पूर्वाधार

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’

विपरीत दिशाबाट आएका गाडी पार गर्न खोज्नुपर्छ फराकिलो ठाउँ

इकागज |
असोज १३, २०७९ बिहीबार १३:१८ बजे

कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ ।    
    
विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । राजमार्ग जोडिएपश्चात् कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ । यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगञ्ज बुटवल, चितवनलगायतका सहरसहित राजधानी काठमाडौँसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ ।    
    
यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवातजावतले नयाँ ठाउँहरू बजार बनेका छन् । खुद्रे पसल थोक बिक्रेतामा रुपान्तरण भएका छन् । पैदलयात्रा गरिँदाका सङ्गमस्थल अपरिचित ठाउँमा परिणत भएका छन् । हिजो हिँडेका बाटो बिरानो मात्र भएका छैनन्, सडक यातायातले कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ ।    
    
आधुनिकताले सडक छेउमात्र होइन, गाउँ बस्तीलाई समेत छोइसकेको छ । हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्वाकाङ्क्षा जगाएको छ । आज कर्णाली राजमार्ग छेउका डरलाग्दा भिरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन् ।    
    
सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई सफलता मिले पनि धेरैले सास्ती भोग्नुपरेको छ । कर्णाली राजमार्गअन्तरगत विशेषगरी कालीकोट र दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । कमाउने रहरले यस्ता जोखिम ठाउँमा घर बनाएर बसेका नागरिकलाई बाढी र विशेषगरी पहिरोको कहरले सताउने गरेको छ । साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरहरुमा कहिले यातायातका साधन ठोकिने समस्या त कहिले भिरै भत्केर घरहरु कणाली नदीमा जालान् भन्ने डर र चिन्ता छ ।       

सडकले जन्माएका ती बस्तीहरुको व्यवस्थापनमा कसैले ध्यान पुर्‍याएको देखिदैन । कहालीलाग्दो भिरमा बनेको सडक त्यसमा पनि गाडी आवातजावत गर्नसमेत नसक्ने साँघुरो अवस्थाले गाडी अगाडि बढ्न फराकिलो ठाउँ खोज्नुपर्दछ । विपरीत दिशाबाट आएका गाडी पार गर्न समय त लाग्छ नै, चालकले थोरै पनि संवेदनशीलता अपनाउन नसके दुर्घटनाको खतरा पनि त्यत्तिकै छ ।    
    
नेपाली सेनाले खोलेको साँघुरो ट्रयाक फराकिलो नगर्दै गाडी सञ्चालन गरियो । ट्रयाक खोलेको सात वर्षपछि २०७० सालमा ओटासिल प्रविधिबाट त्यही साँघुरो सडक कालोपत्र पनि गरियो । अहिले राजमार्गका विभिन्न ठाउँमा कालोपत्र उप्किँदा कर्णाली भित्रिने जो कोहीको यात्रालाई जोखिमयुक्त बनाएको छ ।    
    
भिर र साँघुरो सडककै कारण ट्रयाक खोलिएपश्चात् कर्णाली राजमार्गमा दर्जनौं गाडी दुर्घटना भएका छन् भने सयौं नागरिकले ज्यान गुमाइसकेका छन् । धनको क्षति पनि त्यसरी नै भएको छ । बढ्दो दुर्घटनाका कारण हुने धनजनको क्षति रोक्न राजमार्गको तत्काल स्तरवृद्धि गरिने भनिए पनि त्यसको कार्यान्वयन नहुँदा जोखिम कायमै छ ।     
    
सडकको अवरोध र जोखिम कम गर्न जुम्लादेखि कालीकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकार पर्दछ । दुवै सङ्घअन्तरगतकै कार्यालय हुन् । सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक ठोस काम ती कार्यालयबाट भएको देखिंदैन । सामान्यतयाः राजमार्गको अवरोध हटाउने प्रयास भएपनि राजमार्गको स्तरोवृद्धि हुन सकेको छैन ।
    
