वार्ता

एमाले बलियो पार्टी हो भनेर प्रधानमन्त्री देउवाले नै स्वीकार गरिसक्नु भएको छ

अनिष भट्टराई |
फागुन २८, २०७८ शनिवार १४:३० बजे

नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा ५० प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी गर्छन् । आसन्न निर्वाचनलाई धकेल्न सत्ता गठबन्धनले निकै प्रयास गरेपनि अन्ततः चौतर्फी दबाबले समयमा निर्वाचन गराउन बाध्य बनाएको उनको टीप्पणी छ । उनले एमालेको नेतृत्वमा पाँच वर्षमा मुलुकले विकास र समृद्धि हासिल गर्ने समेत दाबी गरेका छन् । पार्टी फुट र सरकारबाट अनपेक्षित बहिर्गमनको चोट खेपेकोे नेकपा एमाले अबको चुनावमा तीनै तहमा आफ्नो सरकार बनाउन पुग्ने गरी बहुमत ल्याउने दाबी गरिरहेको छ । यसको आधार, चुनावी तयारी, एमालेले बोक्ने एजेन्डाबारे पार्टी उप–महासचिव ज्ञवालीसँग इकागजका अनिष भट्टराईले गरेको कुराकानीः 

स्थानीय तह निर्वाचनका लागि एमालेको तयारी के छ ? 


हाम्रो तयारी वृहत ढंगले अघि बढिरहेको छ । यसबीच हामीले निर्वाचन आयोगमा दल दर्ता गराएका छौं, उम्मेदवारको मनोनयन दिने अख्तियारी दिन पनि निर्णय गरेर पठाएका छौं । सँगसँगै स्थानीय तह निर्वाचनका लागि राजनीतिक, संगठनात्मक र कानुनी प्रशिक्षण सातैवटा प्रदेशमा गरेका छौं । पालिका कमिटीसँगै जिल्ला–जिल्लामा पनि प्रशिक्षण चलिरहेको छ । नेकपा एमाले आउँदो स्थानीय तह चुनावका लागि तम्तयार भएर बसेको छ । 

नेपाली कांग्रेसले चाहिँ ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान थालेको छ । एमालेले चाहिँ के नारा लिएर गाउँ जान्छ ? 

हामी त अहिले पनि जनताकै घरमा छौं । हामीले सबै स्थानीय कमिटीलाई परिचालन गरेका छौं । केन्द्रबाट जानु पनि जरुरी होला तर स्थानीय तहमै कसरी कमिटी परिचालन हुन्छन् भन्ने हो । हाम्रो वडा, टोल कमिटी छ, उहाँहरू पनि परिचालित हुनुभएको छ । उहाँहरू दिनदिनै जसो जनताका घरमा पुग्नु भएको छ, निर्वाचनको महत्व बुझाउनु भएको छ । जनताका माग र सुझाव संकलन पनि गरिरहनु भएको छ । हामी गाउँ जान, जनताको घलदैलो जान चुनाव नै आउनु पर्छ भन्ने छैन । 

एमालेले उठाउने एजेन्डा चाहिँ के हुन्छन् ? 

प्रमुख रुपमा हाम्रो पार्टीले सरकारमा रहँदा गरेको विकास निर्माण र समृद्धिको अभियान जुन थियो, त्यसमै हामी ‘फोकस्ड’ हुन्छौं । किनकि यत्रो राजनीतिक परिवर्तन पछि जनताले खोजेको जुन डेलिभरी थियो, परिणाम खोजेका थिए, आजको राजनीतिक परिवर्तन पछि त्यो अपेक्षा कमजोर हुन पुगेको छ । त्यसैले हामी सरकारमा हुँदा के गर्यौं, त्यो सबै जनताका बीचमा लैजान्छौं । संविधानको अपव्याख्या र अदालतको प्रयोग गरेर पछिल्लो समय जसरी नेकपा एमालेलाई सरकारबाट बाहिर धकेल्ने काम भयो, त्यसको सत्यता के हो भन्ने हामी जनतालाई बुझाउँछौं । अबको पाँच वर्षमा देश कस्तो बनाउने त भनेर केन्द्रले अवधारणा पत्र सार्वजनिक गर्छ अनि त्यसकै आधारमा स्थानीय तहहरूले आ–आफ्ना घोषणापत्र सार्वजनिक गर्नेछन् । 

तर यहाँहरूलाई गत निर्वाचनमा पाएको जनमतको जगेर्ना गर्न नसकेको आरोप छ , त्यसलाई कसरी चिर्नुहुन्छ ? 

म चाहिँ यस्तो ठान्दिनँ, किनभने हामीले स्थानीय तह निर्वाचनमा ४२ प्रतिशत मत ल्याएका थियौं, एक्लै लडेर । अहिले जनमत बढेको छ । अझ अहिले तराई–मधेशमा एमाले प्रवेशको लहर चलेको छ, यो हाम्रो लागि उपलब्धिमुलक छ । त्यति बेला तराईमा हाम्रो उपस्थिति कमजोर हो, २२ वटा पालिकामा मात्रै हामीले जितेका थियौं । अब चाहिँ हामीले मधेशका आधा पालिकामा जित्ने लक्ष्य लिएर बढेका छौं । देशव्यापी रुपमा अहिले एमालेको लहर छ । प्रधानमन्त्रीले स्वयं एमालेसँग एक्लै लड्न सकिँदैन भन्नुभएको छ, यो नै अब हाम्रो जीतको आधार हो । हामीले मत बढाउँछौं । 

