पूर्वाधार

विनाशकारी भूकम्पको सात वर्ष : सिन्धुपाल्चोकमा ८३ हजार ९७१ घर पुनःनिर्माण

इकागज |
बैशाख १२, २०७९ सोमबार १३:७ बजे

सिन्धुपाल्चोक- गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।    
    
यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा भूकम्पले क्षति पुर्‍याएको थियो ।    
    
 बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रुपमा घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार ५७० जनाको मृत्यु भएको थियो भने ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए । यहाँका ५४७ विद्यालय ध्वस्त भएकामा ९८ प्रतिशत विद्यालय निर्माण सम्पन्न भएका छन् । यहाँका ७५ वटा स्वास्थ्यचौकीमा पूर्णरुपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।    
    
 भूकम्पबाट सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचीमा परेका थिए । हालसम्म तेस्रो किस्ता लिएर ८३ हजार ९७१ घर निर्माण भइसकेको र बाँकी निर्माणाधीन रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । यसअन्तर्गत २२ वटा एकीकृत बस्ती निर्माण सम्पन्न भएका छन् ।  रासस



Author

थप समाचार
x