वार्ता

‘पाण्डुलिपि दराजमा थन्क्याउनेबाहेक सबै लेखक बजारमुखी हुन्’

कमल विष्ट |
भदौ २०, २०७९ १२:५६ बजे

सामान्यतया दुई–दुई वर्षको अन्तरालमा पुस्तक लिएर आउने सुबिन भट्टराई यसपालि चार वर्षपछि आएका छन् । किन ढिलो भयो भन्ने प्रश्मा उनी भन्छन्, ‘यसका मूलतः दुई कारण छन् । पहिलो, कारोना कहर र दोस्रो पुस्तकको क्यानभास ।’ सधैँ काठमाडौंलाई मुल परिवेश बनाएर लेख्ने भट्टराई यसपालि आफू मधेस छिरेको बताउँछन् । केही दिनपछि सार्वजनिक हुन लागेको छैटौँ पुस्तक ‘इजोरिया’को प्रमुख परिवेश मधेशको जनकपुर हो । 

प्रकाशोन्मुख पुस्तकका सन्दर्भमा इकागजले भट्टराईसँग संवाद गरेको छ । प्रस्तुत छ इकागजका कमल विष्टले उनीसँग गरेको कुराकानीको सारसंक्षेप; 


तपाईं दुई–दुई वर्षमा पुस्तक लेखिरहने लेखक तर, यसपालि चार वर्षपछि आउँदैहुनुहुन्छ ?  किन ढिला भयो?
दुईवटा कारण छन् । एक कोरोना महामारीको समयमा त्रासको जुन माहोल भयो, त्यसले कलमको शक्तिलाई केही क्षीण बनाइदियो । दोस्रो भनेको ‘इजोरिया’को लागि मैले योपटक मधेशको पृष्ठभूमि छानेँ । यस कारणले आउजाउ, स्थलगत अध्ययन आदिमा केही बढी समय लाग्यो । पुस्तक सुन्दर बनाउनलाई पटक–पटक (योपटक अरुपटक भन्दा बढी नै) पुनर्लेखन पनि गरेँ ।

‘इजोरिया’, पुस्तकको नाम यसअघिका आफ्नै र समग्रमा चलनचल्तीको भन्दा फरक छ । यसको शाब्दिक अर्थ र पृृष्ठभूमिबारे बताइदिनुस् न । 
इजोरिया भनेको जूनको उज्यालो हो । यो शब्द मैले मैथिली भाषाबाट लिएको हुँ । थारु, भोजपुरी आदि भाषामा पनि यो शब्द प्रयोग भएको रहेछ ।

यसले स्पष्ट हुन्छ योपटक मेरो कथा जनकपुरको हो । पुस्तकमा खाली पृष्ठभूमिमात्र मधेसको लिएको हुँ । यसअघि सबै कथा काठमाडौँ केन्द्रित भयो भनेर स्वाद फेर्नका लागि पनि जनकपुर छिरेको हुँ । कथामा भएका पात्रका समस्या त नेपालको जुनसुकै भेगमा गए पनि अथवा नेपाल बाहिरै गएपनि उस्तै हुन् । ‘इजोरिया’ समग्रमा सम्बन्धहरूको कथा हो ।

यति हुँदाहुँदै पनि कथामा धेरै आयामहरू छन् । पाठकले पढेपछि आआफ्नो दृष्टिकोण दिनु नै हुनेछ ।

तपाईं अहिलेसम्म मूलतः प्रेम र त्यसमा आउने उतारचढावबारे लेखिरहनुभएको थियो । अहिले पनि त्यही विषय हो कि केही फरक छ ?  
यो प्रश्न अलिक ढिलो सोध्नुभयो कि ? ‘प्रिय सुफी’ आउँदा नै सोध्नुपर्ने प्रश्न थिएन र यो ?

