वार्ता

इसंवार्ता

राजकुमार पौडेललाई प्रश्न : तपाईंलाई नै भोटेकोशीका जनताले किन भोट दिने ?

तातोपानी नाका खोल्न लागिरहेका छौँ

जीवन कुँवर |
बैशाख १४, २०७९ बुधवार १४:३ बजे

राजकुमार पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर भोटेकोशी गाउँपालिकामा भिजेका पौडेल व्यापारिक पृष्ठभूमिका हुन् । उनले बितेको कार्यकालमा सरकारी सेवा-सुविधा केही लिएनन् । सरकारले दिने तलबभत्ता भोटेकोशीका विद्यालयमा छात्रवृत्ति दिए । पाँच वर्षे कार्यकालमा उनले सवारी साधनसमेत आफ्नै व्यक्तिगत प्रयोग गरे । भोटेकोशीमा दीर्घरोगीहरूलाई वार्षिक २५ हजार रूपैयाँ दिने थिति बसाले । पाँच वर्ष पालिका अध्यक्ष हुँदा अधुरो रहेको कामलाई पूरा गर्न फेरि गाउँपालिका उम्मेदवार बनेको भनाइ उनको छ । नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेका पौडेलसँग इकागजकर्मी जीवन कुँवरले गरेको कुराकानीको सम्पादित अंश :

फेरि तपाईंको उम्मेदवारी किन ?
मैले पाँच वर्ष काम गर्दैगर्दा अधुरो काम धेरै नै छन् । ती काम पूरा गर्नुछ । भोटकोशी गाउँपालिका चीनसँग सीमा जोडिएको पालिका भएकाले यसलाई पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्नुछ । यहाँका स्थानीयलाई पर्यटनसँग जोडाएर आत्मनिर्भर गराउनुछ । यहाँको जडिबुटीलाई व्यवस्थित गराउनुछ । यहाँको स्थानीयलाई प्रत्यक्ष कृषि र पशुपालनमा जोड्नुछ, भएका व्यवसायहरू व्यवस्थित गराउनुछ । यहाँको विकासको कामहरू तीवै रूपमा अगाडी बढाउनुपर्नेछ । यी सबै हिसाबले हेर्दा मैले फेरि पनि पालिका अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।


तपाईंका एजेन्डा के-के छन् ?
मुख्यतः यहाँ कक्षा १२ सम्म निःशुल्क बनाउने छ । यहाँका स्थानीय जो डाक्टर पढ्न चाहनेलाई वर्षको १० लाख रूपैयाँ अनुदान दिने एजेन्डा छन् । इन्जिनियर पढ्नेलाई ३ लाख अनुदान दिनेछु । त्यस्तै यहाँ ‘एक घर, एक खानेपानी धारा’ जडान हुनेछ । भोटेकोशीमा हुनेखाने मात्र छैनन् हुँदा खाने पनि थुप्रै मान्छे छन् । उनीहरूलाई स्वास्थ्य उपचारको पनि व्यवस्था गर्नुछ । हुन त, सरकारले २५ सय ३५ सयको स्वास्थ्य बीमा प्याकेज दिएको छ । तर यहाँ त्यही २५ सय रूपैयाँ पनि नभएर थुप्रै बीमाबाट छुटेका छन् । उनीहरूलाई अब गाउँपालिकाले नै स्वास्थ्य बीमाको व्यवस्था हुनेछ । पशुपालन र कृषि पेशा गर्नेलाई अनुदानको व्यवस्था गर्नेछु । जो खेतीपाती गर्न चाहन्छन् उनीहरूलाई बीउबिजनदेखि टनेलसम्म निशुल्क दिने योजना बनाएको छ । जो पीडित छन् उनीहरूलाई आवासको व्यवस्था गर्नेछु । कृषिमा काम गर्नेहरूलाई बैंकसँग समन्वय गरेर कतिपयलाई अनुदान र धेरै रकम चाहिनेलाई कम ब्याजमा ऋण दिएर उत्पादन बढाउने, यहाँ भएका हाइड्रोपावर, होटल व्यवसायहरूसँग समन्वय गरेर यहाँका जनतालाई यहीँ नै रोजगार दिनेछु । त्यसैगरी तातोपानी भन्सारसँग समन्वय गरेर यहाँकाजनतालाई यहीँ नै रोजगार दिने एजेन्डा छन् ।

