पूर्वाधार

ठूला योजना जति ढिलासुस्तीको सूचीमा

इकागज |
बैशाख २, २०७९ शुक्रबार १९:११ बजे

खोटाङ - मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र प्रगति भएको छ । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ठेक्का लिएको योजनाको तेस्रो म्याद गत ३० चैतमा नाघेको हो ।

सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ र दोस्रो म्याद १३ असार २०७८ मा सकिएको थियो । कालोपत्रे हुनुपर्ने बाटो अहिले पनि कच्ची अवस्थामै छन् । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । 


मध्यपहाडी लोकमार्गको खोटाङभित्र पर्ने अन्य खण्ड कालोपत्रे भइसकेको छ । तर, चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रे नहुँदा खोटाङ र भोजपुर सिधा आवत–जावतमा समेत असर पुर्‍याइरहेको छ । निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङले बताए । 

म्याद सकियो, काम सकिएन 
खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम २०७७ भित्र सकिनु पर्ने हो । तर पछिल्लोपल्ट थप भएको म्याद सकिँदा समेत कालोपत्रे राख्ने तरखर भएको छैन । महुरे–फोक्सिङटार सडक खण्डमध्ये महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्दिसाई जेभी र सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ । 

भारत कन्स्ट्रक्सन/सिद्दिसाईले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको करिब ४५/४६ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउँछन् । 

५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार खण्ड कालोपत्रे पूरा गर्ने सर्तमा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ११ साउन २०७३ मा ठेक्का सम्झौता गरेको थियो । हालसम्म सो खण्डको काम ५० प्रतिशत सकिएको छ । कोभिड–१९ को महामारी कारण देखाएर थप भएको दुवै खण्डको म्याद गत ३० चैतमा सकिएको हो । 

यस्तै, हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको मेनलाइनको दोस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । दवा–महादेव खिम्तीले दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको हो । कोभिड–१९ को कारण देखाउँदै दिवा–महादेव खिम्तीले दुई पल्ट थप म्याद पाउँदा पनि काम सम्पन्न गर्न नसकेको हो । 

सुरुको सम्झौतालाई आधार मान्ने हो भने सम्झौता म्याद नाघेको ३३ महिना बितिसकेको छ । दिवा–महादेव खिम्तीले भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा १७ पुस २०७६ मा सम्पन्न गर्नेगरी २१ असार २०७४ मा आयोजनाको मेनलाइनको कामको ठेक्का सम्झौता गरेको थियो । 

सोही आयोजना अन्तरगत काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको काम उस्तै निराशाजनक छ । 

२०७७ साल असार ३० गतेसम्ममा सक्ने सर्तमा २०७५ साल असार ३१ गते दुवै वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाइनको ठेक्का लिएको हो । कोभिडका कारण भन्दै दोस्रोपल्ट थप भएको वितरणलाइनतर्फको म्याद पनि ३० चैतमै सकिएको छ । 


Author

थप समाचार
x