वार्ता

‘महापुरुष’ हेरेर निस्कँदा बाबु–आमाको फोनमा छोराछोरीका घन्टी बजोस्

सामीप्यराज तिमल्सेना |
कात्तिक ६, २०७९ आइतबार १४:११ बजे

प्रदीप भट्टराईले ‘ह्याट्रिक निर्देशक’को उपाधि पाएका छन् । निर्देशन गरेका ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रुगते’ तीनै फिल्म बक्स अफिसमा हिट साबित भएपछि भट्टराईले यो उपाधि पाएका हुन् । वर्षौँ काम गर्दा पनि फिल्म हिट बनाउन नसक्ने निर्देशकको भिडमा भट्टराईको यो सफलता लोभलाग्दो हुँदाहुँदै कम चुनौतीपूर्ण छैन । त्यसैले भट्टराई ‘कमेडी’ फिल्मको निर्देशकबाट गम्भीर फिल्मको निर्देशकको पहिचान बनाउन चाहन्छन् । आफूले निर्देशन गरेको ‘महापुरुष’लाई यही चाहनाको मूर्तरुप नमाने पनि यो प्रयासको खुड्किलोका रुपमा अर्थ्याउन चाहने उनले ‘महापुरुष’मा आफ्ना पहिला फिल्मले झैँ हँसाउने मात्रा यथावत रहँदा रहँदै पनि गम्भीर बनाउने विषय पनि उठान गरेको बताए । कात्तिक ११ बाट प्रदर्शनमा आउन लागेको यही चलचित्रको सेरोफेरोमा रही गरिएको संवाद :

तपाईंले ‘महापुरुष’लाई अघिल्ला फिल्मभन्दा फरक बताउँदै आउनु भएको छ । यो खालि मिडियामा मात्र भन्‍ने खालको फरक हो कि साँच्चिकै केही फरक छ ? 
यो प्रश्नको अन्तिम निर्णयकर्ता त म होइन । भोलि दर्शक वा समीक्षकले यसको निधो गर्नुहोला । तर एउटा लेखक र निर्देशक भएको हिसाबले मैले यो पल्ट फरक कथा नै भन्‍ने कोसिस गरेको छु । तर यसको प्रस्तुति पनि त्यत्तिकै फरक छ भनेर चाहिँ भन्दिनँ म । तर अघिल्ला तीन फिल्मभन्दा सर्जकको रुपमा मैले यो फिल्मलाई अलग्याउने कोसिस चाहिँ इमानदारीसाथ गरेको छु । बाँकी कुरा त कात्तिक ११ गते थाहा हुन्छ । 


यो पालि तपाईंहरू फिल्मलाई लिएर एकदमै आत्मविश्वासी देखिनुहुन्छ ? तर गीत र ट्रेलरमा तपाईंहरूले दर्शकबाट अपेक्षित साथ पाउनुभएको छैन ? यसले कत्तिको तर्साएको छ ? 
तर्साएको त छैन । झस्काउन चाहिँ झस्कायो । तर यो गीतको हकमा मात्र हो । ट्रेलरका दर्शक र यसमा पाएको प्रतिक्रियाबाट हामी ढुक्क नै छौँ । गीतका हकमा चाहिँ हाम्रो अनुमान फेल खाएकै हो । पहिलो गीत हामीले बाबु–छोराको सम्बन्धमा बनाएका थियौँ । एकदमै धेरै जान्छ भन्‍न अपेक्षा त थिएन तर ८–१० लाख दर्शक त पाउँछ भन्‍ने थियो । यो भएन । दोस्रोमा राम्रै भ्युजको अपेक्षा थियो । तर यो गीत पनि सोचे जति गएन । तर हामी तर्सिएका छैनौँ । व्यावसायिक हिसाबमा कुरा गर्ने हो भने हामी रिलिज अगाडि नै लगभग सुरक्षित छौँ । सर्जक भएको हुनाले आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरिदिनुहोस् र प्रतिक्रिया दिनुहोस् भन्‍ने लोभ हुँदोरहेछ । हामीलाई अहिले त्यसको मात्र चिन्ता हो । 

तीन–तीनवटा हिट फिल्म दिनुभएको निर्देशक, दर्शकले यिनीहरूले यत्तिसम्मको सिनेमा बनाउँछन् भनेर याद राख्नुभएकै होला नि ? 
यो कुरा पनि रिलिजको दिन थाहा लाग्ला । तर मलाई यो क्षेत्रमा एक चोटिको कामले सधैँ खान पुग्छ भन्‍ने लाग्दैन । सिर्जनाले त्यसै पनि हरेकचोटि आफूलाई प्रमाणित पनि गर्नुपर्छ । हामीले पनि ‘महापुरुष’लाई सजिलो गरी लिएका छैनौँ । 

