वार्ता

‘कार्यकर्ताहरू भक्तराममा परिणत भए, कम्युनिस्टहरू नाम मात्रका कम्युनिस्ट रहे’

कमल विष्ट |
भदौ २४, २०७९ १२:५३ बजे

३ जेठ २०७५ । नेपालका दुई ठूला कम्युनिस्ट दल नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । यसले वाम वृत्तमा ठूलो खुसीयाली छायो । तर, त्यो खुसी धेरै समय टिक्न सकेन । विस्तारै प्रचण्ड र ओलीबीच सत्ता सञ्चालन र पार्टी हाँक्ने विषयमा मतभेद देखिन थाल्यो । मनमुटाव दिनप्रतिदिन बढ्दै गयो । एक विन्दुमा पुगेर विवाद कति चुलियो भने नेपालकै ठूलो दल कालान्तरमा तीन फ्याकमा विभाजित भयो । 

यो एउटा प्रतिनिधि दृष्टान्त मात्र हो । नेपाली राजनीतिक वृत्तमा कम्युनिस्टबीच यस्ता एकता र सहमति थुप्रै पल्ट भएका छन् । तर, ती कुनै पनि एकताहरू दीर्घकालीन हुन सकेनन् । प्रतिनिधि र प्रदेशसभाको चुनावी दिनदिनै नजिकिँदै छ । राजनीतिक वृत्तमा फेरि वाम एकताको कुरा पेचिलो बनिरहेको छ । शीर्षस्थ नेताहरू प्रत्यक्ष–परोक्ष रुपमा वाम एकताको विकल्प छैन भन्ने मत राखिरहेका छन् । 


त्यसो त वाम एकताको विषय स्थानीय चुनावअघि देखि नै उठेको थियो । थुप्रै प्रयास पनि भए । तर, ती सफल हुन सकेनन् । फेरि कम्युनिस्ट घटकहरू एक ठाउँमा आउने चलिरहेको छ । तर, के यो सम्भव छ ? किन कम्युनिस्टहरूको एकता दीर्घकालीन हुन सक्दैन ? विश्व परिप्रेक्ष्यमा कम्युनिस्ट एकताको अवस्था के छ ? यी र यस्तै प्रश्नहरू इकागजका कमल विष्टले राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरसँग सोधेका छन् । प्रस्तुत छ, उक्त वार्तालापको सम्पादित अंश ।

नेपालमा कम्युनिस्ट घटकबीच पटकपटक एकता भयो, पटकपटक फुट आयो । उनीहरू बीचको एकता दीर्घकालीन नहुनुको मुख्य कारण के हो ? 
यसमा मेरा मूलतः दुइटा मूल्यांकन छन् । यो पुष्पलाल श्रेष्ठले वि.सं २००६ मा कम्युनिस्ट पार्टी स्थापना गरेदेखि नै देखिँदै आएको दृष्टान्त हो । नेपाली कम्युनिष्ट आन्दोलन सुरुवातदेखि नै विश्व र भारतीय कम्युनिस्ट आन्दोलनको प्रभावमा ज्यादा रह्यो । भारतीय कम्युनिस्टहरूले जे दृष्टिकोण लिए, नेपाली कम्युनिस्ट आन्दोलन त्यसबाट अछुतो रहन सकेन । उनीहरूको वर्ग संघर्षलाई हेर्ने जुन दृष्टिकोण थियो, नेपाली कम्युनिस्टमा पनि त्यही नै रह्यो । उनीहरूको पार्टी र पार्टीको आन्तरिक विचारको प्रभाव हामीमा पर्यो । 

नेपाली कम्युनिस्टहरू पछि सत्तामा आए । सत्तामा आएपछि नयाँ समीकरण भयो । एकातिर मनमोहन अधिकारी, भरतमोहन अधिकारी, डिपी अधिकारी, शैलेन्द्र, केवशजंग रायमाझीजीहरू रहे भने पुष्पलाल श्रेष्ठजी अर्कातिर रहे । उनीहरूबीच अहमको टकराव रह्यो, सांस्कृतिक टकराव पनि रह्यो । 

