पूर्वाधार

निजगढमा विमानस्थल निर्माण अघि बढाउन विज्ञ टोली गठन गरिने

इकागज |
साउन २, २०७९ सोमवार १८:४३ बजे

फाइल तस्वीर

काठमाडौं– सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडि बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । 

सोमवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।


सोमवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको जानकारी दिए । उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए ।

मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएका प्रतिवेदन अनुसार नै अगाडी बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए । प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरुसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रस्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि उनको भनाइ छ  । 

‘विमानस्थलको प्रस्तावित रन वे र टर्मिनल भवन निर्माण गर्ने ठाउँ खाली मैदान छ,’ उनले भने, ‘विमानस्थल निर्माणका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्था छैन ।’ उनले २०७२ सालको आँकडाका आधारमा मात्रै अहिले बाहिर आएको भन्दै वास्तविकतामा वातावरणको क्षति हुने अवस्था नरहेकोसमेत दाबी गरे । 

त्यस्तै समितिको बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विगतमा भएका केही त्रुटिलाई छोडेर अब सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्न सुझाव दिए। उनले अन्य विमानस्थल निर्माण गर्दा पनि आवश्यकताको अध्ययन गरेर मात्रै निर्माणको काम अगाडि बढाउनु पर्ने बताए ।

त्यस्तै नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले ठोस योजनाका साथ निजगढ विमानस्थल निर्माणको काम अगाडि बढाउन उचित हुने भनाइ राखे । डा.रावलले सरकार विमानस्थल बनाउनको लागि रकम पनि विनियोजन गर्नुपर्ने र त्यसै अनुसार कामलाई तीब्र रुपमा अगाडी बढाउनुपर्ने बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पनि निजगढ विमानस्थल निर्माणको काम अगाडि बढाउने घोषणा गरेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने घोषणा गरेका थिए ।
 


Author

थप समाचार
x