वार्ता

उम्मेदवार उवाच

‘नो, नट अगेन’ अभियान तर्कसंगत र न्यायोचित छैन

हरिबहादुर थापा |
कात्तिक १६, २०७९ बुधबार १७:१३ बजे

चुनावी चटारोमा व्यस्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राम्रो बहुमतसहित गठबन्धन दलले पाँच वर्ष सरकार चलाउने विश्वास व्यक्त गर्छन् । अनि आफ्नो पार्टी माओवादी केन्द्र दोस्रो नभए पनि निर्णायक तेस्रो शक्ति बन्नेमा ढुुक्क देखिन्छन् । अघिल्लो चोटि वाम गठबन्धनमा रमेका र बीचैमा तोडिएपछि बाहिरिएका दाहाल कांग्रेससँगको गठबन्धन लामै जाने दृढता पोख्छन् । तर, घरिघरि उनै अनुहार दोहोरिने प्रवृत्तिविरुद्ध सामाजिक सञ्जालमा चलेको ‘नो, नट अगेन’लाई अर्थहीन ठान्छन् । भन्छन्, ‘नो, नट अगेन’ भन्नुको अर्थ त अनुभव नभएका, कुनै योगदान नभएका, अलि ‘सुपरफिसियल’ खोज्नु हो । तिनबाट देश र समाज चल्छ र ? राज्य चल्छ त ? त्यो असाध्यै ‘चाइल्डिस्’ (केटौले) भयो जस्तो लाग्छ ।’ चुनावी माहौल, गठबन्धनको भविष्य र चुनावी लहरका सवालमा हरिबहादुर थापाले गरेको कुराकानी : 
 

तपाईं चुनावमा होमिनु भएको छ, तपाईंको पार्टीले कस्तो परिणाम ल्याउँछ भन्ने आँकलन गर्नुभएको छ ?


हामी चुनाव लडिरहँदा मेरो कोसिस चाहिँ देशको दोस्रो पार्टी हुन्छ भन्नेमा छ । सबै परिस्थिति भने अनुरूप भयो भने दोस्रो हुन पनि सक्छ । यदि दोस्रो भएन भने पनि निर्णायक तेस्रो शक्ति हुनेमा फरक नै पर्दैन । अघिल्लो चोटि वाम गठबन्धन हामी ६७ सिटमा प्रत्यक्ष चुनाव लडेका थियौं । यसपालि हामीले पाएका ४६ सिट र त्यसमा पनि छाड्दै जाँदा ४२–४३ मा आएका छौं । त्यस हिसाबले संख्या अलिकति तलमाथि हुुन सक्छ । तर, समग्र देशको परिस्थिति हेर्दा पहिला भन्दा राम्रो हुन्छ विश्वास लिएको छु ।

माओवादी २०६४ मा चुनाव लड्दा पहिलो पार्टी भएको थियो, तर अब लक्ष्य घट्दै जानुको कारण चाहिँ के हो ?

रणनीतिक हिसाबले पछिका चुनावमा माओवादीलाई पहिलो पार्टी नै बनाउने लक्ष्यका साथ काम गर्दैछौं । त्यो अर्काे पाँच वर्षपछि पहिलो पार्टी होला । तर, यही चुनावमा त्यस्तो सम्भावना किन छैन भने कुनै पार्टीले एक्लै चुनाव लड्ने आँट गरेका छैनन् । त्यसको मुख्य कारण छ, संविधान । संविधानमा हामीले मिश्रित चुनाव प्रणाली लागू गरेका छौं, यो प्रणालीअन्तर्गत एउटै पार्टीले बहुमत ल्याउने सम्भावना अपवादमा बाहेक सम्भव देखिँदैन ।

