वार्ता

अन्तर्वार्ता

'छोटो समयमा धेरै काम हुन्छ भन्‍ने विश्वास छ'

अतिन आचार्य |
जेठ २३, २०७९ सोमबार १२:३२ बजे

अस्तिसम्म खासै चर्चा थिएन । आइतबार 'एक्कासि' नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्‍यो ।  उनीहरूको फिर्तासँगै समाजवादीबाट चार नयाँ अनुहारले मन्त्रिपरिषद्‍मा स्थान पाउने भएका छन् ।

नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी बन्ने भएका छन् । 


एकातिर संसद्‍मा बजेट पेश भएको छ । अर्कोतिर मन्त्रिपरिषद् हेरफेर हुँदैछ । त्यसै पनि यो सरकारको केही समयमै चुनावी सरकारमा परिणत हुँदैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिले पनि वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिँदै आएको छ । 

छोटो अवधिमा मन्त्री बन्नेहरूले अब के काम गर्छन् ? मन्त्री बन्ने क्रममा रहेका समाजवादीका सांसद मेटमणि चौधरी भने छोटै समयमा पनि धेरे काम गर्न सकिने बताउँछन् । 'काम गर्न समय कति छ भन्ने कुराले खासै अर्थ राख्दैन,' उनी भन्छन् । छोटो समयमा धेरै काम हुनेमा म विश्वस्त छु । क्षमता अनुसार काम गरेर देखाउँछू ।' यसै सन्दर्भमा चौधरीसँग इकागजका अतिन आचार्यले गरेको संक्षिप्त कुराकानी :

अस्तिसम्म केही चर्चा थिएन । हिजो एक्कासि मन्त्री हुने कुरा आयो । आज मन्त्री बन्दै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?

 एक जना सांसद जतिखेर पनि मन्त्री बन्न सक्छ ।  यो नियमित प्रक्रिया रहेकाले यसमा त्यस्तो कुनै प्रतिक्रिया छैन । 

बजेट संसद्‍मा पेश भएको छ । जवाफ दिनुपर्ने बेला छ । पुराना मन्त्री बिदा भएर तपाईं जाँदै हुनुहुन्छ । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

संसद्‍मा जवाफ दिने सवालजवाफ पनि मन्त्रालयले तयार गर्छन् । यसलाई अप्ठयारो मान्नुहुँदैन । जे हुन्छ नियमित रुपमा अगाडि बढिरहन्छ ।

यसअघि मन्त्रिपरिषद्‍मा पनि तपाईको चर्चा थियो । तर, अन्तिममा बनाइएन । नबनाइएकोमा तपाईंको गुनासो पनि थियो । अहिले पार्टीले न्याय गर्‍योजस्तो लागेको छ ?

त्यतिखेरको अवस्था एकखालको थियो । पार्टीले महसुस गर्ने कुरा हो । देशभरका सबै साथीहरूले शुभेच्छा व्यक्त गर्नुभएको थियो । 

त्यो शुभेच्छा अहिले पार्टीले सम्बोधन गर्‍यो होइन त ?

हो हो । 

तपाईंहरू मन्त्री हुने सरकार अब केही महिनामै चुनावी सरकारमा पनि परिणत हुँदै छ । यो छोटो समयमा के काम गर्न सक्नु हुन्छ र ? 

मन्त्रालयबाट गर्नुपर्ने मुख्य-मुख्य कामहरूलाई वर्गीकरण गर्नेछु । तीन-चार भागमा राखेर कामलाई अगाडि बढाउँछु । सल्लाह गरेर कुन कामलाई प्राथमिकतामा राख्‍नुपर्ने हो त्यसलाई अगाडि बढाउँछु । सक्नुपर्ने कामलाई पहिचान गरेर त्यसलाई तीव्र गतिका साथ अगाडि बढाइन्छ । जरुरी कामलाई सकेर अगाडि बढाएर लैजाने नीति बनाउँछु । 

छोटो समयमा पनि धेरै काम गर्न सकिन्छ त ?

सडकमा विभिन्न कम्पनीका मोटरसाइकल चलेको देख्‍न सकिन्छ । बुलेट बाइक एक घण्टामा कति चल्छ र हिरो होण्डाको मोटरबाइक कति चल्छ । दुई मध्ये कुन बढी चल्छ ? सबको आफ्नै विशेषता छ । आखिरमा दुई वटा नै मोटरसाइकल हुन् । मोटरसाइकलको आन्तरिक क्षमता र शक्तिमा निर्भर रहने गर्छ । काम गर्न समय कति छ भन्ने कुराले खासै अर्थ राख्दैन । छोटो समयमा धेरै काम हुनेमा म विश्वस्त छु । हाम्रो मन्त्रालयमा क्षमता अनुसार काम गरेर देखाइन्छ ।

अहिलेका मन्त्रीहरूलाई एक्कासि फिर्ता बोलाउँदा पार्टीभित्र असन्तुष्‍टि देखिएको भन्ने छ । यसलाई कसरी लिनु भएको छ ?  

'उद्योगमा प्रोडक्टको पनि बाइ प्रोडक्ट हुन्छ' भने जस्तै हो । यसलाई त्यति ठूलो मान्नुपर्दैन जस्तो लाग्दैन । पार्टीभित्र गुनासो छ जस्तो लाग्दैन ।   मानिसहरूले सामान्य कुरा गरिहाल्छन् ।  

सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । काठमाडौँ उपत्यकामा नियमित फोहर उठ्न छोडेको निकै भयो । यसबारे केही सोच्नुभएको छ ?

फोहर व्यवस्थापनमा विशेष ध्यान दिनेछु । काठमाडौँमा युवा जनप्रतिनिधि आउनुभएको छ । दुवै जना युवा र 'डाइनामिक' हुनुहुन्छ । काम गर्नुपर्छ भन्ने भावना दुवैमा छ । उहाँहरूको योजना र 'भिजन'अनुसार समन्वय गरेर अगाडि बढ्छु। उहाँहरूसँगै सरोकारवाला सबैसँग समन्वय गरेर अगाडि बढ्छु । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x