वार्ता

'नाम मात्रै लेखाउन होइन् विद्यार्थीको समस्या समाधानका लागि स्ववियु चुनावमा उठेँ'

इकागज |
चैत १, २०७९ बुधवार १४:१६ बजे

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि हुँदैछ । देशभरका कतिपय क्याम्पसमा स्ववियु निर्वाचन विवादका कारण स्थगित छ । लामो समयदेखि काठमाडौँको नेपाल कमर्श क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन । उक्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । तर यो पटक पनि उक्त क्याम्पसमा पनि स्ववियु निर्वाचन हुँदैछ । यसै विषयमा केन्द्रित रहेर सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बाट स्ववियु सचिवमा उम्मेदवारी दिएका समराज राईलाई सोधेका छौँ- तपाईंको उम्मेदवारी सचिव पदमा नाम लेखाउन मात्रै कि विद्यार्थीको हकहितका लागि काम गर्न ? प्रस्तुत छ राईसँग इकागजले गरेको कुराकानी :

अखिल (क्रान्तिकारी)बाट स्ववियु सभापतिमा उठ्‌दै हुनुहुन्छ भन्‍ने थियो । तर सचिवमा उम्मेदवारी दिनु भएछ नि ।
खास सभापतिमा उठ्‌न हाम्रो संगठनले मलाई नै सर्वसम्मति निर्णय गरेको थियो । तर माउ पार्टी सरकारमा छ । सरकारमा भएपछि गठबन्धनमा भएका दलहरूसँग स्ववियु चुनावमा पनि गठबन्धन गर्ने भन्‍ने कुरा आयो । गठबन्धन गर्दा हाम्रो भागमा सचिव पद आयो । मैले सचिवमै उम्मेदवारी दिएँ ।


भोलि स्ववियुको चुनाव हुँदैछ क्याम्पसमा कस्तो छ चुनावी माहौल ?
नेपाल कमर्श क्याम्पसमा लामो समयदेखि हुन नसकेको स्ववियु चुनावी माहौल तातेको छ । यहाँ हामीले कांग्रेसको नेविसंघ र नेकपा समाजवादीको अनेरास्ववियूसँग तालमेल गरेका छौँ । हामीले संयुक्त प्यानल बनाएर लागि परेका छौँ । हामीले प्रचारप्रसारलाई तिब्रता दिइरहेका छौँ । यो चुनाव विद्यार्थी संगठनलाई मात्रै नभएर आम विद्यार्थीको हकहितका लागि भएर सबै उत्साहित छन् ।

नेपाल कमर्श क्याम्पसमा कहिलेदेखि स्ववियु चुनाव भएको छैन ?
२०६५ सालदेखि स्ववियु चुनाव भएको छैन । लामो समयदेखि चुनाव नभएकाले कलेजदेखि विद्यार्थीसम्म उत्साहित छन् ।

अखिल (क्रान्तिकारी)बाट चुनावी मैदानमा हुनुहुन्छ । तपाईंको क्याम्पसमा विद्यार्थीको समस्या के-के छन् ?
लामो समयदेखि चुनाव नभएकाले विद्यार्थीहरूले क्याम्पस प्रशासनबाट पाउने सेवा सुविधा पाएका छैनन् । कलेजबाट पाउने सेवा सुविधा नभएपछि सबै आक्रोशित त हुने नै भइहाले । समयमा चुनाव नहुनुको बेफाइदा धेरै छन् । नियमित पाउनुपर्ने सेवा सुविधा पाएका छैनन् । क्याम्पस प्रशासन गैरजिम्मेवार ढंगले प्रस्तुत हुने गरेको छ । कतिपय अध्ययन गर्दा फि बुझाउन पनि नसक्‍नेहरू छन्, उनीहरू पनि राम्रोसँग पढ्‌ने वातावरण बनाउनु छ ।