अब अलिकति फिल्मको नामको कुरा गरौँ, ‘महापुरुष’, अलि सन्त, योगी टाइपका मानिसका लागि प्रयोग गरिन्छ । तपाईंहरूले चाहिँ कुन सन्दर्भमा यो शीर्षक राख्नुभएको छ ? 
समाजको एउटा प्रचलन भनुँ वा प्रवृत्ति देखाउने सन्दर्भमा हामीले फिल्मको कथा र सोहीअनुसार शीर्षक जुराएका हौँ । समाजले के भन्छ भने त्याग जे जति गर्ने हो त्यो बाबुआमाले गर्नुपर्छ । समाजले बाबुआमालाई भगवान् सरह मानेको छ । मान्छे आफूलाई चाहिएको कुरा माग्न मन्दिरमा जान्छ तर कथंकदाचित त्यो कुरा पूरा भयो भने अर्को कुरा माग्न नपरेसम्म फर्केर जाँदैन । भगवान्को कुरा आफ्नो ठाउँमा छ तर बाबु आमालाई भगवान् सरह माने पनि उनीहरू भगवानै त होइनन् नि । सन्तान जस्तै आफ्नै खाले इच्छा आकांक्षा बोकेर बस्ने उनीहरू पनि ‘हामी’ नै हुन् । फिल्मले यही समाजले ‘महापुरुष’ बनाएर राखेको आदर्श व्यक्तिले मान्छे जस्तो व्यवहार गर्न चाह्यो भने के हुन्छ त्यो कुरालाई देखाउन खोजेको छ । अथवा भनुँ न भगवान् एक दिन मन्दिरबाट निस्किएर मान्छे बने भने कस्तो अवस्था आइपर्छ ? फिल्मको मोटामोटी कथा यही हो । 

हरिवंश आचार्यले यो फिल्मलाई ‘बलिदान’पछि आफूले खेलेमध्यकै उत्कृष्ट फिल्म भन्‍नु भएको छ ? यो कुराले पनि ढुक्क बनाएको होला नि तपाईंलाई ?
मैले पनि सुनेँ । उहाँले गरेका सयौँ चरित्रमध्ये यसलाई राम्रो मान्‍नु भएको कुराले उहाँकै चेलो भएको नाताले पनि मलाई दोब्बर खुसी लाग्ने नै भयो । हामी निर्माण टिमको सबै नै यो पटक फिल्मलाई लिएर आत्मविश्वासी छौँ । बाँकी त दर्शकको हातमा छ ।

फिल्ममा हरिवंश आचार्यको छनौटमा तपाईंको सम्बन्धको प्रभाव छ कि कथाले नै उहाँको माग गरेको हो ?
कथाले नै माग गरेको हो । सम्बन्धकै कुराले मात्र हुन्थ्यो भने ‘जात्रा’का दुवै सिरिजमा मह जोडी अटाउनु हुन्थ्यो । तर यसमा हरिवंश दाइले जुन चरित्र निर्वाह गर्नुभएको छ, त्यसको विकल्प पनि हामीसँग थिएन । लामो कसरतपछि उहाँलाई हामीले फिल्मको प्रस्ताव राखेका हौँ । उहाँले पनि यो भूमिकालाई जीवन्त बनाउन त्यत्तिकै कसरत गर्नुभएको छ । 

कस्तो कसरत ? 
अलि बिस्तारमै तपाईंलाई म यसको कथा सुनाउँछु । सर्वप्रथम, हामीले ‘जात्रै जात्रा’पछि सुनेका अनेकौँ कथामध्ये यो एउटा कथा थियो जुन पहिलो चोटि सुन्दा हामीलाई छुन त छोएको थियो तर यसमा २ घन्टाको फिचर फिल्म नै बन्छ भन्‍ने आत्मविश्वास चाहिँ थिएन । ‘जात्रै जात्रा’को प्रचारको क्रममा हामी देवघाट पुगेका थियौँ । त्यहाँ हामीले एक जना बा भेट्यौँ जसले आफ्नो महिला सहयोगीसँग एक्लोपन साट्न खोज्दा समाजको ‘बात’ सुन्नु;परेको थियो । तर उहाँले समाजसँग विद्रोह गर्नुभएको रहेछ । तर यो कथा राम्रो मानेर हामीले बीचमा अनेकौँ कथामा काम गर्यौँ । कुनै पनि चित्त बुझेन । अपर्झट एक दिन हामीलाई फेरि यो कथा याद आयो र यसमा पनि ‘एक्सरसाइज’ गरी हेरौँ न त भन्दा यसमा चाहिँ लय भेट्टियो । हाम्रोमा भन्‍ने गरिन्छ नि, ‘तँलाई बाउको बिहे देखाइदिन्छु ।’ हो यही संवादलाई रमाइलो गरी कसरी बनाउन सकिन्छ भन्दाभन्दै ‘महापुरुष’को खाका तयार भयो ।