आफूले लेखिरहेको भन्दा फरक विषयमा लेख्नु भनेको रिस्क मोल्नु हो भन्छन् धेरै लेखक । तपाईंलाई आफूले रिस्क मोलेँ भन्ने लाग्छ कि लाग्दैन ?  
हो, एक हिसाबले मोल्नु नै हो । तर, मैले रिस्क मोलेको यो पहिलो पटक होइन । यसअघि पनि मोलिसकेको छु । त्यसैले त्यस्तो नौलो अनुभूति त केही छैन । मूल कुरा के भने आफ्नो लेखाइमा विश्वास हुनुपर्‍यो । कथाले केही फरक पार्दैन । लेखाइमा शक्ति हुनुपर्छ भन्ने लाग्छ । प्रेमकथा हुँदैमा कमजोर शैली र फितलो भाषा भयो भने त्यसले पनि काम गर्दैन । प्रेमभन्दा बाहिरका विषयमा जाँदैमा त्यसले पाठक नपाउने भन्ने पनि होइन ।

भोलिका दिनमा फेरि प्रेमकथा नलेखुँला भन्न सक्तिनँ । समय र मुडको कुरा त हो ।

काठमाडौंबाट देखिएको जनकपुर वा समग्रमा मधेस आफैँ पुगेर भोग्दा कस्तो लाग्यो ? 
जनकपुर म यही कथा लेख्न भनेर जीवनमै पहिलोचोटी पाइला टेकेँ । बाल्यकालमा तराईका विभिन्न ठाउँमा किस्ता किस्ता गरेर धेरैथोरै समय मेरो नबितेको होइन । तराई भन्नेबित्तिकै गर्मी, मच्छड, सर्प, घमौरा आदिका अनुभव थिए मसँग । योपटक त्यहाँ शीतल बनाउने चीज के–के हुन्छन् भनेर अनुभूत गर्न खोजेँ । अझ मिथिलाबासीको खातिरदारी, स्वागत, सत्कार, स्नेह कस्तो हुँदोरहेछ, पाएर भावुक पनि भएँ । किताब लेखिइसक्यो । छापिइसक्यो । तर जनकपुरसितको मोह एउटा किताबमा मात्र सीमित भएन । लेखिसकेपछि पनि म बारम्बार गइरहेँ । जनकपुर म हरेक सालमा एकदुईपटक जान्छु नै भनेर प्रण पनि गरेको छु । 

पुस्तक लेख्दाका कुनै त्यस्ता सकसपूर्ण वा सुखद अनुभूति छन्, जुन तपाईं अहिले पनि सम्झिरहनुहुन्छ ?
सकस र सुखद अनुभूति दुवै हर किताब लेख्न बस्दा आफूलाई निचोर्ने क्रममा भई नै हाल्छन् । यो कुरा भनिरहँदा क्लिसे सुनिँदो हो, तपाईंले सिर्जना गरेको पात्र पात्रभन्दा पनि बढी, अझै कोही सहोदर आफन्त झैँ लाग्नु पक्कै सुखद अनुभूति हो । पात्रहरू जीवन्त हुनुले लेखक एक्लो नहुँदो रहेछ । म पाठक भएका हिसाबमा पनि कुनै सुन्दर आख्यान पढ्दा त्यहाँका पात्रहरूसितको उठबसले मलाई एक्लो हुन दिँदैनन् । अरु पाठकलाई पनि यस्तै हुँदो हो । लेख्दा कतिपय ठाउँमा आफैँ रोएको छु । के लेखिरहेको छु आफूलाई थाहा छ, तर घरीघरी आफ्नै लेखाइले पनि शरीरमा काँडा उमारिदिने हैसियत राख्छ । लेख्दा फितलो लागेको दिन मुड खराब हुन्छ । दिन बेकार गयो भनेर उदास हुन्छु ।  आज दुई हजार शब्द लेख्छु भनेको दिन दुई सय फुर्दैन । भिडको माहोलमा लेखेको च्याप्टर सबैभन्दा उत्कृष्ट भएको हुन्छ । अजिबोगरीब अनुभव पो हुन्छन त लेखाइका ।

अब प्रसंग मोडौँ है ?
हुन्छ ।

हुन त हरेक लेखकलाई आफ्ना हरेक सिर्जना उत्तिकै प्रिय लाग्छन् । तैपनि एउटा छान्नुपर्‍यो भने कुन छान्नुहुन्छ र किन ?
कति सजिलो प्रश्न । म त सधैँ मेरो पछिल्लो किताबलाई छान्छु । यसर्थ अब ‘इजोरिया’ ।