अरु पनि योजना र एजेन्डा छन् कि ?
युवाहरूलाई सीपमूलक तालिम दिएर उनीहरूलाई यहाँ नै रोजगारको व्यवस्था गर्छु । महिलालाई सिलाई-बुनाइ तालिममा दिएर रोजगारको व्यवस्था गर्नेछु । भोटेकोशीमा होमस्टेको अवधारणा अगाडि बढाएर पयर्टकलाई आकर्षित गर्नुछ । यहाँको मन्दिर, गुम्बा, चर्चलगायतलाई व्यवस्थित गर्नुछ । आन्तरिक र बाह्य पर्यटक आउँदा पाँच दिनसम्म यहाँ बसेर रमणीय ठाउँ हेर्ने, तातोपानी धारामा नुहाउन आउने पर्यटकहरूलाई आकर्षित गर्न यहाँको प्रचारप्रसार गर्नुछ । पाँच वर्षमा सडक खन्‍ने काम मात्रै गर्‍यौँ अब यसलाई कालोपत्रे गर्नुछ । केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर प्रत्येक वडासम्म जाने सडक कालोपत्रे बनाउनेछु । यहाँका कतिपय विद्यालय नगएकाहरूलाई प्रोत्साहन कार्यक्रम बनाएर उनीहरूलाई स्कूल पठाउनुछ ।

यसअघि पाँच वर्ष पालिका प्रमुख हुनुभयो । पहिलाको भन्दा के फरक एजेन्डा छन् ?
पहिलाभन्दा अहिले धेरै नै फरक छ । पहिला स्वास्थ्य बीमा कार्यक्रम थिएन, अहिले छ । पहिला दीर्घरोगीलाई २५ हजार रूपैयाँ दिएका थियौँ । त्यसलाई बढाएर ४० हजार रूपैयाँ दिनेछौँ । जस्तै नेपाल सरकारले तोकेकोभन्दा नियमित औषधि खानेलाई दिइने रकम पनि निरन्तरता दिनेछौँ । जस्तै यही पालिकाबाट डाक्टर र इन्जिनियर पढ्न जानेलाई क्रमशः १० लाख र ३ लाख रूपैयाँ दिनेछौँ । यहाँको पाँचवटै वडालाई पर्यटन क्षेत्रको पहिचान गरेर हिजो भएकालाई विकास गर्ने र यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई पाँच दिन बस्ने वातावरण बनाएर पर्यटन क्षेत्र अगाडि बढाउनेछौँ । कृषि र पशुपालनमा आत्मनिर्भर हुने गरी अनुदानको व्यवस्था हुनेछ । त्यस्तै युवालक्षित कार्यक्रममा सिलाइबुनाइ, कफी बनाउने तालिम, प्लम्बिङ, मोबाइल रिपेरिङ, ड्राइभिङ तालिमलगायत कार्यक्रम अघि बढाउँदै यहाँका स्थानीयलाई रोजगारको व्यवस्था हुनेछ ।

अघिल्लो चुनावमा मतदातासामु गरिएको वाचा कति पूरा गर्नुभयो ?
यो पाँच वर्षको बीचमा यहाँ धेरै काम पूरा भएका छन् भने कतिपय काम अधुरो नै छ । अघिल्लो चुनावमा जनता सामू गरेको अधिकांश काम पूरा भएका छन् । तर तातोपानी नाक खोल्ने विषय भने पूरा हुन सकेन । यो केन्द्रीय सरकारसँग जोडिएको विषय हो । हामीले समन्वय मात्रै गर्ने हो । दुवै देशको केन्द्रीय सरकारसँग छलफल गर्ने वातावरण बनायौँ । यहाँ पहिचान भएका पर्यटकीयस्थल व्यवस्थित गर्‍यौँ । युवा लक्षित कार्यक्रम सुरु भइसकेको छ भने कालो तार बिछ्याउने काम पनि सुरुवात भइसकेको छ । काठको पोल हटाउने काम पनि अन्तिम बिन्दुमा पुगेको छ । त्यस्तै प्रत्येक वडामा सडक विस्तार भएर ग्राभेल भइसकेको छ । अब त्यसलाई व्यवस्थित गरे कालेपत्रे गर्नेछौँ ।

पाँच वर्षअघि पालिकामा के-के समस्या थिए ?
यहाँको ग्रामीण भेगमा पहिलो त बाटोकै समस्या हो । हिउँदमा बस सञ्चालन हुन सक्ने र वर्षामा बस सञ्चालन हुन नसक्ने समस्या छ । पहाडी भेग भएकाले पहिरोको निकै समस्या छ । वर्षायाममा बाढीको पनि उस्तै समस्या छ । पहिला यहाँ स्वास्थ्यको समस्या थियो । म निर्वाचित भएर आइसकेपछि स्वास्थ्य इकाइहरू गठन गरेर जनतालाई सहज भएको छ । अब ती स्वास्थ्य इकाइहरूलाई व्यवस्थित गर्ने काम बाँकी छ । त्यसलाई पनि प्राथमितामा राखेर अगाडि बढेको छु । यहाँको समग्र समस्या भनेको नै बाटो चुस्त-दुरुस्त र राम्रो हुनुपर्‍यो । पछिल्लो समय इन्टरनेटको समस्या छ । फोनको टावरहरू बेला-बेलामा आउने जाने समस्या छन् । यहाँ खासै उब्जनी हुने जग्गा-जमिन छैन । धेरै मेहनत गर्दा पनि थोरै उब्जनी हुन्छ । यो गाउँपालिका आलुको पकेट क्षेत्र बनाउने सकिने ठाउँ हो । त्यसलाई बजार व्यवस्थापन गर्ने र भोटेकोशीकै नाममा अर्गानिक प्याकिङ गरेर पठाउने र यहाँको सहकारीहरूसँग सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।