आफ्नो अहमको टकरावलाई छोप्न उनीहरूले सधैँ अर्को एउटा निमित्त कारण देखाए । हुने एउटा, देखाइने अर्को । कम्युनिस्टहरूबीच सैद्धान्तिकभन्दा अहमको टकरावहरू बढी देखिए । उनीहरूमा कोही उदाउँदा आफू विस्थापित भइन्छ मान्यताहरू विकास भए ।

सारमा भन्नुपर्दा, नेपाली कम्युनिस्ट आन्दोलन सुरुदेखि नै भारतलगायत अन्य मुलुकका कम्युनिस्ट आन्दोलनको प्रभावबाट मुक्त हुन सकेन । उनीहरू बीच सधैँ अहमको टकराव भइरह्यो । उनीहरू बीचको एकता दीर्घकालीन हुन नसक्नुको कारण यही नै हो । 

नेपाली समाजको चरित्र युरोपको भन्दा फरक हुनु पनि एउटा कारण हो । माओवादी आन्दोलनले नेपालको वर्ग समाजको विश्लेषण जुन तरिकाले गर्छ, त्यो युरोपको जस्तो छैन । भारतवर्षमा वर्ग र वर्णको आधारमा वर्गको उत्पत्ति हुन्छ । जातीय र धार्मिक संघर्षले वर्गको निर्माण हुन्छ । तर, युरोपमा त्यस्तो हुँदैन । 

एकताको सन्दर्भमा विश्वमा कम्युनिस्टहरूको दृष्टान्त के छ ? 
सिद्धान्तका नाममा नेतृत्वहरूमा अहमको टकराव अन्य मुलुकमा पनि भएका छन् । भारतमा पनि कम्युनिस्टहरू विभाजित भए, सीपीआई र सीपीएम मा । उनीहरू भारतको समाजको चरित्रलाई बुझ्ने भन्दा पनि रुसलाई के मान्ने भन्नेमा केन्द्रित भए । युरोपमा पनि एकातिर लेलिनवादको अभ्यास भयो, अर्कोतर्फ ट्रस्किवादको अभ्यास भयो । पछि युरोपमा हामीले आफ्नै तरिकाले जानुपर्छ, अरुको तरिकाले जानु हुँदैन भनेर युरो कम्युनिजम्को सुरु भयो । अमेरिकामा पनि शीतयुद्धसँगै विभाजन आएको देखिन्छ । 

२०७४ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नेपाली वामवृत्तमा ठूलो उत्साह छाएको थियो । तर, प्रचण्ड र ओलीबीचको सहकार्य पनि लामो समय टिकेन । किन ?
वास्तवमा भन्ने हो भने प्रचण्ड र केपीबीचको त्यो एकता, एकता नै थिएन । दुईबीचको चालबाजी थियो । दुवैलाई अस्तित्वको संकट परिरहेका बेला त्यो एउटा बाध्यता थियो । घ्यू र तरबार बेचुवाबीचको त्यो एकता टिक्ने आधार थिएन । मैले त त्यतिबेलै विभिन्न अन्तर्वार्तामा भनेको थिएँ– यो अल्पकालीन हो र यसको आयु अत्यन्तै छोटो हुन्छ । 

आन्तरिक अन्तर्विरोधका कारण २०७४ को चुनावमा ओलीको गढ मानिने झापामा माधवकुमार नेपाल समूहले हरायो । नेपालको गढ मानिने रौतहटमा ओली समूहले हरायो । एमालेले पार्टीभित्रको आन्तरिक विरोध व्यवस्थापन गर्न सकेन । यता माओवादीमा पनि आन्तरिक विरोध चुलिएको थियो । बाबुराम भट्टराई र मोहन वैद्य पार्टीबाट बाहिरिसक्नुभएको थियो । चुनावमा एकातिर वर्षमान पुनको गुट थियो, अर्कोतिर जनार्दन शर्माको । माओवादीले पनि गुट समस्याको समाधान गर्न सकेन । ओली र प्रचण्ड दुवैलाई यो समाधान गर्न कारण चाहिएको थियो । त्यसैले उनीहरूले सानो समस्यालाई निराकरण गर्न ठूलो समस्या राखिदिए । दुवैलाई लागेको थियो– पार्टी एकता भएपछि गुटको समस्या निरुपण हुन्छ । जुन चुत्थो विकल्प थियो । 