एक्लै चुनाव लड्दा कसैको पनि बहुमत आउने स्थिति छैन । त्यसो भएको हुँदा पनि गठबन्धन बनाउनुपर्ने आवश्यकता संविधानको निर्वाचन प्रणालीका कारणले पैदा भएको हो । हामीले अघिल्लो चोटि वाम गठबन्धनमा चुनाव लड्यौं, कांग्रेसले पनि अरु दलहरूसँग तालमेल गरेको थियो । यतिखेर हामीले संविधान, लोकतन्त्रको रक्षाको उद्देश्य राखेर एउटा गठबन्धन बनाएका छौं भने अर्कातिर अर्काे पनि गठबन्धन बनेको छ । त्यो गठबन्धनमा हिजोका राजावादीदेखि अनेकन्वादीहरू मिलेर एमालेले पनि गठबन्धन नै बनाएको छ । तपाईंहरूले अनुहार नै हेर्नुहुन्छ भने कस्ता अनुहार त्यतातिर छन्, कस्ता अनुहार यतातिर छन्, बुझिहाल्नु हुन्छ । 

कस्ता त्यता छन्, कस्ता यता छन् त ?

बाह्र बुँदे सम्झौता, विस्तृत शान्ति–सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रका नेतृत्वकर्ताहरू यो गठबन्धनमा छन् । अनि त्यसमाथि शंका गर्ने, विरोध गर्ने, पहिलाकै राजसंस्था फिर्ता ल्याउनुपर्छ भन्नेहरू उतातिर छन् । 

अघिल्लो वाम गठबन्धन तोडमोड भए झैँ यो गठबन्धन पनि त्यस्तै नहुने कुनै आधार छ र ?

पहिलो त, यो गठबन्धन ऐतिहासिक आवश्यकताका कारण बनेको हो । यो चुनावमा गठबन्धन विजयी होस् भन्नेमा मेरो जोड छ । यो गठबन्धनलाई ‘इन्ट्याक्ट’ राख्नका निम्ति बरु मैले त्याग गर्नुपर्छ भने पनि त्यसमा तयार छु भनी मैले भन्दै आएको हुँ । किनभने यो गठबन्धन निर्माणमा मेरो भूमिका महत्वपूर्ण नै रह्यो । त्यसो हुँदा यसको सुरक्षा गर्ने र यसलाई विजय गराउन हरदम लागिरहेकै छौँ ।

अनि गठबन्धन गर्नुपर्ने बाध्यताहरू निर्वाचन प्रणालीसँग जोडिएको छ । हामीले त चाहेका छौं कि निर्वाचन प्रणाली नै सुधार गर्दै एक्लै–एक्लै चुनाव लड्ने वातावरण बनाउनुपर्ने सवाल चुनावी घोषणापत्रमै राखेका छौं । निर्वाचन प्रणाालीमा सुधार आवश्यक छ । त्यसो हुँदा गठबन्धनभित्र छलफल गर्ने र बाहिर पनि छलफल गरेर संविधान संशोधन गर्नुपर्छ भन्ने हो । त्यसको तात्पर्य हो, यो निर्वाचन प्रणाालीमा विचार लडेका छैनन् । गठबन्धनका बाध्यताका कारण पार्टीहरूका वैचारिक स्वतन्त्रता या आफ्नोपन चाहिँ कमजोर हुने अवस्था आएको सत्य हो ।

त्यसो भए, गठबन्धन बाध्यताको उपज हो ?

जब २०७२ मा संविधान बन्यो, तब दलहरू गठबन्धनतिरै गएका छन् । विगत अभ्यास मूल्यांकन गर्दै संविधान संशोधन गरेर एक्ला–एक्लै चुनाव लड्ने वातावरण बन्नुपर्ने देखिन्छ । यो एउटा संक्रमणकालीन अवस्था जस्तो बनेको छ । एक्ला–एक्लै चुनाव लड्ने संवैधानिक वातावरण बनेमा पाँच वर्षपछि हुने चुनावमा पहिलो पार्टी नै हुने नै हाम्रो लक्ष्य हो ।

हो, चुनावमा कुनै दलले एकल बहुमत ल्याउन सक्ने अवस्था छैन, तर चुनावी प्रतिस्पर्धा एक्ला–एक्लै गरी परिणाम आएपछि अनुकूल दलसँग गठबन्धन गरी सरकार बनाउँदा हुँदैनथ्यो र ?

