वार्ता

वार्ता

सचिव, महानिर्देशक सबैलाई कठघरामा ल्याउनुपर्छ : क्याप्टेन कुमार पाण्डे

सदिक्षा आचार्य |
माघ २, २०७९ सोमवार १८:४४ बजे

विमान दुर्घटनाको समाचारले यति बेला सारा देशलाई शोकाकुल बनाएको छ । आइतबार बिहान १ ०ः ३० मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना ३० वर्षयताकै सबैभन्दा ठूलो विमान दुर्घटना भएको तथ्याङ्कले देखाउँछ ।

नेपालमा विमान दुर्घटनाको ७८ वर्षको इतिहास हेर्दा हालसम्म ९२२ जनाको मृत्यु भएको छ । यसै विषयमा हामीले क्याप्टेन कुमार पाण्डेसँग विमान दुर्घटनाका कारण खोतल्ने प्रयास गरेका छौँ । प्रस्तुत छ, सिनियर क्याप्टेन कुमार पाण्डेसँग सदिक्षा आचार्यको कुराकानी :


विमान दुर्घटनाको खबर तात्तै छ, तपाईं क्याप्टेन हुँदै गर्दा के–कस्ता समस्या भोग्नुभयो र समाधानका उपाय के–कस्ता थिए ?

२०–२५ वर्ष भयो उडान गरेको । स्वाभाविक कुरा हो, समस्या आउँछ । समाधानका लागि सावधानी त अपनाउनै पर्छ । विमानमा क्याप्टेनको भूमिकामा रहँदै गर्दा मनमा, दिमागमा यस्ता कुराहरू राखेर नै विमानमा उडान भर्ने गर्थें । हामीलाई ट्रेनिङमा नै सावधानीका कुराहरू सिकाइएको हुन्छ । ‘प्रिसेन्स अफ माइन्ड’ हुनुपर्ने हुन्छ । के भएमा के गर्नुपर्छ भनेर दिमागमा राखेर नै उडान गर्नुपर्ने हुन्छ । इन्जिन फेल भयो, कहाँ ल्यान्ड गर्ने भनेर सोच्नुपर्ने हुन्छ । अपर्झट आइपर्ने कुराहरूमा पनि तयार भएर बस्नुपर्ने हुन्छ । निकै तेज हुनुपर्छ, होइन भने ‘डिजास्टर’ निम्तिन्छ । ‘प्राक्टिकल लाइफ’मा यी कुराहरू हामीले सदैव मनमा लिएर हिँड्ने गर्छौँ ।

विमान दुर्घटना हुने, चर्चा हुने अनि सेलाउने विषयलाई तपाईंले के भन्नुहुन्छ ?

यो हामी नेपाली जनतालाई दुर्भाग्यको विषय हो । एकाउन्ट्याविलिटी शून्य छ यो देशमा । जिम्मेवारी कसैले लिँदैन । जहाज दुर्घटनामा मरेका मान्छे, पाइलटहरूलाई दोष लगाइदिन्छन् । छानबिन गरेको जस्तो गर्छन् । रिपोर्ट लुकाउँछन् । सधैँजसो दुर्घटना भएको छ । तर, दीर्घकालीन समाधान केही छैन । सम्बन्धित संस्थाहरूले सोच्ने र तत्काल काम गर्ने बेला आएको छ । महानिर्देशकहरू सरकारको तलब खाएर बसेका छन् । जनताले तिरेको करबाटै तलब खाएर बसेका छन् । असम्बन्धित व्यक्तिहरू आएर यसो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ भन्छन् । हावादारीहरू शासक भएको देशमा यस्तै होला सायद । सचिव, महानिर्देशक सबैलाई कठघरामा ल्याउनुपर्छ । जवाफ माग्नुपर्छ ।

नेपालमा एयरक्राफ्टको मेन्टिनेन्स कसरी गरेको छ भन्ने कुरा नै डरलाग्दो छ । पहिलेको तुलनामा केही सुधार त भएको होला, तर हुनुपर्ने मात्रामा भएको छैन ।

एयरक्राफ्टको मेन्टिनेन्स भएको छ/छैन कहिल्यै जाँच गर्दैनन् । कुनै मापदण्ड राखेर जाँच गरेको देखिँदैन । जाँच गर्दा तल–माथि देखिएमा पैसा खाएर छोड्छन् । यो दुर्भाग्य हो ।

कुन–कुन फिल्डको कुरा गर्नुहुन्छ ? सबैतिर सिन्डिकेट छ । कसरी भत्काउने ? अझै पनि राम्रो, बुलन्द समिति बनाएका छैनन् । समितिमा पनि आफ्नै मान्छेहरू राखेका छन् । भोलि ती व्यक्तिहरूले रिपोर्ट जे जस्तो आए पनि, सत्यतथ्य नै आए पनि लुकाएर पाइलटलाई दोष लगाइदिन्छ । खत्तम छ । 

नियमनका विषयमा के भन्नुहुन्छ ?