पार्टीलाई ठूलो बनाएर विश्व कम्युनिस्ट आन्दोलनलाई ठूलो बनाउने उनीहरूको सपना २०७४ सालसम्म आइपुग्दा तुहिइसकेको थियो । त्यतिबेलासम्म दुवै नामका मात्रै ‘कम्युनिष्ट’ पार्टीहरू भइसकेका थिए । सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा परिणत भइसकेको थियो । 

दुवैमा चरम अहम् थियो । जुन स्वाभिमानका रुपमा थिएन । अहमको टकरावका रुपमा थियो । दुवैबीच तिगडमबाज चल्यो, एकले अर्कालाई ध्वस्त पार्ने अभियान सुरु भयो । एकले अर्काको नेतृत्व स्वीकारेर अगाडि बढ्ने नभई मौका पाउने बित्तिकै पछार्ने दाउमा देखिए ।

चुनाव नजिकिँदै छ । एक्लाएक्लै चुनावमा जाँदा नतिजा राम्रो नआउने अनुमानसहित फेरि शीर्षस्थ नेताहरू वाम एकताको विकल्प छैन भनिरहेका छन् । वाम एकता फेरि सम्भव छ ? 
आवश्यकता नै भएपछि राजनीतिमा असम्भव भन्ने हुँदैन । मैले अघि भनिसकेँ, वाम एकता भन्नाले ‘कोट’भित्रको एकता हुन्छ । नेपालको सन्दर्भमा मान्छे संकेतले चेत्छ, पशु परिणामले चेत्छ । विश्वमै कम्युनिस्टको ‘क’ देख्न नचाइरहेका बेलामा यहाँ एक्लाएक्लै जान सकिँदैन भन्ने उनीहरूलाई आत्मबोध भयो होला । ठक्कर खाएपछि उनीहरूलाई यस्तो लाग्नु स्वाभाविक हो ।

केही गरी एकता भयो भने दीर्घकालीन होला ? 
अहिले सबै कम्युनिस्ट पार्टीका नेताहरूमा सांस्कृतिक सामन्तवाद हाबी भइरहेको छ । सामन्तवाद टुट्न सक्छ, तर झुक्न सक्दैन । सबैलाई मालिक बन्नु छ, साथी होइन । जसको प्रतिफल पार्टी, संगठन र आन्दोलनमा देखिन्छ । 

अहिले विश्वमै मान्छेहरू कम्युनिस्टको ‘क’ देख्न पनि चाहँदैनन् भन्नुभयो । माओवादी आन्दोलन त्यति कमजोर अवस्थामा पुगिसक्यो ? 
कम्युनिस्ट आन्दोलनमा माओको सबैभन्दा ठूलो योगदान सांस्कृतिक क्रान्ति हो । जबसम्म हामी संस्कृति र विचार परिवर्तन गर्न सक्दैनौँ, तबसम्म राजनीतिक परिवर्तन दीर्घकालीन रुपमा रहन सक्दैन । जबसम्म हजारौँ वर्षदेखि चल्दै आएको मानव सभ्यताको सांस्कृतिक चिन्तनलाई नयाँ भौतिकवादी चिन्तनमा राख्न सकिँदैन, पूँजी र प्रविधिलाई मानव केन्द्रित चिन्तनमा राख्न सकिँदैन, युद्धविरोधी चिन्तनहरू अगाडि आउन सक्दैनन्, तबसम्म माओले भनेको कम्युनिस्ट आन्दोलन सफल हुन सक्दैन । विज्ञान र प्रविधि अनुकुल आफूलाई परिवर्तन गर्न नसके संसारभरकै माओवादीहरूलाई चुनौती हुन्छ । यो ठूलो चुनौती हो । 

यो चुनौतीको सामना गर्न दक्षिण अमेरिकालगायतका केही ठाउँमा प्रयत्न भएका छन् । तर, अहिले माओवादी आन्दोलन जहाँ पनि संकटमा परेको छ । उसले जहाँ पनि युद्धमा होमिनु परेको छ । केही वर्षसम्म माओवादी आन्दोलन यही अवस्थामा रहन्छ । विश्वकै कम्युनिस्ट परिप्रेक्ष्यमा माओवादी चिन्तनभन्दा ठूलो अर्को चिन्तनधारा चाहिँ विकास हुन सकिरहेको छैन । 

