पूर्वाधार

पूरा भयो सुरुङ मार्ग पुनर्निर्माण, केही दिनपछि मात्रै पर्यटकलाई प्रवेश दिइने

इकागज |
जेठ २६, २०८० शुक्रबार २०:४५ बजे

मकवानपुर- मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुनर्निर्माण सकिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण थालिएको २३ महिनामा सकिएको हो । सुरुङमार्ग पुनर्निर्माणका लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो । आगामी असार मसान्तसम्म सबै काम सकिने पक्का भएको छ ।

राजधानी काठमाडौँलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणपछि अब वारपार गर्न सकिने भएको छ । यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए ।


निर्देशक रेग्मीका अनुसार यसैसाता मात्रै सुरुङ मार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको हो तर अझै काम बाँकी छ । 'अब फिनिसिङ, रङरोगनको काम बाँकी छ,' रेग्मीले भने, 'अनि पर्यटक तथा अनुसन्धान गर्नेहरूका लागि अनुमति दिइने छ, अहिले सबैलाई प्रवेशाज्ञा दिइएको छैन ।'

सुरुङमार्ग भन्नासाथ सवारी ओहोरदोहोर गर्ने भन्ने बुझिन्छ, तर यो यस्तो सुरुङमार्ग हैन । यो सुरुङ मार्ग ऐतिहासिक हो, जहाँबाट २०२० सालसम्म सवारी नै आवतजावत हुने गर्दथे ।

यसैले यो सुरुङमार्ग पर्यटकीय र अध्ययन थलो हो । यसलाई अवलोकन र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा बताए । चुरियामाई सुरुङ विक्रम संवत १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ । जसको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो ।

माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक 'दी हिमालयन किंडम अफ नेपाल'मा पनि चर्चा गरेका छन् । उनले यसलाई 'एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने' उल्लेख गरेका छन् ।

राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो । चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्गबाट सीधा मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरूले मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौँसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौँसम्म सामान भित्र्याइन्थ्यो ।

प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैबीचमै यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । २०७२ सालको भूकम्पले यसका अझै बढी क्षति गराएपछि सुरुङमार्ग गुमनाम बन्दै आएको थियो । प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ ।

 

निर्देशनालयका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर, मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो ।

यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको बताइएको छ । ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ देखाउँदै दुई पटक म्याद थपेर काम गरिएको हो ।

पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र सबै काम सक्नु पर्नेछ । निर्माण कार्य सकिएपछि यो पर्यटकीय तथा अनुसन्धान स्थल संरक्षणको जिम्मेवारी स्थानीय सरकारको हैसियतमा हेटौंडा उपमहानगरपालिकाले लिनेछ ।

सुरुमा सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर, मर्मत कार्य अन्तरगत सुरुङमार्गको भित्री पाटो तोकिएको समयमा छिचोल्नै बाँकी रहेपछि समय सीमा अन्तिम पटक भन्दै २०७९ पुससम्मका लागि थपिएको थियो, फेरी पनि सो समयसम्म काम नसकिएपछि तेस्रो पटक २०८० असार मसान्तसम्मका लागि म्याद थपिएको थियो । सुरुङ साँघुरो भएका कारण मेसिन लैजान नमिलेपछि काम गर्न ६ महिना बढी लागेको ओझाले बताए ।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको थियो, अहिले पछि सर्वसुलभ उपलब्ध हुने निर्माण सामग्रीहरू नै प्रयोग गरिएको छ । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ । उक्त मार्गबाट २०१९ सालसम्म सवारी आउजाउ हुने गरेको र आफूले यात्रा गरेको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको भनाइ छ ।

'प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यही सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो,' पौडेलले भने ।

हेटौंडाको चुरियामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवर्द्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पूरा भएपछि सुरुङमार्गका अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । 'यो स्थान इञ्जिनियरिङको विद्यार्थीका लागि महत्वपूर्ण सावित हुनसक्छ,' पौडेलले भने ।

हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ ।

यसैबीच आज बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डाेरमणि पौडेलले निरीक्षण गरेका छन् । आफू मुख्यमन्त्री हुँदा निकासा गरेको रकमबाट निर्माण भएको चुरियामाई सुरुङको उनले निरीक्षण गरेका हुन् । आज पौडेल र बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठले निरीक्षण गरे । सुरुङको सिरान भागबाट छिरेर अर्को तर्फबाट सजिलै निस्कन पाउँदा खुसी समेत व्यक्त गरे । काम राम्रो भएको भन्दै पौडेलले खुसी व्यक्त गरे ।


Author

थप समाचार
x