वार्ता

डा. गोविन्द केसी मलाई आफू सँगसँगै हिँड्ने छोरी भन्नुहुन्छ

सदिक्षा आचार्य |
कात्तिक २२, २०७९ मगलवार १८:२५ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर—३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्की पाटन हस्पिटलमा जनरल सर्जन थिइन् । शरीरको चिरफार गर्दागर्दै उनलाई समाज÷राजनीतिको रोगले झनै चिन्तित बनायो र उनी राजनीतिमा होमिइन् । निर्वाचन आयोगले कार्कीको उम्मेदवारीमा प्रश्न उठाएपछि उनी सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । सर्वोच्चले निर्वाचन आयोगलाई ‘कारण देखाऊ’सहित अन्तरिम आदेश जारी गरेको थियो । उक्त समाचार मिडियादेखि सोसल मिडियासम्म प्रशस्तै छायो । यसले कार्कीलाई मतदाताहरूबीच चिनिन फाइदा नै भयो । 

आफ्नो क्षेत्रभित्र पर्ने जावलाखेलमा सोमबार अपराह्न चार बजेतिर उनी घरदैलोमा हिँडिरहेको भेटिइन् । मतदाताले घेरिएकी उनी इकागजका केही प्रश्नले पनि घेरिएकी छिन् । निर्वाचनमा सफल हुनेमा विश्वस्त देखिएकी कार्कीसँग उनको उम्मेदवारीका केन्द्रमा राजनीतिप्रतिको आकर्षणदेखि चुनावी वाचासम्मका प्रश्न गरेकी छन्, सदिक्षा आचार्यले । तपाईंको सुविधा र रुचिअनुसार यो कुराकानी पढ्नुहोस्-हेर्नुहोस् : 


शरीर चिरफार गर्दागर्दै समाज र राजनीतिमा लागेको रोग नै चिरफार गर्न खोजिरहनुभएको छ, सक्नुहुन्छ ? 

सक्छु भनेरै नै आएकी छु । सक्छु । चिरफार गर्नका लागि राजनीति कस्तो हुन्छ बुझेको हुनुपर्छ । जसरी बिरामीको शल्यक्रिया गर्न रोग के हो भनेर थाहा पाउनु जरूरी हुन्छ, जड कहाँ छ, जरा कहाँ छ थाहा पाउनपर्छ । कति नम्बरको ब्लेड प्रयोग गर्ने ? रगत धेरै बगेमा कति रगत चढाउने ? कुन औषधि दिने ? बिरामीलाई कस्तो सर–सल्लाह दिने ? यो सबै सर्जनलाई थाहा हुन्छ । त्यस्तै राजनीति कस्तो हुनुपर्छ भनेर असल राजनीतिज्ञलाई थाहा हुन्छ । 

इमानदार व्यक्ति नै असल राजनीतिज्ञ हो । जसले ठग्न जानेको हुँदैन । जोसँग जोस छ, उमेर छ जो अब्बल छ, जोसँग योग्यता छ, क्षमता छ । म नेता होइन, प्रतिनिधि हुँ, सेवक हुँ भन्ने भावना भएका व्यक्तिहरू असल राजनीतिज्ञ हुन् । 

राजनीतिज्ञले समस्यालाई समाधानसँग जोड्न जानेको हुनुपर्छ । जनतालाई सरकारसँग जोड्न जानेको व्यक्ति नै असल राजनीतिज्ञ हो । हाम्रो देशमा असल राजनीतिज्ञ नभएको अवस्था छ । संसद् भवनमा यदि अधिकांश व्यक्तिहरू असल राजनीतिज्ञ भएको भए म राजनीतिमा आउने थिइनँ, आउनै पर्दैन थियो । त्यसैले म राजनीतिको शल्यक्रिया गर्न सक्षम छु ।

राजनीतिज्ञ इमानदार हुनुपर्छ भन्नुभयो, इमानदारी कसरी जाँच्ने ? जनताले तपाईंलाई किन जिताउने ? 

जनतालाई परिवर्तन चाहिएको छ भने परिवर्तन गर्न आँट गर्ने व्यक्तिलाई जिताउनुपर्छ । युवा देशभित्रै बसोस्, देशभित्रै रोजगार प्राप्त गरोस् । बाबाआमा वृद्ध हुँदै गर्दा आफ्ना छोराछोरी यहीँ बसून् भन्ने चाहनुहुन्छ भने देशभित्रकै चेलीलाई जिताउनुपर्छ । म सदैव संसद्मा जायज मुद्दामा बुलन्द आवाज उठाउनेछु । 
महिला सशक्तीकरणका मुद्दा उठाउन, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच हरेक जनमानसमा पु¥याउनका लागि र समस्याको समाधान निकाल्नका लागि म जस्तो युवालाई जिताउनुपर्छ । 

निर्वाचन आयोगले तपाईंको उम्मेदवारीलाई विवादमा तानेर तपाईंको चर्चा चुलीमा पुर्याएको छ । निर्वाचन आयोगमा तपाईंको को मान्छे छ, जसले तपाईंलाई बारम्बार चर्चाको शिखरमा पुर्याउने गर्छ ? 

