वार्ता

गठबन्धनले कांग्रेस नै कमजोर हुन्छ, आफूलाई परीक्षण गर्न डराउनुहुन्‍न

दुर्गा आचार्य |
चैत १४, २०७८ सोमबार १४:३ बजे

स्थानीय तहको निर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन गर्ने/नगर्ने विषय कांग्रेसभित्र दुईथरि मत छ । कोही पक्षमा छन्, कोही विपक्षमा । कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम गठबन्धन गर्न नहुने पक्षमा छिन् । भन्छिन्, ‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले जनमत र प्रतिस्पर्धासँग डराउनु हुन्न ।’ चुनाव र गठबन्धनका सवालमा केन्द्रित रहेर इकागजकर्मी दुर्गा आचार्यले गौतमसँग गरेको कुराकानी :
 
तपाईंहरू गठबन्धनको विपक्षमा किन हुनुभयो ?
गठबन्धन पार्टीभित्रको आवश्यकता होइन । पार्टीभित्रको एकता महत्वपूर्ण हो । पार्टीभित्रका सम्पूर्ण साथीहरूलाई एक बनाएर लग्न सकियो भने यो बेलामा कांग्रेस नै ठूलो शक्ति हो ।

के कारण विपक्षमा हुनुभयो ?
गठबन्धन गर्दै जाँदा पार्टीभित्रको विचार र सिद्धान्त मर्दै जान्छ । गठबन्धनभन्दा वर्तमान अवस्थामा कांग्रेसले आफ्नो छुट्टै शक्ति देखाउनुपर्छ । छुट्टै शक्ति हो भन्ने कुरा स्थापित गर्नुपर्छ । यदि, गठबन्धन नै गर्नुपरे पनि स्थानीय धरातल र मतभारको अवस्था हेरेर गठबन्धन गर्नुपर्छ त्यो पनि अवस्था आइपर्‍यो भने मात्रै । कांग्रेसका निम्ति सकेसम्म त्यो अवस्था आइपर्नु हुँदैन ।


कांग्रेस सभापति शेरबहादुर देउवा कम्युनिष्टबीचै एकता होला कि भनेर तर्सिनुभएको छ, तपाईंहरूले एमालेलाई कम आँक्नुभएको हो ?
हामी पार्टी र जनमत बुझ्न जिल्ला, जिल्ला गयौँ । जिल्लाका नेता कार्यकर्ताको विचार बुझेका छौँ । उहाँहरू कोही पनि गठबन्धनको पक्षमा नै हुनुहुन्न । सभापति देउवा गठबन्धन सरकारमा भएको हुँदा उहाँलाई नैतिक दबाब पनि होला । उहाँसँग गठबन्धनका नेताहरू जोडिएकाले पनि त्यस्तो कुरा गर्नुभएको हुनसक्छ । तर, हामीले हेर्दा गठबन्धनभन्दा कांग्रेस नै अहिले देशमा बलियो शक्तिको रूपमा अगाडि बढ्नुपर्छ । एउटा सैद्धान्तिक विचारका लागि पनि कांग्रेसले आफ्नो विचार र सिद्धान्तलाई लिएर जनतासमक्ष जानुपर्छ । हाम्रो विचार, सिद्धान्तमा जनता कति आकर्षित छन् भन्ने कुरा पनि परीक्षण हुन्छ । त्यसैले निर्वाचन एउटा अवसर पनि हो । र परीक्षण पनि हो । हामीले आफूलाई परीक्षण गर्न  डराउनुहुन्न । गठबन्धन भन्दा पनि हामी छुट्टै लड्नुपर्छ, सिंगल लड्नुपर्छ भन्ने कुरा हो । 

०७४ सालमा जस्तो कम्युनिष्ट एकता भयो भने कांग्रेसको हालत के हुन्छ ?
त्यो कुरा पनि छ, हो पनि, त्यसमा सत्यता पनि छ । तर, खुम्चिनु भन्दा पनि हामीले आफूलाई बढाउनेतिर लाग्नुपर्छ । कांग्रेसले अरुको सिद्धान्तका निम्ति मत माग्दै जनतामा जानु हुँदैन । हामी हाम्रै सिद्धान्तसहित जनतामा जानुपर्यो । जनताको मन जित्ने काम गर्नुपर्यो । कार्यकर्ताहरू पार्टीमा हुनसक्छन् । पुरै जनता पार्टीमा हुँदैनन् नि । गुण र दोषको आधारमा जनताले मत दिने हो । हामीले जनताले हामीलाई चुन्ने अवस्था÷वातावरण निर्माण गर्नुपर्छ । 

गठबन्धनमा आवद्ध माओवादी र एकीकृत समाजवादीसँग मतभार छैन भन्ने तपाईहरूको आँकलन हो ?

कसको मतभार छ/छैन भन्दा पनि कांग्रेस छुट्टै शक्ति हो । त्यसकारण छुट्टै लड्नुपर्छ भन्ने हाम्रो भनाइ हो । तर पार्टी सभापतिलगायत उहाँका नजिकका नेताहरू गठबन्धनको पक्षमा हुनुहुन्छ । गठबन्धनका नेताहरूसँग पनि उहाँहरूको वार्ता भइरहेको छ । नैतिक रुपमा उहाँहरूको अनुरोधहरूलाई लत्याउन मिल्दैन भन्ने पनि उहाँहरूको बाध्यता होला  ?

गठबन्धन गर्दा तपाईहरूले अवसर नपाउने देखेर विरोध गर्‍या हो कि ?

प्रत्येक पार्टीका नेताहरू आ–आफ्नो तह र तप्कामा काम गरिरहेका छन् । उनीहरूले आफ्नै किसिमको धरातल बनाइरहेका हुन्छन् । जस्तै वडाध्यक्ष लड्ने नेताहरूले दुई चार/जना मानिस साथमा लिएर संगठन र पार्टीको सिद्धान्तलाई ध्यानमा राखेर आफ्नो काम गरिरहेको हुन्छन् । आफ्नो तयारी गरिराखेका हुन्छन् । गठबन्धनका कारण त्यहाँका साथीभाई विस्थापित हुनुपर्‍यो भने त्यहाँ किन संगठन गर्ने ? किन पार्टीको काममा खट्ने ? भन्ने लाग्न सक्छ । हामीले काम, संगठन गर्दागर्दै त हामीले भाग पाउँदैनौँ । अर्को पार्टीलाई छाड्नुपर्छ भने किन संगठन गर्ने भनेर निराशा पैदा हुन सक्छ । त्यसले कांग्रेस नै कमजोर हुने हो । काम गर्ने एउटा पद लिने जिताउनुपर्ने अर्को पार्टीलाई भयो भने ती साथीहरूको मन दुख्छ । त्यसैले छुट्टै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । तर अलि–अलि मिलाएर नेतृत्व मैले नै पाउँछु भन्ने साथीहरू गठबन्धन गर्नुपर्छ भन्नुहुन्छ । त्यसैले कांगेसभित्रकै साथीहरूको पनि फरक फरक मत छ ।
 


Author

थप समाचार
x