गाउँमा कस्तो विकास चाहने रहेछन् ?
पहिलो कुरा त रोजगार नै भयो । र दोस्रो कुरा सडक राम्रो भइदिए हुन्थ्यो भन्‍ने छ । यहाँ उब्जनी त्यति नहुने भएकाले पर्यटकीय क्षेत्र विस्तार गर्न पाए आम्दानी हुन्थ्यो भन्‍ने छ ।

चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ? जित्ने आधार के के हुन् ?
मैले ५ वर्ष काम गर्दैगर्दा समृद्ध गाउँपालिकाको खाका कोरेर म यहाँ आएको थिएँ । म निर्वाचित भइसकेपछि कुनै सेवासुविधा लिन्‍न भनेको थिएँ । सेवासुविधा बापत आएको पैसाले यहाँको विद्यालयमा छात्रावृत्ति दिएँ । कोभिड-१९कै बेलामा पनि भोटेकोशीमा फ्रन्टलाइनमा काम गर्ने सबै कर्मचारीहरूलाई व्यक्तिगत खर्चमा बीमा गरिदिएँ । दीर्घरोगीलाई वार्षिक २५ हजार रूपैयाँ दिने थिति बसालेँ । अब जितेँ भने दीर्घरोगीलाई वार्षिक ४० हजार रूपैयाँ दिने थिति बसाल्छु । पशुमा भन्‍ने हो भने पशु बीमाको सुरुवात गरेको छु । र, पर्यटकीय क्षेत्र विस्तार गरेर समग्र भोटेकोशीको विकास गर्नुपर्छ भन्‍ने मेरो मान्यता हो ।

फेरि तपाईंलाई नै किन मत दिने ?
म युवा हुँ । मसँग जोस-जाँगर छ र केही गर्न सक्ने क्षमता पनि छ । भोटेकोशी गाउँपालिकाका जनताको हकहितबारेमा काम गर्ने भएकाले यो पटक पनि मलाई जिताउनुहुनेछ भन्‍नेमा ढुक्क छु । सरकारले दिएको सेवा सुविधा नलिएर यहाँकै विद्यार्थीलाई छात्रवृत्ति दिएको, यहाँकै विपन्‍न परिवारलाई सहयोग गरेको यहाँका जनताले देखेका छन् । यहाँको जनताले म कस्तो मान्छे हो भन्‍ने कुरा राम्रोसँग बुझेका छन् । मैले गरेका काम र मैले गरेको सहयोग भुल्ने छैनन् भन्‍ने मैले बुझेको छु । विकासका कामहरू सहज ढंगले गरेको देखेका छन् । यहाँका जनतालाई दुःख पर्दा म सधैँ साथमा थिएँ र फेरि पनि हुनेछु । जनतालाई दुःख पर्दा घरदैलोमा पुगेको छु । उहाँहरूको दुःख मैले बुझेको छु । म सधैँ यहाँको जनताको साथी हुँ, मैले पाँच वर्ष कार्यकाल पनि यहाँको जनतासँग घुलमिल भएर बिताएँ ।

छिमेकी देश चीनसँग नाका जोडिएको पालिका छ । २०७२ सालको भूकम्पदेखि बन्द भएको नाका अझै सुचारु भएको छैन । सयौंको रोजीरोटी खोसिएको छ । तपाईं त्यहाँको ‘स्थानीय सरकार’ भएको नाताले के भन्छन् स्थानीय ?
नाका बन्द भएपछि यहाँको जनताको रोजीरोटी खोसिएको छ । यहाँको जनताको माग नै हामी स्थानीय सरकारसँग पनि के छ भने- नाका पूर्ण रूपले खोल्न पाए हामी सहज ढंगले काम गर्न पाउँथ्यौँ र विदेशिनु पर्दैन भन्‍ने छ । यसमा गाउँपालिकाले संघीय सरकार र चिनियाँ दूतावाससँग समन्वय गरिरहेको छ । तातोपानी नाका खोल्नपर्छ भनेर हामी जोडदार ढंगले लागिरहेका छौँ ।

र यो पनि


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x