एउटा पाइलटले प्रोफेसनल फ्लाइट गरेको छ कि छैन भनेर जाँच्नुपर्छ । एयरलाइन्स कम्पनीले पाइलटको प्रोफाइल बनाउन लगाउनुपर्छ । सिस्टम बसाल्नुपर्छ । तब मात्रै पाइलट सचेत हुन्छन् । यहाँ कुनै सिस्टम छैन । सिनियरले बोलिदिन्छ अनि पुग्ने रहेछ ।  व्यक्ति ‘क्वालिफाइड’ छ कि छैन ? क्याप्टेन हुनका लागि के–कस्ता कुरा पुग्नुपर्ने हो, थाहै छैन । अहिलेको विमान दुर्घटनाको विषयमा  पनि त्यहाँ अपरेसन डाइरेक्टरको केही गडबडी हुन सक्छ । प्रेसर दिएर रुट चेक गर्न पठाएको जबर्जस्ती, यसरी गराउँछन् काम अनि नियमनका कुरा गरेर के अर्थ ?

नागरिक उड्डयनले यस्ता कुरामा नियमन गर्नैपर्छ । व्यक्ति सक्षम छ कि छैन ? फिल्डमा गएर ल्यान्ड गर्न सक्छ कि सक्दैन ? एयरलाइन्सलाई खुलेयाम छाड्नु हुँदैन । तेल बचाउन सटकट मार्ग लिने गर्छन् । हिजोको टर्निङ हेर्नुभयो, कस्तो छ ? त्यसरी टर्न गर्न हुँदैन  । 

के–कस्ता काम गर्दा दुर्घटना कम होला ?

अनुगमन गर्ने प्रणाली यथाशीघ्र बसाल्नै पर्छ । सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्छ, नत्र ऊ पनि भ्रष्टाचारी भएर निस्कन्छ । कडा, आत्मनिर्भर, बाहिरतिरका एभिएसन विज्ञलाई ल्याएर टिम बनाएर छड्के जानुपर्छ । उसले कसरी उडान गरेको छ । एयरलाइन्सले मेन्टेन गरेर राखेको छ कि छैन ? यस्ता कुराहरू जोडदार रुपमा, विश्वसनीय तरिकाले कुनै किसिमको भ्रष्टाचार नहुने टिम बनाउनैपर्छ । किन भने यो त संसारमा चलेको चलन हो । 

इन्डियामा ‘सिभिल एभिएसन’मा विज्ञहरू राखेको छ । उनीहरू बेलाबेलामा छड्के जान्छन् । उडिरहेको ठाँउमा लाइसेन्स परीक्षण गर्छन् । लाइसेन्स रिन्यू गरेको छ वा छैन हेर्छन् । पाइलटले प्रशिक्षण लिएको छ कि छैन, बुझ्छन् । यी–यी सर्तमा उड्न योग्य छ कि छैन भनेर जाँच गरेको हुन्छ । मैले १६–१७ हजार घण्टाको उडान गरिसकेको छु । त्यो भन्दै गर्दा दुर्घटना नै हुँदैन भनेको होइन । हुन्छ कहिलेकाहीँ तर हिजोको दुर्घटना अपत्यारिलो छ । हाम्रो देशका लागि यो अत्यन्तै दुर्भाग्य हो ।

इयूले नै हाम्रा एयरलाइन्स ‘ब्यान्ड’ गरेको छ । के कारण होला ?

मुख्य कुरा एयरक्राफ्टको मेन्टिनेन्स हो । नेपालमा एयरक्राफ्टको मेन्टिनेन्स कसरी गरेको छ भन्ने कुरा नै डरलाग्दो छ । पहिलेको तुलनामा केही सुधार त भएको होला, तर हुनुपर्ने मात्रामा भएको छैन । नेपालमा जहाज नउडाएको १५–१६ वर्ष भयो । मैले इन्डियामा उडाउँथे । कुरा बुझ्दा अहिले पनि लापरबाही छ । 
पाइलटहरूलाई अनुशासनमा राख्नुपर्छ । आन्तरिक उडानमा पनि इन्टरनेसनल फ्लाइटमा जस्तै बनाएमा यात्रुलाई असहज हुँदैन । स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडिउर हुन्छ त्यो पनि छैन । केही नगरेरै थानकोटबाट हुइँक्याएको छ, सटकट बनाएर । कोटेश्वरमाथि आएर राइट र लेफ्ट टर्न गर्छन् । कति आत्तिन्छन् होला प्यासेन्जर त्यो ध्यानै छैन । धेरै कुरा छन् । डेलिगेसन नै जानुपर्छ । 

टुरिजमलाई यसले के कस्तो असर पार्ला ?

यो फ्याक्ट कुरा हो । एभिएसन एक्सपर्टले सोच्नुपर्ने विषयमा सर्वसाधारणले सोच्नुपर्या छ । भत्ता खान्छन् । तर देशका लागि खै त सोचेको ? पोखरा एयरपोर्ट खत्तम भयो । 

इन्भेस्टमेन्ट हेर्नुहोस् त । ब्रेक इभन हुनलाई एक करोड पैसा उठाउनुपर्ने अवस्था छ । भोलि कुनै पनि इन्टरनेसनल फ्लाइट आउँदैनन् डरले । ध्वस्त पारेका छन् । सिधै पर्यटनमा असर पर्ने कुरा हो यो । लज्जास्पद छ ।


Author

थप समाचार
x