वार्ता

त्यो काठमाडौँ र महिला

प्रेममा परेँ तर पुरुषहरूले महिलालाई मजदुर बनाएको देखेर विवाह गरिनँ

विमल आचार्य | उपेन्द्र अर्याल |
असोज १५, २०७९ ७:२२ बजे

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाडबाट, तराई झर्छ । तर, सधैँ सबैतिर यस्तो मात्र हुँदैन । मान्छे केन्द्रबाट परिधितिर पनि सर्छन् । बसाइँसराइ देश छोड्ने वा जिल्ला छोड्ने टाइपको मात्र पनि हुँदैन यो उही जिल्लाभित्र ‘मुटु छोड्ने’ खालको पनि हुन्छ । 

हजारौँ वर्षदेखि काठमाडौँ उपत्यका ऐतिहासिक, सांस्कृतिक जीवन्त सहर हो । दुई सय वर्षभन्दा अघिदेखि यो राजनीतिक सहर पनि हो । राजनीतिक सहर त उहिल्यैदेखि हो तर केन्द्रीय राजनीतिक थलो पनि यही हो । संघीयतामा पनि बहुलकेन्द्र हुन नसक्दा काठमाडौँ उपत्यका उकुसमुकुस बनेको छ । उपत्यका सहर जति विविधतामा बाँचेको छ, यसका विविध पाटाबारे भने कमै चर्चा हुन्छ । अनौठो के छ भने यो उपत्यकाबारे प्राज्ञिक लेखन बरु अलि भएको छ, पत्रकारीय लेखन कम छ ।


‘काठमाडौँबाहिरको मानसिकता’ मूलधारमा रहँदा यहाँका रैथानेहरूको आवाज सुस्त बनेको छन्, ती नेपथ्यमा छोडिएका छन् । हामी कतिलाई आफ्नो पुर्ख्यौली गाउँठाउँको अतिशय प्रेम हुँदा त्यही खाले प्रेम यहाँका रैथानेलाई हुनुहुँदैन भन्ने हाम्रो आग्रह पनि यदाकदा छताछुल्ल हुन्छ । हामीलाई आफ्नो गाउँ–ठाउँको पँधेरो, कुवा, चौतारो, ढुंगोसम्म प्रिय लाग्छ, जो उपत्यकामै जन्मे–हुर्के उनीहरूलाई हिति/पुखुविनाको ‘विकास’ कस्तो लागिरहेको छ ? उपत्यकाका थुप्रै ‘खुवालुङ’ मासिएका, नासिएका छन्, संस्कृति/सम्पदा नै मूल पहिचान भएको सहरको सामर्थ्य बिस्तारै के हुँदै छ ?

जसलाई ‘काठमाडौँको मुटु’ भनिन्छ, ती क्षेत्र बिरामी जस्ता बनेका छन् । मुटु नै दुखेको मानिस कति स्वस्थ हुन्छ ? काठमाडौँको ‘कोर एरिया’बारे त्यहीँ जन्मे–हुर्केका खासदेखि आम मान्छेसम्मका अनुभव हामी यो शृंखलामा पस्किँदै छौँ । ‘मुटु’ छोडेर बाहिर निस्किएकादेखि ‘मुटु’मै धड्किरहेका रैथानेहरूको स्वर सुन्ने शृंखलामा मल्ल के सुन्दर, तीर्थराज वन्तपछि तेस्रो श्रृंखलाका रुपमा कमला श्रेष्ठको विचार पस्केका छौँ ।  

कमला श्रेष्ठको जन्म २०१२ सालमा काष्ठमण्डपछेउको गणेशस्थानमा भयो । प्रधानाध्यापकबाट सेवा निवृत्त भएकी कमलाको जीवनमा प्रेम त धेरै भयो, बिहे चाहिँ गरिनन् । ‘विवाह भएपछि पुरुषहरूले हामीलाई मजदुर बनाउँछन् भनेर प्रेम भए पनि विवाह गरिनँ’ भन्ने कमला श्रेष्ठले काठमाडौँ सहर, यहाँको संस्कृति र सभ्यता बच्चैदेखि महसुस गरेकी छन् । भुइँचालोपछि टेकु सरेकी उनले गोपाल योञ्जनसँग पद्मकन्यामा संगीत सिकिन् । उनीसँग उपेन्द्र अर्यालविमल आचार्यले गरेको संवाद :