नेपालमा कम्युनिस्ट आन्दोलनको अवस्था के छ ? 
नेपालमा अहिले कम्युनिस्ट आन्दोलन अभियान वा चिन्तनको बीचमा त छ, तर संगठनकै रुपमा चाहिँ सशक्त छैन । नेपाली कम्युनिस्टका केही विचार–धारा पनि देखिएका छन्, तर ती ट्रेडमार्कमा मात्र सीमित छन् ।

तपाईंले माओवादीहरू ‘ट्रेडमार्क’का रुपमा मात्र छन् भन्नुभयो । बेलाबेला चियापसलदेखि बौद्धिक वर्गका गफमा नेपालमा माओवादी नै छैनन् भन्ने तर्कहरू सुनिन्छन् । त्यसो भए त्यो सत्य हो ? 
हो । सत्य हो । नेपालका कम्युनिष्ट र वामपन्थीहरू ट्रेडमार्कका रुपमा मात्र कम्युनिस्ट रहेका छन् । जनमत वाम दलको छ, तर नेताहरूले नै त्यसलाई छियाछिया पारिरहेका छन् । आफ्ना आदर्श, विचार तथा सिद्धान्त भत्काइरहेका छन् । उनीहरू उदारवादमा फसेका छन्, आदर्शहीन नेतृत्वमा फसेका छन् । वाम दलका भएकाले उनीहरू कम्युनिजम् छाड्न पनि सकिरहेका छैनन्, स्वीकार पनि गर्न सकिरहेका छैनन् । 

प्रधानमन्त्री हुनुभन्दा अलि अगाडि केपी शर्मा ओलीले पत्रकार विजय कुमार पाण्डेलाई एउटा अन्तर्वार्ता दिनुभएको थियो । ओलीले त्यस अन्तर्वार्तामा इमान्दार भएर कम्युनिस्ट आन्दोलनबारे केही कुरा भन्नुभएको छ । तर, उहाँ समय र अवस्थाको दबाबमा कति पर्नुभयो भने आफूले भनेको कुरा आफैँले लागू गर्न सक्नुभएन ।

अहिले नेपाली नागरिकले चाहिँ कम्युनिस्टलाई कसरी हेरिरहेका छन् ?

अहिले संसदमा रहेका जति पनि दल र नेताहरू छन्, उनीहरू नागरिकलाई रैतीमा फेर्न अत्यन्तै लालायित छन् । नागरिकलाई नागरिक बनाउन राख्न मिडियाहरूको पनि एकदमै कम भूमिका छ । मिडियाले नागरिकमा आलोचनात्मक चेत भर्न सकिरहेका छैनन् । जब नागरिकमा आलोचनात्मक चेत हुँदैन, तब नागरिकहरू रैती हुन्छन् । एउटा भूगोलमा बसेपछि उनीहरूलाई नागरिक भन्न त सकिन्छ । तर, एउटा भूगोलमा बस्नेवित्तिकै उनीहरू साँचो अर्थमा नागरिक भइहाल्दैनन् । नागरिक हुन न्यूनतम चिन्तन आवश्यक छ । कार्यकर्तामा स्वाभिमान हुन आवश्यक छ । तर, अहिले कोही पनि कार्यकर्ता छैनन्, सबै भक्तराम भएका छन् । सबै पार्टीको दृष्टान्त उही हो । 

मेरा बाजेबराजुले सधैँ कांग्रेसलाई भोट दिए, त्यसैले मैले पनि कांग्रेसलाई भोट दिनुपर्छ भन्ने जुन सोच छ, त्यो चिन्तन वाम वा माओवादीमा पनि विद्यमान छ । भन्नुको अर्थ, मुलुकमा वाम चिन्तनधारा बोक्ने नागरिकहरू छन्, उनीहरूले वामलाई नै भोट दिन्छन् । 

