पूर्वाधार

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

इकागज |
चैत २९, २०७८ मंगलबार १६:४१ बजे

सिन्धुपाल्चोक - खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । 

मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए । 


गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो । 

पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो ।

परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो ।

 सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए । 

सो अवसरमा उनले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गरे । 

मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए । 

कार्यक्रममा उनले सन्तनेता स्वर्गीय कुष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण पनि गरे । रासस


Author

थप समाचार
x