तपाईं मन्दिरमा पो भेटिनु भयो त ? 
भजन–कीर्तन गर्नका लागि आएको हो । मेरो बुवाको पालादेखि नै भजन कीर्तन गरिरहने हो हामीले । बुवाले मलाई सिकाइ दिनुभएको थियो । मलाई बाल्यकालदेखि नै रहर भएकाले जागिरबाट निवृत्त भएपछि म यसमै लागिरहेको छु ।

पहिले जागिर खाँदा पनि आइरहनुहुन्थ्यो ?
पहिले पनि आइरहेको थिएँ । महिनाको एकपटक यहाँ पनि सधैँ आउँथेँ । स्कूल पढाउँदा धेरै भ्याइँदैन थियो । स्कूलको काममा व्यस्त भइन्थ्यो । सेवाबाट निवृत्त भएपछि भने प्रायःजसो यता आइरहेको हुन्छु । भद्रकाली मन्दिर र यहाँ छुटाउँदिनँ ।

तपाईँलाई मन पर्ने मन्दिर कुन–कुन हो काठमाडौँका ?
मलाई मन नपर्ने मन्दिर नै छैन । सबै मन पर्छ । सबैभन्दा बढी जाने मन्दिर भद्रकाली, सधैँ जान्छु ।

भजन–कीर्तनमा नेवारहरू मात्रै हुनुहुन्छ कि अन्य समुदायका मानिस पनि आउँछन् ?
आए त हामी सबैलाई स्वागत गर्छौँ  । तर, प्रायः नेवार मात्रै हुन्छौँ । कतिपय हाम्रा आफ्नै विधि छन् । उहाँहरूले जान्‍नुहुन्‍न । त्यसमा अपनत्व हुँदैन । हामी नेवारी भाषामा पनि कतिपय भजन गाउँछौँ । त्यो बुझ्‍नै पनि गाह्रो हुन्छ । त्यही भएर सबै आउँदैनन् ।

तपाईं कहाँ जन्मिनुभएको काठमाडौँमा ?
काष्ठमण्डपछेउको गणेशस्थानमा जन्मिएको हुँ । अनि पछि वसन्तपुर पछिल्तिर सर्‍यौँ । घरमा सबैजना अटाउन मुस्किल भयो । त्यहाँ झण्डै दुई रोपनी जग्गा थियो । बुवाले पछि तीनवटा छोराहरू छन् तिनीहलाई चाहिन्छ भनेर किन्‍नुभयो । पछि भैmँझगडा भयो, दाजुभाइमा । अंशबण्डा भयो । हाम्रो घर त्यहाँ बेचेर बसाइँ सरेका हौँ ।

परिवारमा कति जना हुनुहुन्थ्यो ?
(हाँस्दै) परिवार त के भन्‍ने मेरो त विवाह नै भएको छैन । पहिले हामी तीनजना दाजुभाइ, तीन जना दिदीबहिनी थियौँ । अहिले त दाइहरूका छोराछोरी, नातितातिना थुप्रै छन् । तर, हाम्रो बोलचाल छैन ।

बुवाआमा के पेसा गर्नुहुथ्यो ?
मेरो बुवा सरकारी जागिरे हुनुहुन्थ्यो । पानी अड्डा भन्थे त्यो बेला । त्यहीँ सुब्बा हुनुहुन्थ्यो ।

अनि दाजुभाइसँग तपाईंहरूको किन बोलचाल नभएको नि, भन्‍न मिल्छ भने मात्र ?
मिल्छ । झगडा पर्‍यो ।

किन नि ?
बहिनी र मैले विवाह गरेका छैनौँ । सबै सम्पत्ति दिदीबहिनीले लिएर पोइला जान्छ भनेर रिसाए । छोरीहरूलाई बुवाले अंश दिनुभएको थियो । अंश दिएको रिस उनीहरूलाई भयो ।

छोरीहरूलाई अंश दिँदैन थिए त त्यसबेला । तपाईंहरूलाई बुवाले दिनुभएछ है ?
बुवाले छोराछोरी सबैलाई बराबर अंश दिनुभयो । छोराछोरी भनेर विभेद गर्नुभएन । तीनै जना छोरीले पायौँ । अहिले पनि मेरो बुवाको सम्पत्तिमै बसिरहेको छौँ । बुवाआमासँग कहिल्यै झगडा भएन हाम्रो ।

हाम्रोमा दसैँमा दक्षिणा दिने चलन हुँदैन थियो ।

बुवाआमा दाजुहरूसँग बस्नुभएन । हामी छोरीहरु सँगै बस्नुभयो । आमाको किरियाकर्म हामीले नै गरेको हौँ । मेरो बहिनीले दागबत्ती दिएको । त्यसबेला पनि दाजुभाइ आएनन् ।

