पूर्वाधार

सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्छः मन्त्री भुसाल

इकागज |
चैत २५, २०७८ शुक्रबार १३:४१ बजे

फाइल फोटो

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएकी 
 छिन् । 

शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताएकी हुन् । 


राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्‍याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताइन् । 

पहाडी र हिमाली भेगमा सिँचाइ पु¥याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनले बताइन् ।  

मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताइन् । 

उनले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताइन् । उनले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । 

उनले भनिन् – ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजोपनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । त्यत्तिको त छैन मान्छेले चर्चा गरेजस्तो । राष्ट्रलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने कुरा, समृद्धिमा लाने भन्ने नारा भन्दा हाम्रो व्यवहार सबैभन्दा मुख्य हुन्छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट आयातित चिजलाई सकेसम्म प्रयोग नगरेर देशैभित्रको चिजको खोजी गर्ने । उत्पादनमा सहभागी हुने । कृषि उत्पादनमा व्यक्तिगत हिसाबले पनि हामी नमुना बनौँ । त्यसपछि हाम्रा नीति, योजना, कार्यक्रम सबै त्यतातिर केन्द्रित गर्ने गरेर लागौँ ।’

उनले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताइन् ।  


Author

थप समाचार
x