तपाईं बेलाबेला नेपालमा साहित्यिक क्षेत्रमा पनि गुट छ । आफूलाई समालोचक भन्नेहरूले अरु लेखकका पुस्तकलाई पढ्दै नपढी राम्रो छैन, आलोचनाकै लागि आलोचना गर्छन् भन्नुहुन्छ नि ? 
मैले लेखक भएर मात्र बुझेर नहुँदो रहेछ । समालोचकहरूका आफ्नै पीडा हुँदा हुन् । आए जति सबै किताब पढेर केस्रा केस्रा केलाउनलाई ठूलै धैर्य र ऊर्जा चाहिन्छ । फेरि अधिकांश पुस्तक टाउकै फोरेर पढ्ने खालका हुन्छन् । यसर्थ कहिलेकाहीँ चियागफमा कुनै कृतिका बारेमा सुनेको ठट्यौली नै संक्षिप्त समालोचना बनेर कुनै सामाजिक सन्जालमा पोखिन सक्छन् । शान्त चित्तले कुनै आग्रह, पूर्वाग्रह नराखी पढ्दा वहाँहरूलाई पनि कतिपय कृति राम्रा लाग्न सक्छन् । तर, हाम्रा साहित्यिक चियागफमा जसलाई पनि होच्याउने, उडाउने, तल खसाउने संस्कार छ । कसैलाई छाडिन्न । त्यो कुरा सामाजिक सन्जालसम्म पुगेको देखिन्छ । त्यसैको चाहिँ विरोध गरेको हुँ । 

र, म चाहिँ के चाहन्छु भने, मेरा किताबहरू पढिदिएर त्यहाँभित्र कुन पक्ष कमजोर छ कुन पक्ष बलियो छ केस्रा केस्रा केलाएर समीक्षा गरिदिऊन् । कसैको पनि टिप्पणीले मलाई छुच्चो, आक्रामक र आवेशमा ल्याइदिनभन्दा मार्गदर्शन, सल्लाह र उचित सुझाव दिउन् न ।

समालोचकहरू त तपाईंका पुस्तकलाई साहित्य नै होइन, बजार केन्द्रित पुस्तक मात्र लेख्छ भन्छन्,  के भन्नुहुन्छ ? 
एउटै किताब पढेर हरेक किताबमाथि धारणा बनाउनेले भन्ने पनि सधैँ एउटै कुरा त हो । ‘इजोरिया’सहित मेरा छवटा किताब प्रकाशित भइसके । मेरो बारेमा धारणा बनाउनलाई मेरो सबै किताब पढ्नुपर्ने हुन्छ । जहाँसम्म मलाई बजार केन्द्रित भयो भन्ने आरोप छ, यसमा मेरो भनाइ के हो भने किताब लेखेर पाण्डुलिपी आफ्नो दराजमा थन्क्याउने बाहेक सबै लेखक बजारमुखी हुन् । हरेक लेखक बजारमुखी हुन नै खोज्छ, तर जब कसैले बजार पाउँदैन तब बजार पाएका लेखकहरूलाई बजारमुखी भयो भनेर आक्रोश पोख्छ । यत्ति हो ।

तुलनात्मक रुपमा तपाईंका अरु पुस्तकहरू ‘समर लभ’ र ‘साया’ जति चलेनन् । तपाईंको लेखनीमा ह्रास आएको हो ? 
जवाफ ‘प्रिय सुफी’ले दिइसकेको छ । कसैलाई अझै चित्त बुझेको छैन भने अब ‘इजोरिया’ झन् गतिलो गरी दिन्छ । 

यो पुस्तकबाट कस्तो आशा छ ?
यो प्रश्नको जवाफ दिनका लागि आशा अलिक फितलो शब्द भयो । आत्मविश्वास उपयुक्त होला कि । दुई शब्दमा भन्छु, ढुक्क छु । 

कुनै समय प्राध्यापक हुनुहुन्थ्यो । ‘साया’पछि पूर्णकालीन लेखक हुनुभयो । लेखेरै बाँच्न कति सजिलो रहेछ ?
आवश्यकता र जीवनशैलीमा भर पर्ने कुरा रहेछ। खाजा र फाँकाको सन्तुलन मिलाउन सके त गाह्रो छैन । तर सपनाको बेलुन धेरै फुक्न थाल्नुभो भने प्याट्ट फुट्न कत्ति पनि बेर लाग्दैन । म अहिलेसम्म लेखेरै बाँचेको लेखक हुँ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
ad
x