पूर्वाधार

ट्रली बसको गुहार ‘मलाई बचाउनुस्, म नै भविष्य हुँ’

शुरज थपलिया |
पुस ११, २०७९ सोमबार १८:४० बजे

‘मलाई बचाउनुस्, म नै भविष्य हुँ’ भन्दै छन् काठमाडौँ, मीनभवनस्थित ट्रली बस । हत्या गरिएका तर, सनाखत नगरिएका ट्रली बसका लासहरूलाई न महानगरपालिकाले वास्ता गर्यो, न त यातायात विभागले । यसरी प्यारो ट्रली बसको अल्पआयुमै हत्या भयो ।

२०३३ पुस १३ गते जन्मिएको प्यारो ट्रली बसको २०६६ कार्तिकमा दर्दनाक हत्या भयो । दिनहुँ आठ हजारदेखि १५ हजार मानिसहरूलाई गन्तव्य पु¥याउने ट्रली बस आज आफैँ बेसहारा बनेका छन् । ट्रली बसका पार्टपुर्जाहरू यत्रतत्र लडाइएका छन्, फ्याँकिएका छन् । 


ट्रली बस– एउटा बस हो, जुन दुई ‘ओभरहेड’ तारहरूद्वारा विद्युतीय रूपमा संचालित हुन्छ । सुरुमा राजा महेन्द्रले सन् १९७२ मा चीन सरकारसँग ट्रली बस प्रणालीका लागि वार्ता गरेका थिए । तर, यो प्रणाली उनका उत्तराधिकारी राजा वीरेन्द्रको पालामा मात्रै लागू भएको थियो । 

सन् १९७५ मा राजा वीरेन्द्रको समयमा चीनको ४ करोड रुपैयाँ अनुदानमा २२ वटा ट्रली बस भित्रिएका थिए । ती ट्रली बस काठमाडौँदेखि भक्तपुरसम्म १३ किलोमिटर चल्थे । नेपालमा ट्रली बसको पहिलो मोडल शाङ्घाइ एसके ५४१ थियो । नेपालमा पहिलो पटक यातायातका लागि विद्युत प्रयोग गरिएको थियो ।


ट्रली बसले त्रिपुरेश्वर, मीनभवन, अरनिको राजमार्ग, चक्रपथ, कोटेश्वर, लोकन्थली, मध्यपुरथिमी, सल्लाघारी हँुदै सूर्यविनायकसम्म परिक्रमा गथ्र्यो । फेरि सन् १९९७ मा दश ओटा नयाँ मोडेल बसहरू चीनले नेपाललाई सहयोग गरेको थियो । तर, लगातारको गडबडी, मर्मतसम्भार, आर्थिक र राजनीतिक समस्या, ओभरहेड तारको चोरी र लगानी अभावका कारण सन् २००१ देखि २००३ सम्म ट्रली बस सेवा सञ्चालन पूर्ण रूपमा बन्द थियो । सन् २००८ मा जम्मा पाँचवटा ट्रली बसहरू सञ्चालनमा थिए । ती सबै शाङ्घाइ एसके ५४१ गाडीहरू थिए ।

३३ वर्ष पुगिसकेका ती गाडीहरू मर्मत गर्दै सञ्चालनमा ल्याइएको थियो । कमजोर प्राविधिक विशेषज्ञता र अयोग्य परिचालन नीतिका कारण आज ट्रली बसको अवशेष मात्र बाँकी छ ।  करिब दुई वर्षपछि काठमाडौँ, मध्यपुर थिमी र भक्तपुर नगरपालिकाले सेवा सुचारु गर्न सहमति गरेपछि ट्रली बस पुनः सञ्चालनमा आएको थियो । तर, सेवाले यात्रुहरूलाई आकर्षित गर्न सकेन । 

मध्यपुर थिमी र भक्तपुर नगरपालिकाले एक वर्षभन्दा कम समयमै यो योजनाबाट बाहिरिए । उनीहरूले मासिक २० लाख रुपैयाँसम्म घाटा बेहोर्नुप¥यो । फलस्वरुप, लाइन त्रिपुरेश्वर र तिनकुनेबीच मात्रै सीमित भयो । सहर सीमाबाहिरका अधिकांश तारहरू हटाइयो । ट्रली बस सेवा अन्ततः नोभेम्बर, २००८ मा समाप्त भयो । 

अरनिको राजमार्ग फराकिलो बनाउने आयोजनाले तार कार्यका सपोर्ट पोल हटाइयो र सेवा बन्द भयो । चक्रपथमा ट्रली बस चलाउनका लागि आह्वान भए पनि योजना कहिल्यै साकार हुन सकेन । अनि ट्रली बसहरू लोप भए ।

मेयर बालेन शाहले काठमाडौँ महनगरपालिकामा फुुटपाथमा व्यापारीलाई किनारा लगाउँदैछन् । काठमाडौँ नगरपालिका ‘सफा’ गर्दैछन् । यसरी नै ट्रली बस पनि बिस्तारै ‘सफा’ हुनेछ । एउटा पक्षबाट हेर्ने हो भने महानगरपालिकाकै कमजोरीका कारण ट्रलिबसको लोप भएको हो । निमुखा र गरिब जनताको जिविका मुस्किल बनाएर मात्र होइन आफ्नै विवेकले बिग्रेको काम सपार्नु पनि पर्छ । 


Author

थप समाचार
x