कम्युनिस्टबारे राजनीतिक वृत्तमा एउटा अर्को तर्क पनि बेलाबखत सुनिन्छ– कम्युनिस्टहरू सत्ताको प्रतिपक्षी वा विद्रोहीको भूमिकामा मात्र सफल हुन्छन्, उनीहरू सत्ता सञ्चालनमा सधैँ कमजोर हुन्छन् । तपाईंलाई के लाग्छ ? 
हो । संसारमा वामपन्थीहरू क्रान्ति गर्न जान्ने, तर सत्ताको नेतृत्व गर्न नजान्ने कैयौँ दृष्टान्तहरू छन् । कम्युनिस्टहरूको व्यवस्थापकीय पक्ष सधैँ कमजोर रह्यो । चाहे त्यो संगठनको व्यवस्थापनमा होस् वा सिद्धान्तकाे  व्यवस्थापनमा । भूमिकाको व्यवस्थापनमा होस् वा सत्ता सञ्चालनमा होस् । 

कम्युनिस्टहरूमा आर्ट अफ मार्केटिङ अत्यन्तै कमजोर हुन्छ । उनीहरू आफ्ना मुद्धा र दर्शनलाई मार्केटिङ गर्नमा पनि साह्रै कमजोर देखिएका छन् ।

सत्तामा पुगेपछि कम्युनिस्टहरूलाई अरुभन्दा धेरै मात लाग्छ भन्ने पनि एउटा आरोप छ । हो र ?   
सही हो । अभाव, तनाव र प्रतिकुल अवस्थामा रहेका आदर्शहरू सत्तामा पुगेपछि एकाएक विलीन हुँदा रहेछन् । उनीहरू जीवनभर जुन कुराको विरुद्धमा आन्दोलन गर्छन्, सत्तामा पुगेपछि त्यसको मतियार मात्र बन्दैनन्, त्यसको नेतृत्वसमेत गर्दा रहेछन् । अहिले कम्युनिस्टहरूको जुन हविगत देखिएको छ, त्यो उनीहरूको विचार र आदर्शमा आएको चरित्र स्खलनको परिणाम हो । 

गुम्सिएका महत्वाकांक्षा र अपेक्षाहरूले स्थान पाएपछि अर्कै रुप लिँदा रहेछन् । जसरी चैत–वैशाखमा मुर्झाएको दुबोले अलिकति शीत पाउनेबित्तिकै गाँजिन्छ, त्यसरी नै अवसर पाउँदा उनीहरूको पूँजीवादी महत्वाकांक्षाले प्राथमिकता पाउँछ ।

समावेशिताको ठूल्ठूलो नारा लगाउने कम्युनिस्ट दलहरू नै अहिले सबैभन्दा असमावेशी देखिएका छन् । एमाले र माओवादीका पदाधिकारीमा सीमान्त समुदायको प्रतिनिधित्व शून्यप्रायः छ । किन यस्तो ? 
हो । उनीहरूको नारामात्र लोकप्रिय छ, व्यवहारमा त्यस्तो छैन । उनीहरू आफ्नै नारामा फँसे । समानुपातिक प्रणाली नेताहरूको चाकडीबाज र भ्रष्ट नेता जन्माउने थलो भयोे । संविधानका परिकल्पनाकारहरूले जुन उद्देश्यसाथ यो प्रणालीको स्थापना गरेका थिए, यथार्थमा त्यस्तो भएन । शक्ति र सामथ्र्यका अगाडि आफ्नो पक्षमा वकालत गर्न नसक्ने आवाजविहीनहरूका लागि आरक्षण आवश्यक छ । तर, उनीहरूले त्यसको सदुपयोग गरेनन् । अवसर पाउनेबित्तिकै आफूलाई सामन्ती बनाए । आफूभित्रको सांस्कृतिक समान्तवादको पराजय गर्न नसक्नेहरूले यो प्रणालीको दुरुपयोग गरे ।

समानुपातिक समावेशी प्रणाली ठीक भएन भन्ने आवाजहरू पनि उठिरहेका छन् । तपाईंले पनि यही इंगित गर्न खोज्नुभएको हो ?
होइन । मैले त जुन उद्देश्यसाथ संविधानका परिकल्पनाकारहरूले यो राखेका थिए, त्यो भएन मात्र भनेको हुँ । समानुपातिक प्रणाली हास्यास्पद भयो । नेता र पार्टीले आफ्नो चाकडी गर्नेहरूलाई सांसद बनाए । दिमागमा सांस्कृतिक सामन्तवादको जरो गाढेका नेताहरूका कारण यसको दुरुपयोग भयो । दलित, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यकलगायत सीमान्त समुदायबाट पनि त्यसभित्रका सामन्ती वर्ग आए ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
ad
x