छोरीलाई सम्पत्ति दिएको रिसकै कारण ?
खै, होला नि । आमाबुवा जस्तो नै गरेनन् । तिनीहरूसँग धेरै रिस थियो । दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध नै बिरानो बनाइदियो । सम्पत्तिसँगै उनीहरूको विचारधारा पनि मिलेन हामीसँग ।

महिलाहरूलाई पुरुषले सधैँ हेप्छन् है ?
हो नि । महिला हिंसा धेरै छ हाम्रो समाजमा । मैले पनि भोगेँ । सानैदेखि बाबुआमा दाजुभाइको झगडा देखेर दिक्क भएको थिएँ । त्यही पीडाले जागिर खाएको हुँ । २० वर्षको उमेरमा जागिर सुरु गरेको थिएँ । मैले जागिर खाँदा कसैलाई पनि थाहै दिइनँ । परीक्षा पनि दिनुपरेको थिएन । अन्तर्वार्ता दिएको थिएँ । पास भएँ । 

त्यसबेला कुन स्कूल पढनुभएको थियो  ?
घर नजिकैको नवआदर्श भन्‍ने स्कूल पढेँ । मलाई अहिले पनि थाहा छ त्यो बेला बिरामी परेको थिएँ । पछि महिला समूहमा मात्रै पढेँ । पुरुषहरूलाई त्यहाँ राखिँदैन थियो । छोरीहरूलाई अझै पढाउँदैन थिए । तर, हाम्रा बुवाले पढाउनुभयो । बुवा अलिक शिक्षित हुनुहुन्थ्यो । मैले भनेपछि बुवाले नाइँ भन्‍नुहुन्‍नथ्यो । 

तपाईंले कतिसम्म पढ्नुभयो ? कहाँ पढ्नुभयो ?
मैले बीएसम्म पढेँ । एसएलसी पास गरेपछि पीके क्याम्पस गएँ । त्यहाँ पास भइयो । पास भएपछि जागिरमा गइहालियो ।

त्यसबेला कस्तो थियो त यो काठमाडौँ ?
एकदम रमाइलो थियो । अहिलेको जस्तो भीडभाड थिएन । बाटोमा सहजै हिँड्न पाइन्थ्यो । चहुरमा बसेर खेल्न पाइन्थ्यो । गाडी एउटा दुइटा हुन्थे । एक किलोमिटर टाढाबाट गाडी आयो भने गाडी आयो भनेर हेरिरहन्थ्यौँ । सुरुमा एउटा गाडी आउँदा बाटो काट्न डराइथ्यो । घरहरू पनि एउटा एउटा मात्रै थिए । हामी सबै यही टुँडिखेल र यस आसपासका मैदानमा खेलेर हुर्किएका हौँ । अहिले सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । भएका हाम्रा खेल्ने मैदानहरू सबै सकिए । पहिले त सबै खुल्ला थियो ।

तपाईं स्कुल पढ्दा साथीसँगी कस्ता थिए । कहाँका हुन्थे ?
त्यसबेला प्रायः सबै यहीँका बासिन्दा थिए । नेवारहरू नै थिए । पीके क्याम्पसमा केटी मात्रै थियौँ । त्यहाँ बाहिरका मान्छे एकदमै कम थिए ।

पहिलो पटक पढाउन जाँदा स्कुल कस्तो थियो ? 
मैले २०३२ सालमा जागिर गरेको । त्यसबेला बाहिरका मानिस पनि थिए । तर कमै थिए । अलि बढी नेवारहरू थिए । मैले सुरुमा प्रावि तहमा जागिर खाएँ । पहिले नेपाल युवक विद्यालय पकनाजोलमा जागिर सुरु गरेँ । १२ वर्षसम्म त्यहाँ पढाएँ । त्यसपछि इचंगुमा पढाएँ । त्यहीँबाट रिटायर्ड भएँ । स्कूलको हेडमिस भएर रिटायर्ड भएँ । 

कुन विषय पढाउनुहुन्थ्यो नि ?
म अंग्रेजी पढाउँथे । पहिले इतिहास विषय लिएको भएकाले सामाजिक पनि पढाएँ । 

