वार्ता

कांग्रेसको घोषणापत्र लेखिरहेका २२ वर्षीय युवा विकल राईसँग कुराकानी

'राज्यले युवाशक्तिलाई नबुझ्‍ने हो भने नेपाल पनि नेपालीहरूको सपनासँगै बूढो हुन्छ'

सदिक्षा आचार्य |
असोज १२, २०७९ बुधबार ११:५९ बजे

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरू चुनावी घोषणापत्र तयार गरिरहेका छन् । यसै सिलसिलामा नेपाली कांग्रेस पार्टीले पनि घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४२ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन गरेको छ । उक्त समितिमा विभिन्न क्षेत्रका व्यक्तिहरू छन् । समितिमा अर्थ, समाजशास्त्र, नीति, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिका लगायतका विभिन्न क्षेत्रका जानकार र अध्येता छन् । समितिमा २२ वर्षीय विकल राई पनि छन् । खोटाङका उनी पहिलो पटक भोट हाल्दै छन् । काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत राई सार्वजनिक नीतिका विद्यार्थी हुन् । उनी युवाका क्षेत्रमा नीतिगत सुधार हुन आवश्यक रहेको बताउँछन् । ‘युवाका मुद्दा हेर्न राज्यले युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् आदि निकाय त बनाएको छ तर अधिकार प्रर्याप्त छैन,’ उनी भन्छन् । यसै सन्दर्भमा इकागजकर्मी सदिक्षा आचार्यले राईसँग गरेको कुराकानी :

राजनीतिक अभियानमा कसरी जोडिनुभयो ? 
मेरो बाबाले आफ्नो यौवनको सारा उमेर हाम्रो शिक्षा, हाम्रो हरेक अवसर किन्नका निमित्त विदेशमा बिताउनुभयो । यो उहाँको बाध्यता थियो । यो मेरो बाबाको मात्र कथा होइन, आम नेपालीको कथा हो । परिवारका अधिक सदस्य लाहुरे परिवेशको हुँदै गर्दा कता कता लाहुरे बन्नका निम्ति अप्रत्यक्ष दबाब पनि आउँथे । तर पुस्तौँ पुस्तासम्म परदेशी हुन खोजेर हुँदैन, बाध्यताले विदेशिनुपर्ने नागरिक भएको देशमै बसेर खुसी किन्ने सपनाको खातिर मैले काम गर्नुपर्छ भन्ने सोच आउँथ्यो । सानैदेखि एउटा राजनीतिक परिवेशमा हुर्कने अवसर पाएँ । जिल्लाको राजनीतिका विषयमा सानैदेखि ‘कोठे बैठक’हरू सुन्ने अवसर पाएको थिएँ । यथास्थिति चिर्नका लागि पसिना बगाउने, पौरख खर्चने हो भने देशमा आवश्यक परिवर्तन कस्ले ल्याउने भन्ने प्रश्नले मलाई यतातिर प्रेरणा दियो । 


कुन कुरालाई प्राथमिकतामा राख्नुभएको छ ?
पार्टीको र प्रकारान्तरले देशको भविष्यको कार्यदिशा र कार्यक्रम तय गर्ने ठाउँमा फस्ट टाइम भोटर र समग्र युवाहरूको मुद्दा र कार्यक्रम प्रतिनिधित्व गर्ने जिम्मेवारीलाई निकै महत्वका साथ लिएको छु । अझ मैले यसलाई जिम्मेवारी भन्दा धेरै युवाहरूको भविष्य कोर्ने अवसरका रूपमा लिएको छु । 
नेपाल आफैँमा युवाले भरिपूर्ण मुलुक भए पनि युवाको क्षेत्रमा राज्यले भाषणबाहेक केही गर्न सकेको छैन ।  
नेपालले जलस्रोत र पर्यटनलाई आफ्नो पुँजी मानेझैँ युवा पुस्तालाई पनि सम्पत्तिका रूपमा बुझ्न नसकेको स्थिति छ । समयमै राज्यले युवाशक्तिलाई नबुझ्ने हो भने नेपाल पनि नेपालीहरूको सपनासँगै बूढो हुन्छ र राज्यले पश्चात्तापबाहेक गर्नलाई बाँकी केही हुनेछैन ।  

राज्य कसरी सफलतातिर लम्किन्छ ?
युवा क्रस कटिङ इस्यू भएकाले युवाहरूको क्षेत्रमा ठोक्किने हरेक कामलाई ‘वान डोर पोलिसी’अन्तर्गत निकाय बनाए मात्र सफलता हासिल गर्न सक्छ । साथै युवाकै क्षेत्रमा काम गरेर युवाको भावना बुझ्न सक्ने युवा मन्त्री राज्यले पाउन सके मात्र युवाहरूको क्षेत्रमा उल्लेखनीय प्रगति हुनसक्छ ।  