तपाईंहरूले बुझ्नुपर्छ कि यो चुनावका लागि भनी चुनावकै मुखमा बनेको गठबन्धन होइन । यो गठबन्धन कुन पृष्ठभूमिमा र कस्तो बेला बन्यो भनी पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । यो गठबन्धन त्यस्तो बेला बन्यो, जतिबेला तत्कालीन सरकारले असंवैधानिक तवरले संसद् पटक–पटक विघटन गर्ने, देशलाई राजनीतिक र संवैधानिक संकटतिर लैजाने खतरा पैदा भएपछि संविधान, लोकतन्त्र, गणतन्त्र पक्षधरहरू मिलेर गठबन्धन बनेको हो ।

यो गठबन्धन गिरिजाप्रसाद कोइराला र मबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दाकै अवस्थाको गठबन्धन हो । यो गठबन्धन बाह्र बुँदे समझदारी र संविधान बनाउने बेलाकै निरन्तरता हो । 

यो गठबन्धन त्यो विघटनकारी तत्वलाई रोक्न र तिनलाई असफल पार्न बनेको हो । कुरो चुरो अर्थात्, ‘क्रक्स अफ म्याटर’ के हो भने चुनावकै निम्ति मात्रै बनेको गठबन्धन चाहिँ होइन । यो गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको हो । अब त्यसरी गठबन्धन बनिसकेपछि स्वतः गठबन्धनबाटै चुनावमा जानुपर्छ भन्ने तर्कसंगत निष्कर्षमा पुगिएको हो । अनि त्यस्तो परिस्थितिमा निर्माण भएको गठबन्धन तोड्दै अर्काे गठबन्धन गर्नु भनेको राम्रो देखिने पनि भएन ।

त्यसो भए, लामै समय अघि बढ्ने गरी यो गठबन्धन बनेको हो भन्ने तपाईंको भनाइ हो ?

हो । यो लामो समय जान्छ । किन जान्छ भन्नुहुन्छ भने जतिबेलासम्म यो देशमा यो परिवर्तनका निम्ति नेपाली जनताले झण्डै सात दशक लडेर ल्याएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ जोगाउन पनि आवश्यक छ । यो परिवर्तनविरुद्ध खतरा उत्पन्न गर्ने तत्व, प्रवृत्ति, विचार र शक्ति रहँदासम्म यसखालको गठबन्धन शक्तिको आवश्यक परिरहन्छ ।

अझ यो भनेको हिजो गिरिजाप्रसाद कोइराला र मबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दाकै अवस्थाको गठबन्धन हो । यो गठबन्धन बाह्र बुँदे समझदारी र संविधान बनाउने बेलाकै निरन्तरता हो । त्यसकारण जबसम्म यो परिवर्तनमाथि खतराको संकेत देखापरिरहन्छ, तबसम्म यो गठबन्धन रहिरहनु आवश्यक भएको हुँदा यो धेरै परसम्म जान्छ ।

नेकपा बन्दाका एक पाइलट केपी शर्मा ओलीले हिजो एमालेको घोषणापत्र जारी गर्दै गर्दा तपाईंमाथि ‘अस्थिर–चरित्र’ भएको दोषारोपण गर्नुभयो, ओलीको अनुभवी बोली सुन्दा यो त गठबन्धन धेरै पर जाँदैन कि भन्ने शंका गर्नुपर्ने ठाउँ रहँदैन र ?

उहाँ (ओली)ले जसलाई अस्थिरताको कारक भन्नुभएको छ, यथार्थमा तथ्यसंगत कुरा गर्ने हो भने उहाँ नै अस्थिरताको कारक हुनुहुन्छ । उहाँले अरुलाई आरोपित गरी आफ्नो अस्थिर चरित्रमा ढाकछोप गर्ने कोसिस गर्नु मात्रै भएको हो । केही वर्ष यताका राजनीतिक दृश्य केलाउने हो भने तथ्यहरू छरपस्ट नै छन् । वाम एकताको प्रस्ताव मैले गरेको थिएँ, यो भाँड्ने काम उहाँबाट भएको छ । संविधानअनुरूप संसद् बचाउनुपर्छ भन्नेमा म लागेँ ।