पद्मकन्यामा तपाईंका साथीहरू–गुरुहरू कोही सम्झनुहुन्छ ?
मलाई संगीतमा रुचि थियो । मेरो दाइ पनि त्यहाँ पढाउने शिक्षक थिए । संगीत विषय लिएर पढ्छु भनेको दाइले मानेनन् । मेरो नाम काटिदिए । दाइले आफ्नै इच्छाले इतिहास विषय राखिदियो । पछि थाहा नै नदिई ऐच्छिक विषयका रूपमा संगीत लिएँ । गोपाल योञ्जन म्युजिक सिकाउनु हुन्थ्यो । रंगराव कादम्बरी भन्‍ने हुनुहुन्थ्यो अर्का गुरु । उहाँ भारतको हुनुहुन्थ्यो । काठमाडौँकै शिक्षिकासँग विवाह गर्नुभएको थियो । 

तपाईँलाई मनपर्ने गीत कुन हो ? गाइदिनु न ।
पुराना गीतहरू धेरै सबै नै मन पर्छ । अहिले त बिर्सिएँ । म अहिले भजनतिर लागेँ । 
राजमती कुमती (यो गीत पूरा गाएर ।) 

राजमती भनेको के हो ?
त्यतिबेलाकी राम्री केटी हुन्, राजमती । उनीहरू गरिब थिए । भट्टी पसल खोलेका थिए । जो पनि त्यही भट्टीमा खान जान्थे । काठमाडौँ जुनै केटाहरूले पनि राजमती देखेपछि मोहित भएर यो गीत गाएको हो । 

तपाईं दिदीबहिनीहरूले विवाह नगर्नुको कारण के हो, भन्‍न मिल्छ भने मात्र भनिदिनुस् न ?
मलाई चैँ सानैदेखि विवाहप्रति खासै रुचि भएन । हाम्रो घरको परिस्थिति पनि मिलेन । विवाह गरेपछि पुरुषकै हैकममा बस्नुपर्छ । आफ्ना इच्छाहरू मार्नुपर्छ । त्यसैले मैले विवाह गरिनँ । अहिले मैले आफ्ना इच्छाहरू पूरा गरेँ । महिलाहरू हेपिएको देखेर पनि विवाह गर्न मन लागेन । आप्mनै परिवारमा पनि बुवा र आमा मिल्नुहुन्‍न थियो । उहाँहरूको सधैँ झगडा परिरहन्थ्यो । मेरी आमा सधैँ रोइरहेकी देख्थेँ । पछि दाइ भाउजूको पनि उस्तै झगडा पथ्र्यो । बच्चाको अगाडि बाबुआमाले कहिल्यै पनि झगडा गर्नुहुन्‍न । त्यो मेरा बुवाआमाले पनि बुझेनन् । मेरो परिवारमा मात्रै होइन, सबै वरपर त्यस्तै नै झगडा पर्थ्यो । महिलाले पुरुष कुटेको कहिल्यै देखिएन । महिलालाई पुरुषले कुटेको मात्रै देखियो । यसैकारण विवाहप्रति मेरो मन मर्‍यो ।

अहिले दसैँ आउँदै छ । तपाईँहरू दसैँ कसरी मनाउनुहुन्थ्यो पहिले ?
दसैँ रमाइलै हुन्थ्यो त्यो बेला । मेरो बुवाआमा पूजाआजा गर्नुहुथ्यो । पूजा नसकिँदासम्म हामीले पनि भोकै बस्नुपथ्र्यो । पूजा सकिएपछि भोज खान पाइन्थ्यो । भात खान मिल्दैन थियो । खीर खाइन्थ्यो । मासु अनिवार्य जस्तै थियो । त्यसबेलाको दसैँमा यस्तो भीडभाड खासै हुँदैन थियो । पसलहरू सामान्य थिए । लुगाहरू खासै किन्‍न पर्दैन थियो । घरमै सिलाउने सिलाइन्थ्यो । चंगा उडाइन्थ्यो । मैले पनि धेरै उडाएँ । दसैँमा मामाघर जान्थ्यौँ बनेपा । हामी हिँडेरै बनेपा पुग्थ्यौँ । टीका लगाउन वरिपरि घरहरुमा जान्थ्यौँ । हाम्रोमा दसैँमा दक्षिणा दिने चलन हुँदैन थियो । हाम्रो टीका लगाइदिने, भोज खुवाउने हुन्थ्यो । तपार्ईंहरूको सिको गरेर अहिले दक्षिणा दिने चलन आयो । 