राजमार्गको स्तरवृद्धि नभएकै कारण कर्णालीको पर्यटन विकास हुन नसकेको युवा पर्यटन व्यवसायी हुम्ला निवासी नुर्वु लामा बताउँछन् । यहाँको नेतृत्वको पहलमा सङ्घीय सरकारले सडकको स्तरोन्नति गर्नुपर्दछ,” लामाले भने, “अन्यथा प्राकृतिक, धार्मिक सांस्कृतिक तथा पुरातात्विक रुपले सम्पन्न कर्णाली आर्थिक, सामाजिक र राजनीतिक विकासमा अझै पछि पर्छ ।”    
     
कर्णाली राजमार्गको यात्रालाई सहज बनाउन पुल निर्माण कार्यलाई तीव्रता दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिए । “सुर्खेत बाङ्गसिमलदेखि कालीकोट र जुम्लाको सीमामा पर्ने दही खोलासम्म १३२ किलोमिटर सडक खण्डमा निर्माण कार्य सुरु गरिएको २० मध्य १५ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेका छौँ ।” उनले भने ।
    
उनका अनुसार साईखोला, सिस्ने, बाङ्गेतडा, खिड्कीज्यूलामा पनि पुल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढेको छ । आर्थिक वर्ष २०६८-६९ देखि निर्माण कार्य सुरु भएको दैलेख आठबीस नगरपालिकाको ज्याक्सी खोलामाथिको पुल भने १२ वर्षसम्म पनि बन्न सकेको छैन । रु दुई करोडमा निर्माण सुरु गरिएको सुर्खेतदेखि ११३ किलोमिटर चेनिजमा पर्ने सो पुल निर्माण कम्पनीको लापरवाहीका कारण ढिला भएको इञ्जिनीयर शर्माले बताए ।    
    
पविर–सुनकोशी–सिरुवा जेभीले निर्माणकार्यको जिम्मा लिएको बताउँदै उनले उक्त पुल सम्पन्नताका लागि २० दिन काम गरे पुग्ने बताए । उनका अनुसार ठेकेदार कम्पनीलाई दुई दिनभित्र काममा लाग्न ताकेता लगाइएको छ तर सो जेभीले एक हप्ताको समय मागेकाले कारबाहीको अन्तिम अवस्था छौँ । तोकिएको समयमा काम सम्पन्न नगरे कालोसूचीमा राख्ने तयारी भइरहेको उनले बताए ।    
    
नेपाल सरकार ग्रामीण क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्ला र कालीकोटको सिमानामा विसं २०७४ देखि निर्माणाधीन अवस्थामा रहेको नाग्म पुल निर्माणकै क्रममा चर्किएको छ । त्यसको अनुगमन निरीक्षणको प्रतिवेदन तयारका लागि प्राविधिक टोली त्यहाँ पुगेर फर्किएको इञ्जीनियर शर्माले बताए ।    
    
विभागको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी तयार गरिएको प्रतिवेदन विकास समितिमा पठाएको छ,” उनले भने, “त्यहाँबाट के भनेर आउँछ, त्यहीअनुसार पुलको काम अगाडि बढ्छ ।” नाग्म पुल र त्यससँगै तिलागुफा नगरपालिकाको छिडाना पुल गरेर रु नौ करोड लगानीमा उक्त पुल बन्न लागेको उनले बताए ।    
    
कर्णालीमा सिङ्गल लेनको पुल भएका कारण धेरैले ज्यान गुमाउनु परेको उनको भनाई थियो । दुई लेनको कर्णाली राजमार्ग जतिसक्दो छिटो बनाउनुपर्ने आवश्यक रहेको भन्दै उनले यो कर्मचारीको तहबाट नभई कर्णालीको नेतृत्वको आवश्यक पहल र सङ्घीय सरकारको योजनामा परे मात्र निर्माण कार्य सुरु हुने जनाए ।    रासस



Author

थप समाचार
x