यो संविधान रहँदासम्म र संसद्बाट अर्काे सरकार बन्ने सम्भावना रहँदासम्म प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार थिएन । जुन सर्वाेच्च अदालतले नै व्याख्या गरी भनिसकेको छ । संसद् भंग गर्न पाइँदैन भनी स्पष्ट प्रावधानलाई उहाँले उल्लंघन गर्नुभयो । त्यसरी संविधान सिध्याउन खोज्ने अस्थिरताको कारक कि संविधान–संसद् जोगाउनुपर्छ भन्ने ? यो त जो चोर उसैको ठूलो स्वर भने जस्तै भएन र ? हाम्रो लडाइँ स्थिरताका लागि उहाँले संविधान, संसद् र मुलुक नै अस्थिर बनाउन विघटनकारी बन्नुभयो ।

त्यसकारण अस्थिरताको कारक कोही हुन् भने उनी स्वयं हुन् । उहाँले प्रधानमन्त्रीको कुर्सीमा रहँदा जे जति गतिविधि गर्नुभयो, सम्पूर्ण रूपमा देशमा अस्थिरता, अराजकता र मुलुकलाई निरंकुशतातिर लैजाने उद्देश्यका साथ गर्नुभयो । त्यत्रो बहुमत भएको सरकार हुँदा त्यसरी संविधान मिच्नु पर्दथ्यो र ? उहाँ अझै पनि संविधान मिच्न प्रेरित गर्दै हुनुहुन्छ । नागरिकता विधेयकको सन्दर्भमा जे नाटक मञ्चन भइरहेको छ, त्यसैबाट धेरै कुरा बुझ्न सकिन्छ । नागरिकताका सवालमा उहाँका बोली नै काफी छन् । अर्काे राष्ट्रपतिको भूमिका हेर्नुहोस् । केपी शर्मा ओलीले लगेका प्रस्ताव चाहिँ राति दुई बजे तुरुन्तै सही गरी प्रमाणीकरण गर्ने, त्यही विधेयक संसद्बाट पारित गर्दै लागू नगर्नु भनेको संविधान खुलेआम मिच्नु हो । यसबाट पनि बुझ्नुपर्छ कि मुलुकको अस्थिरताको कारक को हो ? 

यो चुनावमा गठबन्धन दलले प्रतिनिधि सभामा कति सिट ल्याउँछ भन्ने अपेक्षा गर्नुभएको छ ?

जसरी गठबन्धन अघि बढेको छ, त्यसबाट सुविधाजनक बहुमत आउँछ भन्ने हो । दुई तिहाइ भन्ने स्थिति त यतिखेर छैन । किनभने दुई खाले गठबन्धन छन् । त्यसअतिरिक्त अनेकन् किसिमका ‘एक्ससाइज’ पनि भइरहेका छन् । जे जुकै भए पनि यो गठबन्धनले राम्रो बहुमत ल्याउँछ । पाँचै वर्ष सहज तरिकाले सरकार सञ्चालन गर्ने वातावरण बन्छ । 

गठबन्धन दलबीच चुनावपछि शक्ति–पद बाँडफाँडका विषयमा कुनै औपचारिक या अनौपचारिक कुनै सहमति भएको छ ?

गठबन्धन दलहरूबीच औपचारिक या अनौपचारिक रूपमा चुनावपछिको ‘पावर सेयरिङ’का विषयमा कुनै पनि निर्णय लिएका छैनौं । हामी गठबन्धनलाई विजयी गराउनुपर्छ भन्ने हाम्रो साझा प्रतिबद्धता हो । अनि ‘पावर सेयरिङ’का सवालमा चुनावपछिको स्थिति हेरेर निर्णय लिने सहज सहमति बनेको छ । यो सवाललाई जटिल बनाइएकै छैन । पाँच वर्ष सरकार चलाउने हुँदा गठबन्धन दलबीच ‘पावर सेयरिङ’ त हुन्छ नै । प्रधानमन्त्री कुन दलका हुन्छ भन्ने बारेमा कुनै ठोस निर्णय र समझदारी बनाएका छैनौं । त्यो परिणामपछि नै गरौंला भनी सहज छाडेका छौं ।

त्यसो भए, अघिल्लो चोटि जसरी अस्थिर प्रकृतिको सरकार हुँदैन भनी तपाईं विश्वास दिलाउन सक्नुहुन्छ ?

