पूर्वाधार

अवैध संरचना हटाउन छायाँनाथ रारा नगरपालिकाले थाल्याे रेखांकन

इकागज |
माघ २५, २०७९ बुधबार १८:३६ बजे

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजनिक रूपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ । बुधबार सुरक्षाकर्मी, नगरपालिका तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु गरिएकाे रेखांकन गर्ने कार्य  गमगढी बजारको अदालत चोकदेखि बीच बजारसम्म गरिनेछ । 

गमगढी बजारमा सार्वजनिक जग्गामा निर्माण भएका भर्‍याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरू हटाउन जारी गरेकाे सार्वजनिक सूचना अवज्ञा गरेपछि नगरपालिका स्वयं रेखांकन गर्न सुरु गरेकाे छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए । 


रेखांकन कार्य सकिएपछि सार्वजनिक रूपमा निर्माण भएका टहरा हटाइने उनको भनाइ छ । नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरू केही गर्न सकेको थिएन ।

सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगर प्रमुखदेखि अहिले जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका छन् ।

सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भर्‍याङ, छतलगायत अन्य अव्यवस्थित संरचना हटाउन नगरपालिका लागिपरेको छ । जथाभावी रूपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरूप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताए ।


Author

थप समाचार
x