तपाईं घरमा कुन भाषा बोल्नुहुन्थ्यो ?
नेवार भाषा नै बोल्थ्यौँ । 

अनि स्कूल पढ्दा गाह्रो हुन्थेन, नेपाली भाषा बुझ्‍न ?
स्कूल पढ्दा सुरुमा धेरै गाह्रो भयो । आफ्‍नै भाषामा पढ्न पाइएको भए अझै मज्जाले बुझ्‍न सकिन्थ्यो होला । नेवार भाषामा पढाउने चलन नै थिएन । पछि चाहिँ नेपालीमा बानी भयो । 

तपाईंको मातृभाषा नेवार हो भन्‍ने नबुझेर, दोस्रो भाषा नेपाली राम्ररी बोल्न नजान्‍ने भनेर जिस्काउने, हेप्ने गर्थे ?
त्यसबेला धेरै जिस्काउँदैन थिए । भाषाकै कारण होच्याउँदैन थिए । अहिले पो हेप्छन् बरु । किनकि हामी यतैका धेरै मानिस थियौँ त्यति बेला । बाहिरका मानिस धेरै भएपछि हेप्न थाले । अहिले पनि हाम्रो उच्चारणलाई लिएर खिसीट्यिुरी गरिरहेका हुन्छन् । 

तपाईँ जहाँ हुर्किनुभयो, त्यो नेवारहरूले बिस्तारै छाड्दै गइरहेका छन् नि ? किन होला ?
ठाउँ नपुगेर, ठाउँ भद्रगोल भएर बाहिर गएका हुन् । पहिले परिवार संयुक्त थियो । पछि सबै एकै ठाउँमा बस्न नसक्ने भएर बाहिर निस्किए । मेरै मामाहरूको एकै घरमा ५० जना जति हुनुहुन्थ्यो । दैनिक भोजजस्तै हुन्थ्यो । पछि सबै शिक्षित बन्दै जाँदा हाम्रा आवश्यकता पनि बढे । त्यही भएर बाहिर गएका हुन् । कतिपय नेवारहरू एउटा कोठामै पकाउने, खाने गरिरहेका छन् । गल्लीहरूमा गाडी चलाउन सकिएन । बिरामी हुँदा एम्बुलेन्स छिर्दैन । त्यसैले सबै बाहिर खुल्ला ठाउँतिर सर्दै गए । सबै रिङरोडतिर गए । 

तपाईँहरू अलि अघिसम्म बानेश्वर कोटेश्वरतिर घर भएका मान्छेसम्मलाई काँठे भन्‍नु्हुन्थ्यो । अहिले तपाईँहरू नै काँठतिर जनुपर्‍यो होइन त ?
(हाँसो) हो । हामीलाई यहाँ छाडेर जान बाध्यता भयो । आप्mना  आवश्यकता पूरा गर्न काँठतिर गए धेरै । हामी पनि भुइँचासोपछि वसन्तपुरबाट टेकु सर्‍यौँ ।

नजिकै सर्नुभएन त तपाईं ? 
मलाई आफ्नो वडा छाड्न मन लागेन । यहाँको ठाउँसँगको छुट्टै प्रेम छ । जन्मेहुर्केको ठाउँ छाड्न मन लागेन ।

वसन्तपुरमा जात्राहरू, बाजाहरु, रमाइलो धेरै । अहिले कस्तो छ त ?
अहिले बसेको ठाउँमा हुँदैन । त्यहाँ यहाँको जस्तो घरबाटै जात्रा हेर्ने हुँदैन । बाजाहरू पनि वसन्तपुरको जस्तो बज्दैन । त्यो कुराको मिस हुन्छ । टेकुमा बाहिरतिरका मान्छे पनि थुप्रै छन् । त्यो भएर पुरानो हाम्रो सांस्कृतिक कार्यक्रमहरू कम हुन्छ । ती पुराना यादहरू सम्झन दौडिएर वसन्तपुर आइहाल्छु ।

संगीत विषय लिएर पढ्छु भनेको दाइले मानेनन् । दाइले आफ्नै इच्छाले इतिहास विषय राखिदियो । पछि थाहा नै नदिई ऐच्छिक विषयका रूपमा संगीत लिएँ । गोपाल योञ्जन म्युजिक सिकाउनु हुन्थ्यो ।

वसन्तपुर छाड्दिन थिएँ । तर, मलाई भुइँचालोले बाध्यता बनायो । पुरानो घर भत्कियो । यहाँ घर बनाउन सकिएन । त्यसैले उता गएँ । टेकु गए पनि नजिकै भएकाले धेरै दुःखी भने छैन । 