अघिल्लो चोटि जस्तो हुँदैन भन्ने हाम्रो ठहर छ । हाम्रो निष्कर्ष नै पाँच वर्ष चल्नुपर्छ र चल्छ भन्ने हो । अझ चलाउन सकिन्छ भन्ने विश्वास पनि छ । किनकि यो हाम्रो साझा प्रतिबद्धता हो, यो संविधान बचाउनुपर्छ, यो परिवर्तन बचाउनुपर्छ, लोकतन्त्र बचाउनुपर्छ । त्यही प्रतिबद्धताका कारण यो गठबन्धन कसिलो र दरिलो हुँदै गएको छ । त्यसो हुँदा चुनावपछि गठबन्धन दलले पाँच वर्ष सरकार लैजान्छ ।

अनि तपाईंहरू चुनावी मैदानमा हुनुहुन्छ, देशभर मतदाताको रुझान चाहिँ कस्तो पाउनु भएको छ ?

अब बिस्तारै चुनावी माहौल तात्दै छ । मैले हेर्दा मूलभूत रूपमा मतदाता उत्साहित नै देख्छु । अनि गठबन्धनप्रति पनि जनताको विश्वास बढेकै पाउँछु । नेतृत्व पंक्तिविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने ‘ट्रेन्ड’ त देखापरेको छ । तर आमनागरिकमा त्यस्तो छैन ।

गठबन्धन गर्नुपरेको संविधान र निर्वाचन प्रणालीले गर्दा हो ।  

पार्टी, खासगरी यो गठबन्धनप्रति जनता सकारात्मक नै भएकै पाउँछु । किन यस्तो भएको छ त ? जतिबेला संविधान मिचेर, लोकतान्त्रिक मूल्य–मान्यता मिचेर संसद् विघटन गरियो, त्यसविरुद्ध नागरिक सडकमा आएका हुन्, त्यो पनि सानो संख्यामा होइन । २०६२–०६३ कै झल्को दिने गरी जनता सडकमा आएका हुन्, प्रतिगमनविरुद्ध । जनताले के बुझेका छन् भने यो गठबन्धनले मात्रै परिवर्तनको रक्षा गर्न सक्छ, देशलाई स्थिरता दिन सक्छ भन्ने विश्वास बढ्दै गएको छ ।

तपाईंले भने जसरी नेतृत्व पंक्तिप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा ‘नो, नट अगेन’कोे लहर चलेको छ, तपाईंले चाहिँ यो अभियानलाई कसरी लिनुभएको छ ?

त्यो लहरलाई मैले सकारात्मक रूपमा लिएको छैन र बुझेको पनि छैन । अनि त्यस्तो हुँदा पनि हुँदैन । जुन पार्टी र नेताहरूले मुलुकका निम्ति लामो संघर्ष गरेका छन्, त्यो पनि एक दिन, दुई दिन होइन दशकौं संघर्ष गरेर परिवर्तन ल्याएका छन् । तिनलाई अपमानित हुने गरी, तिनमाथि लाञ्छना लगाउने गरी, तिनलाई हीनताबोधमा पार्ने गरी ‘नो, नट...’ भन्नु न्यायसंगत र तर्कसंगत होइन । दोस्रो कुरा, सबै नेता एकै खाले हुँदैनन् ।

सबै नेता र पार्टीको योगदान पनि सधँैभरि एकैखाले हुँदैन । कुनै खास कालखण्डमा कुनै खास नेता र पार्टीको भूमिकाले देश बचिरहेको हुन्छ, देशमा आन्दोलन अघि बढिरहेको हुन्छ, समाजले गति लिइरहेको हुन्छ, तिनलाई पनि ‘नो, नट अगेन’ भनिदिनुको अर्थ चाहिँ यो परिवर्तन उल्ट्याउन खोज्नु हो । अनि कहीँ न कहीँ देशलाई अराजकता वा निरंकुशतातिर लैजाने तत्वहरूले फाइदा उठाउन दिनु हो ।

तपाईंलाई यो ‘नो, नट अगेन’, संगठित शैलीमा नै अभियान चलेको हो भन्ने हो ?