यो कथाको बीजारोपणको कुरा भयो, तपाईंले हरिवंश दाइले गर्नुभएको कसरतको कुरा गर्न खोज्नु भएको थियो ? 
हजुर । माथिको कुराबाट तपाईंले बुझिहाल्नुभयो, यो एउटा विधुरको एक्लोपनबाट निस्किन समाजसँग र आफ्नै सन्तानसँग गर्ने संघर्षको कथा हो । यसमा हरिवंश दाइ दिमागमा गढ्नमा मेरो व्यक्तिगत अनुभवले काम गरेको थियो । मिरा भाउजु (मिरा आचार्य, हरिवंश पत्नी) बितेपछि १३ दिनसम्म मैले नै हरिवंश दाइको घर रुँगेको थिएँ । मोहित र दाइहरूले घरबाहिर रहेको टहरोमा बसेर काम गर्नुभएको थियो र १३ दिनको काम सकिएपछि पनि घरभित्र पस्ने हिम्मत जुटाउन सक्नुभएको थिएन । तर एक दिन बिहानको ३ बजेतिर कसैले ढोका ढकढक गर्‍यो । मैले डराउँदै ढोका खोलेँ । अगाडि हरिवंश दाइ हुनुहुन्थ्यो । उहाँले भावुक हुँदै, ‘प्रदीप, मलाई त मिराले तपाईं घरभित्र छिर्नुहुन्‍न ? भनेर सपनामा सोधी । त्यही भएर आको ।’ भन्दै भित्र छिर्नुभयो । मिरा भाउजू बितेपछि हरिवंश दाइ असाध्यै टुट्नुभएको थियो । यही दिनमा एक दिन मैले देखेँ– दाइ बाथरुममा रोइरहनु भएको थियो । उहाँले बाथरुमको साबुनमा मिरा भाउजूको एउटा केश भेट्नु भएको रहेछ । यही केश देखेर उहाँ नराम्ररी रुनु भएको रहेछ । देवघाटका बाको कथामा काम गरिरहँदा मैले यसरी हरिवंश दाइलाई झलझली सम्झिरहेको थिएँ । त्यसैले टिममा पटकथा तयार भएपछि को लिनेभन्दा उहाँबाहेक कसैको दिमागमा पनि अरु कोही थिएन । 

यो कथा पहिलो पटक सुन्दा चाहिँ उहाँको मनोभाव कस्ता थियो ?
मलाई उहाँले यो चरित्र गर्नुहुन्छ हुन्‍न तर गर्छु भनेर अठोट गर्नुभयो भने चाहिँ सक्नुहुन्छ भन्‍ने थियो । त्यो भएर मैले पहिलो चोटि यसको स्क्रिप्ट सुनाउँदा रमिला भाउजू (रमिला आचार्य) र मोहित (मोहितवंश आचार्य) दुवैलाई साथै राखेर सुनाएँ । उहाँलाई कथा त मनपर्यो तर चरित्र उहाँले आजका दिनसम्म गरेभन्दा बिल्कुलै भिन्‍न थियो । उहाँले ‘प्रदीप म सक्दिनँ होला’ पनि भन्‍नु भएको थियो तर मलाई चाहिँ सक्नुहुन्छ भन्‍ने विश्वास थियो । तर एउटा मोडमा गएर चाहिँ दाइ र हामी दुवै होपलेस भएका थियौँ । 