म उजुरीकर्ता, निर्वाचन आयोग, सम्मानित सर्वोच्च अदालत, सम्पूर्ण ललितपुरबासीहरूलाई धन्यवाद दिन्छु । कृतज्ञ छु । निर्वाचन आयोगमा मेरो कोही मान्छे छैन तर निर्वाचन आयोग पटकपटक मेरो उम्मेदवारीको पछि किन परेको छ, म आफैँ अनभिज्ञ छु । परिवर्तनको पक्षमा उभिन आँट गर्ने पंक्ति हौँ हामी । आफ्नै क्षमताले चुनावमा उठेका हौँ । कसैको पद, पैसा प्रभावमा परेर उम्मेदवारी दिएको होइन ।

निर्वाचन आयोग-अदालत पहिलेको तोसिमा र अहिलेका तोसिमामा के फरक छ ? 

म फेरिएको छैन । मेरो हातमा नागरिकता परेदेखि म मेरा उद्देश्य, एजेन्डाको खुड्किलो उक्लँदै गएको छु । आधार नै नभएको कुरालाई लाभको पद भनेर पहिले मेरो उम्मेदवारी खारेज गरियो । मैले रिट हालेर पछि सर्वोच्चले निर्वाचन आयोगलाई कारण देखाऊ भन्दै अन्तरिम आदेश जारी गर्यो । मलाई त मैदानबाट निकालेका हुन्, म लडेर आएकी हुँ । मेरो साथमा ललितपुरबासीहरू उभिनुभयो । देशमा परिवर्तन चाहने हरेक मेरो पक्षमा उभिनुभयो र सम्भव भएको हो । उहाँहरूकै हिम्मतले गर्दा एक चरणको लडाइँ जितेर आएकी छु । मलाई हटाएरै छाड्छु भनेर निर्वाचन आयोग लागिपरेको छ ।

तपाईंको क्षेत्रमा पम्फा भुसाल त मन्त्री नै हुनुहुन्छ । ठूलाठूला पुराना पार्टीका उम्मेदवार पनि छन् । तपाईं नयाँ पार्टी, नयाँ उम्मेदवार, विश्वास कमाउनुहुन्छ यति छिटो ? 

उहाँहरूको विषयमा मलाई धेरै भन्नु छैन । जनताले हेरिरहेका छन् । मेरो क्षेत्रमा जोस, जाँगर भएकी बहिनी पनि रहिछिन् भनेर अब उहाँहरूले मलाई पालो दिनुपर्छ । म सक्षम छु, बहिनीलाई यसपटक साथ दिनुहोस् भन्न चाहन्छु । 

डाक्टर भएको हुनाले स्वास्थ्य क्षेत्रका समस्याबारे त जानकार नै हुनुहोला । डा. गोविन्द केसीको सत्याग्रह अभियानबारे के भन्नुहुन्छ ? 

डा. गोविन्द केसी मलाई आफू सँगसँगै हिँड्ने छोरी डा. तोसिमा कार्की भन्नुहुन्छ । म उहाँका हरेक अभियानमा सँगसँगै छु । उहाँको अगुवाइमा मैले नेतृत्व गरेको पनि छु । उहाँका मुद्दाहरूमा हरेक पटक वकालत गरेको छु । पाँच वर्ष अगाडि प्रधानमन्त्रीज्यूलाई पनि प्रश्न राखेकी थिएँ । सरकार र डा. गोविन्द केसीबीच वार्ता हुने मध्यस्तकर्ताको भूमिका निभाएको छु । उहाँका मुद्दा मेरा एजेन्डाहरूमा समेटेकी छु । 
उहाँसँग २९औँ पटकसम्म भएका सम्झौताहरू लागू हुनुपर्छ । ३०औँ पटक अनशन बस्नपर्ने अवस्था सिर्जना नहोस् । सत्याग्रहको शृंखला सुरू नै हुन नपाओस्, त्यसका लागि पनि मेरो उम्मेदवारी हो ।

तपाईंको प्रतिबद्धता एक, दुई, तिन... भनेर भनिदिनुहोस् ।

मेरो प्रतिबद्धता इमानदारी, जनताप्रतिको सेवा, संसद् भवनमा राजनीतिको सही परिभाषा स्थापित गराउने हो । 

 


Author

थप समाचार
x