तपाईंको संकल्प के छ ?
आजको युवा पुस्ता विश्व दृष्टिकोण राख्ने हैसियतमा पुगेको छ । संस्कृति सँगसँगै प्रविधिको, वातावरणको दिगो विकासका क्षेत्रमा चासो छ । हरेक युवाले अपनत्व महसुस गर्न सक्ने युवामैत्री घोषणापत्र निर्माणमा आफूले सक्दो मेहनत गर्ने संकल्प छ ।

जिम्मेवारीका हिसाबले के-के मा रहनुभयो ?
युवा सरोकारका विषयमा नीतिगत पैरवी गर्ने युवा संस्थाहरूको छाता संगठन ‘नेपाल युवा संस्था सञ्जाल (आयोन)’ को अध्यक्ष छु । विगत ६ वर्षदेखि सातै प्रदेशका हजारौं युवाहरूसँग सुशासन, लोकतन्त्रदेखि लिएर नेतृत्व विकासका विषयमा अन्तक्रिया गरिसकेको छु । तत्कालको मेरो जिम्मेवारी घोषणापत्र निर्माण समितिमा विभिन्न क्षेत्रबाट सुझाव संकलन गर्ने उपसमितिको संयोजकको जिम्मा छ । 

अहिलेको घोषणापत्र निर्माण समितिमा पृथक् के छ ?
घोषणापत्र निर्माणका लागि नेपाली कांग्रेसले बडो गम्भीरतापूर्वक काम गरेको छ । यहाँ विभिन्न समुदाय, भूगोलको प्रतिनिधित्व छ । जसले विगतभन्दा पृथक् भएको समेत देखाएको छ । 

सुझाव संकलन कसरी गर्दै हुनुहुन्छ ?
हामीले विभिन्न सामाजिक सञ्जालको उच्चतम प्रयोग गर्दै ह्वाट्सएप, फेसबुक, फोन, भाइबरबाटै आएका सुझाव संकलन गरिरहेका छौं । डिजिटल माध्यम, क्यूआर कोड स्क्यान गरेर, ‘कल रेकर्डिङ’मार्फत संकलन गरेका छौं । फरक फरक भूगोल, क्षेत्र, लिङ्ग, समुदाय, उद्योगी, व्यवसायी, अपाङ्गता भएका, खेलाडी, विद्यार्थी, वैदेशिक रोजगारमा रहेको युवाको प्रतिनिधित्व हुने गरी सुझाव संकलन गर्ने प्रतिबद्धता छ ।

राजनीतिमा जोडिएपछि के कमाउनुभयो र के गुमाएजस्तो लाग्छ ?
म सँगैका साथीहरू जीवनमा ‘सेक्युरिटी’ खोजिरहेका छन । म त्यो कुरामा पछि परेको छु कि जस्तो लाग्छ । अर्कोतिर मैले नयाँ परिवार, साथीभाइ कमाएको छु । खुसी र सन्तुष्टि कमाए जस्तो लाग्छ । आफूमा विश्वास गरेको कुरालाई काम बनाएर गर्न पाउनु ‘प्रिभिलेज’ हो मेरा लागि ।

तपाईंको व्यक्तिगत मुद्दा के छ ?
घोषणापत्रमा  मेरो ‘पर्सनल एजेन्डा’ भनेको देशमा युवाक्षेत्र हेर्ने निकायलाई बढी अधिकार दिनुपर्छ । स्रोत–साधनले सम्पन्न बनाउनुपर्छ । स्रोत पनि छैन, अधिकार पनि छैन, अनि परिवर्तन कसरी आउँछ ? नीतिगतरूपमा यस्ता सुधार ल्याउन म लागिरहेको छु । कांग्रेसले तयार पार्ने हरेक कार्यक्रम युवामैत्री बनाउनका लागि पनि निरन्तर लागिरहेको छु । युवाले अपनत्व महसुस गरोस् । मेरो सार, मेरो एजेन्डा युवा केन्द्रित र वातावरणमैत्री होस् भन्ने छ । 

युवाहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
मेरो सुझाव, मेरो अनुरोध राजनीतिबाट टाढा कहिल्यै नरहनुस् । तपाईं हाम्रो दैनिकी सबै कुरालाई राजनीतिले प्रभाव पारेको हुन्छ । लोकतान्त्रिक व्यवस्थामा राज्यको शक्ति जनतामा निहित छ । निर्वाचनमा प्रतिनिधिमार्फत हामीले त्यो शक्ति सही व्यक्ति चुन्नमा लगाउनुपर्छ । कांग्रेसलाई नै भोट हाल्नुपर्छ भन्ने छैन । सही व्यक्ति चुन्नुहोस् । कम्तीमा मत हाल्न जानुहोस् । तपाईं मात्र नभएर सारा नेपालसँग जोडिएको कुरा हो यो । त्यसैले पनि राजनीतिमा चासो राख्नुहोस् । तपाईंको एक भोटको धेरै महत्व हुन्छ । त्यो शक्तिको उपयोग गर्नुहोस् । 
 

भिडियो पनि हेर्नुहोस् :

 


Author

थप समाचार
x