किन ? 
कथाले जुन चरित्र कल्पना गरेको थियो कति दिनसम्म पनि हरिवंश दाइमा त्यो चरित्र आउँदै आइरहेको थिएन । यसमा चरित्र सुरुमा गम्भीर र खुम्चिएको हुन्छ तर गौरी दिदी (गौरी मल्ल)को प्रवेशसँगै यो चरित्र खुल्दै जान्छ । हाँस्ने, बोल्ने कुरादेखि दाइको मुडसँगै लुगा पनि परिवर्तन हुँदै जान्छन् । तर हप्ता दिनसम्म उहाँको चरित्र आउँदै आएन । वर्कसपमा थियौँ । ४० वर्षे अभिनय यात्रामा यो पनि दाइको पहिलो अनुभव थियो । त्यही पनि उहाँले पूर्ण समर्पण गर्नुभएको थियो । हरिवंश दाइ हरेक दिन नयाँ नयाँ कुरा ट्राइ गरिरहनु भएको थियो । तर चरित्र आइरहेको थिएन । हामी मोबाइल र क्यामरा स्ट्यान्ड बाई राखेर कतै स्पार्क भेटिहाल्छ कि भनेर कुरिरहन्थ्यौँ । नभन्दै हप्ता दिनपछि उहाँले एउटा अप्ठेरो हाँसोपछि आफ्नो संवाद बोल्नुभयो । पीडा मिश्रित त्यो अनौठो हाँसोले ‘ल हामीले खोजेको चरित्र यही हो’ भन्‍ने भयो । हामीहरू उहाँको यही हाँसोलाई ‘क्यू’ बनाएर अगाडि बढ्यौँ ।

सुटिङमा चाहिँ समस्या भयो कि भएन ? 
अरु केही समस्या त भएन तर दाइले सुटिङ ब्रेक भयो कि त्यो चरित्र बिर्सिहाल्नु हुने रैछ । हुन त दाइले दुई तीन महिना यही फिल्म र चरित्रलाई डिस्टर्ब हुन्छ भनेर महसञ्चारका कुनै पनि काम गर्नु भएन । सब थोक छाडेर यसमा समर्पित हुनुभयो । तर पनि सुटिङ ब्रेक भयो कि दाइले बिर्सिहाल्नु हुने रैछ । यसपछि हामीले के गर्यौँ भने सेड्युल तलमाथि पारेर भए पनि हरेक दिन दाइको एउटा सिनको भए पनि सुटिङ गर्ने । योसँगै दाइ आफैँ पनि यो पटक फिल्मलाई लिएर असाध्यै ‘कन्सन्र्ड’ हुनुहुन्थ्यो । सुटिङ सकेर गए पनि राति सुत्नुअघि फोन गर्नुहुन्थ्यो, ‘प्रदीप दिउँसोको सिन ठीक छ नि । तिमीलाई चित्त बुझ्या छ नि ?’ मैले राम्रो भएको छ दाइ भनेपछि ढुक्क हुनुहुन्थ्यो । एक दिन एउटा सिन हामीले बिहानको ४ बजेसम्म खिच्यौँ । छोराका लागि त्याग गर्ने निर्णय गर्नुपर्ने एउटा सिन थियो । १०–१२ बजे सकिनुपर्ने सिन रिटेक गर्दा गर्दा ४ बज्यो । 

तपाईं आफ्नै लागि चाहिँ यो फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो ? तपाईंले यो फिल्ममा आफूलाई अघिल्ला फिल्मबाट अलग्याएको बताउँदै आउनु भएको छ ?
निश्चय नै । यो फिल्म लेखिरहँदा नै मलाई लाग्यो, हामी एकदमै सजिलो गरी फिल्म बनाउने रहेछौँ । मलाई यो सिनेमा लेख्दा धेरै पल्ट सक्दिनँ कि भन्‍ने लागिरह्यो । अर्को कुरा चाहिँ सिनेमा हामी दर्शकलाई केन्द्रमा राखेर बनाउँछौँ तर व्यक्तिगत रुपमा मलाई चाहिँ दर्शकसँगै आफू पनि मोटिभेट भइयोस्, तब पो मज्जा आउँछ भन्‍ने लाग्यो । यो फिल्मबाट पनि हाम्रो अपेक्षा छ, फिल्म सकिएर लिफ्ट वा सिँढीबाट झरिरहँदा आफ्नो बाबुआमालाई फोन गरोस् । मेरा लागि बक्स अफिसको अंक गणितभन्दा यो कुराको अर्थ छ, यसपालि । म आफैँले पनि  फिल्म लेखिरहँदा बाबु–आमालाई फोन गरेको छु । यो कुराले मेरो लागि यो फिल्मले दिएको सबैभन्दा ठूलो सन्तुष्टि पनि यही हो ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x