तपाईं अहिले नै सांस्कृतिक संस्था दर्ता गर्न नगरपालिका जाँदै हुनुहुन्छ । नेतृत्वमा गैरनेवार हुँदा यहाँको सांस्कृतिक कुरालाई कत्तिको बुझ्‍दा रहेछन् ?
मेयरका रुपमा बालेन भर्खरै आएका छन् । उनले अध्ययन गर्दै होलान् । सार्वजनिक जग्गा अतिक्रमण रोकेको पनि ठीकै लाग्यो । तर, अहिले टुकुचामा बनेको घर भत्काएको चैँ अलि ठीक भएन कि भन्‍ने लाग्यो । किनकि त्यो टुकुचामाथि बनेका संरचना आज बनेका होइनन् । राणाकालमै बनेका हुन् । त्यहाँका मानिसहरूले सरकारकै अनुमतिमा बनाएका भवन हुन् । तिनीहरूलाई अहिले त्यसरी विस्थापित गर्नुहुँदैन जस्तो लाग्छ । मुख्य कुरा यहाँको संस्कृतिमा डोजर चलाउन दिनुभएन । 

यहाँको खोलानाला कस्तो थियो त, तपाईंले थाहा पाउँदा ? के–के गर्नुहुन्थ्यो खोलामा ?
पहिले बागमती सफा थियो । त्यहाँ नुहाउनसमेत जान्थ्यौँ । विष्णुमती पनि सफा थियो । फोहोर फ्याँकिदैन थियो खोलामा । बुवाले पूजा गर्नलाई त्यही बाग्मतीबाट जल लिएर आउनुहुन्थ्यो, अहिले सबैले ट्वाइलेट त्यहीँ मिसाइदिए । हामी छेउमा पुग्यौँ भने नाक थुनेर हिँड्नुपर्ने भयो अहिले ।

नुहाउने कोठा त थिएन, चर्पी साझा थियो, नुहाउन अप्ठेरो हुन्थ्यो ?
त्यसबेला त्यही थियो चलन । हाम्रोमा ट्याइलेट हुँदैन थियो । सबैको साझा हुन्थ्यो । पानी आफैँ लिएर जानुपथ्र्यो चर्पी । मामा घरमा जाँदा म कति सधैँ चहुरमा गएर दिसापिसाब गर्नुपथ्र्यो । चर्पीको दुःखले मात्र मामाघर जान मन पर्दैनथ्यो ।

तपाईँकी बहिनी के गर्नुहुन्छ ?
घरमै बस्छे । पढेकी छ । तर, मेरो पालामा जस्तो सजिलो भएन उसलाई जागिर पाउन । त्यसैले खाइन उसले । दिदीको बिहे भएको थियो । तर, उहाँ पनि हामीसितै बस्नुभयो । 

बिहे नगरी बस्दा कस्तो अनुभव हुँदो रहेछ ? एक्लो महसुस भएन ?
मलाई त लागेन । साथीभाइ सँधै सँगै हुन्छन् । 

जीवनमा प्रेम भयो कि भएन ?
प्रेम त कति भयो भयो नि । तर, विवाह गरिनँ । प्रेमसम्म ठीकै थियो । प्रेममा परेँ म पनि । विवाह भएपछि पुरुषहरूले हामीलाई मजदुर बनाउँछन् भनेर, मजदुरै मजदुर बनाएको देखेर विवाह गरिनँ । 

प्रेम गर्न गाह्रो थियो होला है त्यो बेला ? घर र समाजको डर थियो ?
खाने मुखलाई जुँगाले छेक्दैन नि । झ्‍यालबाटै त भाग्छन् । (हाँस्दै)

तपाईँलाई शिक्षा र जागिरले धेरै सहज बनायो है जिन्दगी जिउन ?
हो । मलाई मेरो स्वतन्त्रतामा बाँच्न यही जागिरले सजिलो बनाइदियो । हामी महिलाहरूलाई पढ्न नदिएर, जागिर खान नदिएर हामी पछि पर्‍यौँ । मैले नपढेको भए, जागिर खान पाउँदिन थिए । त्यसैले महिलाको जीवनमा शिक्षाको ठूलो महत्व रहेछ । शिक्षा नपाएका मेरा कतिपय साथीसँगी अहिले पनि श्रीमान्को यातना सहेरै भए पनि पुरुषको घर बचाउन बसेका छन् । 

यो पनि पढनुहोस् :


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x