गरेको मान्छे हुँ । म विपक्षी दलका उम्मेदवारभन्दा बौद्धिक, सामाजिक र शैक्षिकरूपमा पनि अब्बल छु । मतदाताले मत दिनुहुन्छ । मैले यहाँको अवस्था बुझ्छु । 

म विपक्षी दलका उम्मेदवारभन्दा बौद्धिक, सामाजिक र शैक्षिकरूपमा पनि अब्बल छु । गलत पात्र र प्रवृति बदल्ने बेला आएको छ । म पाँच हजार मतान्तरले चुनाव जित्छु ।

तपाईंका योजना र प्रतिबद्धता के–के छन् ? 
ढोरपाटन आरक्ष यहाँको पहिचान हो । पर्यटकहरू आउँछन् । धार्मिक पहिचान पनि छ । धेरै पूर्वाधार निर्माण गर्न पनि बाँकी छ । सुन्दर ढोरपाटन उपत्यका छ । जहाँ सिकार आरक्ष छ । जुन विश्वकै नमूनायोग्य ठाउँ हो ।  विश्वमै दुर्लभ वन्यजन्तु नाउरको सिकार गरिन्छ । लोपउन्मुख जातका वन्यजन्तु पनि छन् । संरक्षित राख्नुपर्ने पनि छन् । धार्मिक र पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र हो । म निर्वाचित भएपछि कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउँछु । ढोरपाटन उपत्यकासम्म पुग्ने पक्की मोटरबाटो बनाउने सोच बनाएको छु । वडा कार्यालयसम्म मोटर बाटो पुर्‍याउने अठोट छ । यहाँ बिद्युतको केन्द्रीय लाइन बुर्तिबाङ बजारसम्म मात्रै छ । त्यसलाई वडा र गाउँगाउँसम्म पुर्‍याउने योजना छ । 

कृषिमा ठूलै सुधारको योजना छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना छ । परम्परागत पशु पालनलाई आधुनिकीकरण गर्नुछ । जनताको जीवनस्तर कृषिबाटै माथि उकास्न सकिन्छ भन्नेमा म दृढ छु । कृषकहरूलाई अनुदान दिने योजना छ । जस्तै एक लिटर दूध बेच्ने किसानलाई २० रुपैयाँसम्म अनुदान दिन सक्नेगरी नगरपालिकाले योजना बनाउने अठोट गरेको छु । मासु, फलफूल र तरकारी आदिमा पनि त्यस्तै योजना छ । 

ढोरपाटनमा उद्योगधन्दा छैन । यहाँ दुई/तीन वटा ठूल्ठूला उद्योगधन्दा स्थापना गर्ने योजना छ । यहाँ जडिबुटीसम्बन्धी उद्योग स्थापना गर्न सकिन्छ । यहाँ आलू खेती प्रख्यात छ । आलुसम्बन्धी विभिन्न परिकार बनाउने उद्योग स्थापना गर्न सकिन्छ । काठ पैदावारहरू ठूलो संख्यामा खेर गइरहेको छ । काष्ठ उद्योग पनि स्थापना गर्न सकिन्छ । राज्यकै तर्फबाट ठूलो भोलुममा उद्योग सन्चालन गरेर हजारौँ युवालाई रोजगार दिने प्रतिबद्धता गरेको छु । विदेश जान नपर्ने स्थिति सिर्जना गर्छु । 

शिक्षा र स्वास्थ्य क्षेत्रका योजना के छन् ? 
ढोरपाटनको बुर्तिबाङ बजारमा १५ श्य्याको एउटा अस्पताल छ । त्यसलाई स्तरउन्नती गरी वृद्धि गर्ने योजना छ । प्रत्येक वडामा डाक्टरसहितका स्वास्थ्य इकाइहरू राख्ने योजना छ ।

शिक्षकको हकमा ब्याचलरसम्म सन्चालन हुने क्याम्पस छ । माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क बनाउने योजना छ । कुनै पनि शूल्क नलिने, परीक्षा शूल्क पनि लिन नपाउनेगरी व्यवस्था गर्छु । स्नातकसम्मको पढाइ निःशुल्क गर्न सकिने सम्भावना छ । क्याम्पसको अध्यक्ष पनि मै भएकोले सबै निःशुल्क गर्ने अठोट लिएको छु । 

शिक्षामा आमूल परिवर्तन ल्याउन केन्द्रसँग समन्वय गरेर विद्यालयका सुविधा सम्पन्न र आधुनिक भवनहरू निर्माण गर्ने योजना छ । शिक्षकहरूलाई थप केही भत्ताको व्यवस्था गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने योजना छ ।

ढोरपाटनको दुर्गममा एउटा दलितको बच्चाले पाउने शिक्षा र अलि तल बजारका बच्चाले पाउने शिक्षामा फरक छ । त्यसमा समानता ल्याउने योजना छ । 
स्थानीय आवश्यकताका आधारमा पाठ्यक्रम बनाएर पनि लागू गर्छु । म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु । 

चुनावमा ठूल्ठूला घोषणा हुन्छन् । तर, जितेपछि कार्यान्वयन हुँदैनन् । बिर्सिन्छन् । तपाईले घोषणा कार्यान्वयन गर्नुहुन्छ ?
म यहाँको स्थानीय बासी हुँ । यहाँको समस्या मलाई राम्ररी थाहा छ । बुझेको छु । विगतमा पनि उम्मेदवारहरूले धेरै ठूला प्रतिबद्धता गर्नुभयो । काम भएन । नगरपालिकाको प्रशासकीय भवन समेत बनेन । वडाका भवन पनि निर्माण भएनन् । पद्धति गत ढंगले काम भएन । म काम गरेर देखाउँछु । जनअपेक्षा र आवश्यकता हेरेर काम गर्छु । जनताका समस्या सुनेर काम गर्छु । म जितेपछि पनि आफ्ना प्रतिबद्धता बिर्सिन्नँ । जनतो मलाई विश्वास गर्छन् ।

त्यसो भए चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ? 
म विश्वस्त छु । पाँच हजार मतान्तरले चुनाव जित्छु । यहाँ अनियमितता बेथिति, विधिको शासन छैन । पारदर्शिता र योजना छैन । अब मेरो अगुवाइमा ती व्यवस्था गर्छु । जनताले गलत पात्र र प्रवृति परिवर्तन गर्न खोजिरहेका छन् । प्रवृति र पात्र परिवर्तन गर्ने यो सुनौलो अवसर हो । सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगर सरकार बनाउँछु । सबै जनता नयाँ पात्र ल्याउन आतुर छन् । विपक्षीले ल्याउनेभन्दा दोब्बर बढी मत ल्याएर जित्छु । 

जित्ने अर्को बलियो आधार नेकपा एमालेबाट ठूलो समूह विद्रोह गरेर आएको छ । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल सहित सयौँ नेता–कार्यकर्ता माओवादीमा फर्किनुभएको छ । गलत पात्र र प्रवृति बदल्ने बेला आएको छ । म मलाई मात्रै होइन गठबन्धन(सत्ता)का सबै उम्मेदवारलाई विजयी गराउन जनतामाझ अपिल गर्न चाहन्छु  ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x