होइन, मलाई त्यसरी संगठित तवरमै लागे भन्ने लाग्दैन । त्यो स्वतःस्फूर्त होला भन्ने ठान्छु । तर, अब बिस्तारै कसै न कसैले ‘क्यास’ गर्न खोज्न सक्छन् । अनि अरु संगठित तवरमै पनि लाग्न सक्छन् । मेरो भनाइ के हो भने दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले मधेसमा समस्या थियो, देश के होला ? भन्ने थियो । धेरै मिहेनत र दुःख गरेर मधेसका जनतालाई विश्वास लिँदै निर्वाचनमा प्रक्रियामा ल्याइयो र राष्ट्रलाई एकताबद्ध बनाउन महत्वपूर्ण काम भएको हो ।

त्यतिखेर के हुन्छ... के हुन्छ...? भन्ने अवस्था थियो । आर्थिक विकास गति दिन ठूला परियोजना म आफैँ पनि अनुगमन गएको हुँ, त्यहीकारण साढे सात प्रतिशत आर्थिक वृद्धिदर हासिल भयो । चाहेको खण्डमा हुन सक्दो रहेछ भन्ने देखियो । समावेशी, समानुपातिक जुन परिवर्तन भएको छ र पिछडिएका समुदायले जुन अधिकार पाएका छन्, त्यसरी अधिकार दिलाउने पार्टी र नेताहरूलाई पनि ‘नो नट अगेन’ भन्नु भनेको त समाजलाई अँध्यारो वा अराजकताको भूँमरीमा हाल्नु हुँदैन र ? त्यसरी अभियान चलाउनेमाथि मेरो आरोप–लाच्छना छैन । तर उनीहरूले ‘कुरा’ बुझेर भनिरहेका छन् जस्तो लाग्दैन ।

त्यसकारण पनि यो अभियान तर्कसंगत र न्यायोचित छैन । मैले भन्ने गरेको छु, कोही मानिस एक सय वर्ष बाँच्दा पनि समाजका निम्ति राम्रो योगदान गर्न सक्छन्, समाजले तिनलाई सम्मान गर्छ । तिनले गरेको योगदानबाट प्रेरणा लिन्छ, फाइदा उठाउँछन् । जस्तो सत्यमोहन जोशी १ सय ३ वर्ष बाँच्नुभयो, शताब्दी–पुरुष हुनुभयो । उहाँले शताब्दी पुग्दा पनि साहित्य रचना गर्न पनि छाड्नु भएन र संस्कृति जागरण सक्रियतामा पनि कुनै कमी आएन ।

त्यस्ता मानिसलाई ‘नो, नट अगेन’ भन्न मिल्छ ? उहाँलाई ‘वान्स मोर....’ भन्नुप¥यो या ‘वान्स अगेन’ भन्नुप¥यो नि । मैले भन्न खोजेको के हो भने जुन पार्टी र नेताहरूले परिवर्तन, राष्ट्रको एकताका निम्ति योगदान गर्दैछन्, अझै गर्छाैं भनिरहेका छन्, तिनलाई ‘नो, नट अगेन’ भन्नुको अर्थ त अनुभव नभएका, कुनै योगदान नभएका, अलि ‘सुपरफिसियल’ खोज्नु हो । तिनबाट देश र समाज चल्छ र ? राज्य चल्छ त ? त्यो असाध्यै ‘चाइल्डिस्’ (केटौले) भयो जस्तो लाग्छ ।


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x