तपाईंको उम्मेदवारी सचिव पदमा नाम लेखाउन मात्रै कि विद्यार्थीको हकहितका लागि पनि काम गर्न ?
म नामको लागि मात्रै चुनावी मैदानमा होमिने मान्छे हुँदै होइन् । केही गर्नुपर्छ भनेरै उम्मेदवारी दिएको हुँ । यसले चैँ केही गर्न सक्छ है भनेर संगठनले पत्याएको हो । मेरो उम्मेदवारी लामो समयदेखि नेपाल कमर्श क्याम्पस अध्ययनरत छु । यहाँको विद्यार्थीको समस्याहरू धेरै छन् । उनीहरूले स्ववियु नभएका कारण समस्याहरू झेल्दै आएका छन् । विद्यार्थीको हकहित, शैक्षिक चेतना अभिवृद्धिका लागि हो । यहाँको क्याम्पस प्रशासनको दादागिरी र यहाँको आर्थिक बेथितिलाई अन्त्य गर्नका लागि नै मैले सचिव पदमा उम्मेदवारी दिएको हुँ । त्यसोत यहाँको आम विद्यार्थीको समस्यालाई मुद्धा बनाएर क्याम्पस प्रशासनलाई झकझकाउँदै आएको छु ।

के-के मुद्धा लिएर चुनावमा होमिँदै हुनुहुन्छ ?
पहिलो कुरा यस क्याम्पस देश वाणिज्य क्याम्पसमध्ये ठूलो क्याम्पस हो । यहाँभित्र धेरै कार्यक्रम छ । जस्तै ब्याजलरमा रेगुलरतर्फ बीबीएस, त्यस्तै सेमेस्टरमा चार वटा अझै कार्यक्रम, मास्टरमा सेमेस्टरमा तीन वटा कार्यक्रम छ । यो व्यवस्थित ढंगले सञ्‍चालन गरेको छैन । मुख्यत यसलाई नै व्यवस्थित ढंगले सञ्‍चालन गर्नु छ । क्याम्पस आर्थिक बेथितिले लिप्त छ । तपाईं हामीले समाचारतिर पनि सुन्दै आएका छौँ । मुख्य त यस्तै बेथिति हटाउनु छ ।

प्रतिस्पर्धी उम्मेद्‌वार र तपाईंमा फरक के ?
सचिव पदमा ९ जनाको उम्मेदवारी छ । विगत लामो समयदेखि यस क्याम्पसको समस्या र मुद्धालाई उठाउँदै कार्यन्वयन गर्दै आएको छु । क्याम्पसबारे केही थाहा नभएका पनि उम्मेदवार छन् । म त वर्षौँदेखि क्याम्पस र यहाँ अध्ययनरत विद्यार्थीहरूको हकहितको लागि लड्‌दै आएको मान्छे हुँ । यहाँको क्याम्पसमा के समस्या छ, विद्यार्थीमा के कस्ता समस्या छन् तिनिहरूलाई हल गर्न सक्‍ने क्षमता मसँग छ । अरु उम्मेदवारसँग मेरो तुलना नगर्दा नै राम्रो होला ।

तपाईंले चुनाव जित्ने आधार के ?
म ९ वर्षदेखि यहाँ अध्ययन गरिरहेको छ । क्याम्पसको समस्याबारे पनि राम्रोसँग ज्ञान छ । क्याम्पसले विद्यार्थीहरूलाई दिने दु:खबारे पनि राम्रोसँग जानकारी छु । नियमित क्याम्पसमा हुने भएकाले यहाँका विद्यार्थी परिचित छु । यसअघि क्याम्पसमै हामीले उठाएको मुद्धाहरूमा यहाँका विद्यार्थीहरूले सहयोग गर्दै आउनु भएको छु । विद्यार्थीको हकहितविरुद्ध कहिले लागेको छैन । उनीहरूको साथमा सधैँ भएपछि चुनावमा मलाई यहाँका विद्यार्थी साथीहरूले धोका दिनु हुने छैन भन्‍ने विश्वास छ ।

यदी चुनाव जित्‍नुभयो कलेज र विद्यार्थीको हकहितमा के-के काम गर्नुहुन्छ ?
देशकै विद्यार्थी संख्याको आधारमा दोस्रो हो हाम्रो क्याम्पस । कार्यक्रमहरू धेरै छन् । यहाँ भर्ना भएको विद्यार्थी संख्या मात्रै १३ हजार बढी छन् । यहाँ देशको ७७ जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आउँछन् । उनीहरूको भविष्यमाथि खेलबाड गर्ने छुट ममाथि छैन् । मुख्यत क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई दिनुपर्ने जुनजुन सुविधा नदिइरहेका छन् त्यो म दिलाएरै छाड्‌छु । क्याम्पसका पनि जति समस्या छन् त्यसलाई समाधान गरेर छाड्‌छु । 


Author

थप समाचार
x