स्थानीय तह निर्वाचन चाहिँ प्रदेश र संघको चुनावका लागि प्रवेश विन्दू मानिन्छ । यसको परिणामले माथिल्ला तहका चुनावमा पनि केही असर पार्छ नै । स्थानीय तह निर्वाचनमा एमालेको अपेक्षा कस्तो छ ? 
हामी कम्तिमा ५० प्रतिशत स्थानमा जीत हासिल गर्नेछौं । मैले अघि नै भनें, हामीले अघिल्लो निर्वाचनमा एक्लै लड्दा पनि ४२ प्रतिशत स्थानमा जितेका थियौं । जबकि त्यो बेला पहिलो पटक स्थानीय सरकारहरू बन्दै थिए, हामीसँग देखाउनलाई धेरै काम थिएनन् । तर अहिले त हाम्रो जनप्रतिनिधिले गर्नुभएका राम्रा काम लिएर जान्छौं, जहाँ हाम्रा जनप्रतिनिधि हुनुहुन्न र काम हुन सकेन, त्यसको पनि डिटेल लिएर जनता कहाँ जान्छौं । 

नेपाली कांग्रेसले एमाले सरकारमा हुँदा भएका कामको ‘भण्डाफोर’ गरेर जाने भनेको छ, एमालेको ‘काउन्टर अट्याक’ के छ ? 

(हाँसो) उहाँहरूले केको भण्डाफोर गर्नुहुन्छ ? चुच्चे नक्साको भण्डाफोर गर्ने हो कि ? धरहरा र रानीपोखरीको भण्डाफोर गर्ने हो कि ? हाम्रो कार्यकालमा पुनर्निमाण भएका ८ लाख घरको भण्डाफोर गर्ने हो कि ? चीनसँग गरिएको पारवहन सम्झौताको भण्डाफोर गर्ने हो ? यसरी जानु भयो भने त हामीलाई झन् हाइसञ्चो हुन्छ किनकि जनताले बुझेका छन् एमालेले गरेका कामहरू । हामी कोही कसैको भण्डाफोर गर्नलाई जाने होइन, हामीले पाएका सफलता र हामीले गर्न बाँकी रहेका काम के–के हुन्, जनतालाई बुझाउने गरेर जान्छौं । तर हामीलाई जसरी बीचमै बाटो छेक्ने काम गरियो, त्यसको आलोचना त गर्छौं नै । हामी कुनै पार्टीको भण्डाफोर गर्ने होइन, हाम्रो विचार र एजेन्डा बोकेर जनता कहाँ जान्छौं । 

एमालेले ठाउँ विशेष कुनै पार्टीसँग चुनावी तालमेल गर्छ कि एक्लै लड्छ ? 

मूलतः हामी राष्ट्रिय स्तरमा एक्लै लड्छौं । तर स्थानीय विशेषता हेरेर, स्थानीय कमिटीले तालमेल गर्न सक्छन् । हामी त्यसको ढोका चाहिँ बन्द गर्दैनौं । तर राष्ट्रिय रुपमा कसैसँग पनि तालमेल हुँदैन । 

भनेको गठबन्धन बाहिर रहेका मधेशवादी दल, राप्रपाहरूसँग पनि तालमेल हुने सम्भावना छैन ? 

गठबन्धनका नेताहरू खासगरी प्रचण्ड र माधव नेपालले गठबन्धन कायम राख्छौं भनेको सुनेको छु । तर नेपाली कांग्रेसका कसैले पनि गठबन्धन राख्नु पर्छ भनेको सुनेको छैन, चुनावसम्म सरकार चलाउन चाहिँ कायम राख्नुपर्छ भनेको सुनेको हुँ । त्यसो भएर उहाँहरू आफैं गठबन्धनलाई चुनावसम्म कसरी लैजानुहुन्छ भन्ने टुंगो छैन । गठबन्धननै भएर चुनाव लड्नु भयो भने पनि एमालेलाई तात्विक रुपमा फरक चाहिँ पर्दैन । किनकि चुनावमा तालमेल गरेर लड्दा आफ्ना नीतिमा सम्झौता गर्नुपर्छ । गठबन्धन नै बनेर लड्दा कांग्रेसले भोलि के भन्छ ? म कतै सुन्छु, हामी कम्युनिस्टका असफलताका आलोचना गर्छौं रे ! प्रचण्ड र माधवलाई छेउमा राखेर कम्युनिस्टको आलोचना गर्दा कसले पत्याउँछ ? प्रचण्ड, माधवहरू कांग्रेसको काँधमा बसेर के भनेर जानुुहुन्छ ? हामी त एक्लै जान्छौं, विचार लिएर जान्छौं । अरु मिल्नु, नमिल्नुले हामीलाई तात्विक फरक पर्दैन । 

भएभरका सबै दलसँग एक्लै चुनाव लडेर हराइदिन्छु भन्ने ‘कन्फिडेन्स’को आधार चाहिँ के हो ? 

हाम्रो पार्टीप्रति जनताको विश्वास नै यसको आधार हो । मैले अघि पनि भनें, सत्ताको नेतृत्व गरेका नेता नै एमालेसँग एक्लै लड्न सकिँदैन भनिरहनु भएको छ । जुन एक किसिमले ‘वाक–ओभर’ दिएको जस्तै हो । त्यति हुँदा पनि जनताको साथ, विश्वास र भरोसा गठबन्धनको ८ महिने कार्यकालमै भोगेको दुर्गति, संकटमा रहेको अर्थतन्त्र र र अस्तव्यस्त अवस्थाले एमालेप्रतिको जनविश्वासलाई झनै बढाएको छ । हामीले गरेका सकारात्मक काम, एमालेमा चलेको प्रवेशको लहर र एकजुट बनेको एमाले नै यसका आधार हुन् । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x