पूर्वाधार

भिर छिचोलेर टोलटोलमै सडक

इकागज |
बैशाख १५, २०७९ बिहीबार १२:४५ बजे

बलेवा - भिरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो । उक्त भिर काटेर अहिले टोलटोलमा सडक पुगेको छ । बागलुङ नगरपालिका–११ को रायडाँडामा अहिले टोलटोलमै गाडी चढेर पुग्न सकिने भएको हो । जोखिम क्षेत्र भएकाले विशेष क्षेत्रमा सूचीकृत गरेर लगानी बढाउँदा रायडाँडाले विकासको गति लिएको हो ।    
    
विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भिर फोडेर २० किमीभन्दा धेरै सडक सञ्जाल बनेको छ । त्यसमध्ये ११ किमी लामो पूर्व–पश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो । त्यसबाहेक चारवटा छोटा सडक बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ ।    
    
मुकामसम्म पुग्ने सडकको ट्रयाकमात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो । बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयवासीले बताए । रामतोला, आफ्रे र सल्यानवासी चार घण्टा लगाएर सामान्य काममा वडा पुग्ने बाध्यता अहिले हटेको हो । गर्भवती, सुत्केरी र बुढापाका डोकोमा बोकिएर स्वास्थ्यचौकी आउने बाध्यता अहिले हटेको छ ।    
    
भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत घरका मानिस सदरमुकाममा डेरा लिन्थे । गाडी चढेर दुई–तीन घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो । तर अहिले गाउँ पुग्ने सडक स्तरीय भएको छ । सदरमुकामबाट झण्डै ३० किमी दूरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो । मुख्य सडकमात्र नभई वडाका सबै टोलटोलमा बाटो पुगेको छ । जटिल भूगोल चिरेर गौरवको आयोजनाअन्र्तगत वडाभित्रै ११ किमी लामो छुट्टै सडक बनेको हो ।

यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा नं १ देखि ९ सम्मका सबै बस्ती जोड्छ । “यो सडकको ट्रयाक खुलेपछि हामीलाई बलेवा, जैमिनी नगरको कुश्मीसेरा र सदरमुकाम जता गएपछि बाटो खुल्यो”, रामतोलाका धनबहादुर हरिजनले तेजकुमारी क्षेत्रीले बताए । सडक सञ्जाल सबै टोलमा पुगेपछि उपचारमा निस्कनेदेखि विद्यार्थी र शिक्षकले पनि सहज यात्रा गर्न पाएको उनी बताउँछन् । किसानले फलाएका उत्पादन बजार पठाउन पनि सकेकामा खुसी भएका छन् ।



Author

थप समाचार
x