पूर्वाधार

भीमादकाे ऐतिहासिक पुल : मर्मतका लागि बर्सेनि बजेट विनियाेजन, सधैँ फ्रिज

गाउँकै खानीबाट फलाम उत्खनन गरी कालीगढले बनाएका थिए पुल

इकागज |
असार ११, २०७९ शनिवार १६:१७ बजे

तनहुँ- तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।    
    
दिनप्रतिदिन पुल जीर्ण बन्दै गएको छ । मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याक कुहिएर झर्न थालेपछि खाली हुँदै गएका छन् । दुई स्थानीय तह भीमाद नगरपालिका–७ र म्यादे गाउँपालिका– ५ जोड्ने यो पुलको लम्बाइ करिब १६ मिटर लामो छ । राजा सुरेन्द्र विक्रम शाहले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले ७०० रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए ।    
    
त्यही गुठीबाट उक्त झोलुङ्गे पुल निर्माण गरेको तथ्य फेला परेको छ । पुल निर्माणका लागि जिल्लाकै साविक ढोरफिर्दी हाल भीमाद नगरपालिकास्थित मिनाम खानीबाट फलाम उत्खनन गरी काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको बताइन्छ ।    
    
पुलमा जडान गरिएका सम्पूर्ण धातु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरी हातको सिप प्रयोग गरिएको देखिन्छ ।    
    
स्थानीय खानीको फलाम प्रयोग गरी साङ्लाको झोलुङ्गे पुल बनाइएको हुनाले यसको ऐतिहासिक महत्व रहेको छ। अर्कोतर्फ स्थानीय कालीगढले नै पुल निर्माण गरेकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोकेको छ ।    
    
भीमाद नगरपालिका र गण्डकी प्रदेश सरकारले पुल संरक्षण तथा पुनःनिर्माण शीर्षकमा हरेक वर्ष आलोपालो बजेटको व्यवस्था गर्दै आएको छ । यस पुलसँग सम्बन्धित विज्ञ नभेटिँदा विनियोजित बजेट नै फ्रिज भएर गइरहेको छ ।    
    
पुलको संरक्षण र मर्मत शीर्षकमा गण्डकी प्रदेश र भीमाद नगरपालिकाले पटकपटक गरी हालसम्म रु ९२ लाख बजेट विनियोजन गरिसकेको भीमाद नगरपालिका कार्यालयले जनाएको छ ।    
    
भीमाद नगरपालिकाले आव २०७५-७६ मा रु ६० लाख, आव २०७६-७७ मा रु १२ लाख, आव २०७७-०७८ मा रु २० लाख विनियोजनसहित कूल रु ९२ लाख बजेट विनियोजन भइसकेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए।    
     
बजेट विनियोजन भए पनि जनशक्ति अभावका कारण निर्माण कार्य हुन नसकेको उनले बताए । विसं २०७४ को निर्वाचनपश्चात् जनप्रतिनिधि आएदेखि नै बजेट विनियोजन हुँदै आए पनि काम हुन नसक्दा रकम फ्रिज भएर जाने समस्या रहेको छ ।    
    
 पुलका लागि भनेर छुट्याएको बजेटबाट काम गर्न नसकेपछि त्यसै फ्रिज भएर गइरहेको छ । उनले भने, “पुरातात्विक महत्वको पुल भएकाले संरक्षणका लागि विज्ञ व्यक्तिको पनि अभाव रहेको छ ।”    
    
 पुल संरक्षणका लागि हालसम्म नगरपालिकाले विनियोजन गरेको रकममध्येबाट रु १० लाखको लागतमा स्वागत गेट बनाउनुबाहेक पुलकै लागि भनेर अन्य रकम खर्च भएको छैन ।    
    
नगरपालिकाले प्रदेश सरकारसँग डिपिआर तयार गरी पुल संरक्षणको प्रयास गरे पनि बजेट माग गर्दा बजेट नपरेको उनले बताए ।    
    
उनका अनुसार करिब रु ५१ लाख ४१ हजारको डिपिआर तयार गरिएको थियो । बजेट छुट्याइए पनि फ्रिज हुँदै जाने समस्या रहेकाले गत आवदेखि बजेट विनियोजन नगरिएको नगरपालिका कार्यालयले जनाएको छ ।    
    
पुलको संरक्षणमा चासो राख्दै आउनुभएका स्थानीय ध्रुवकुमार श्रेष्ठले यसअघि ऐतिहासिक पुलको संरक्षणका लागि नगरपालिकासँग स्पष्ट स्टिमेट नहुँदा काम हुन नसकेको बताएका थिए । पुलको संरक्षणका लागि धेरै ठाउँ धाइयो, पुरातात्विक विभागले स्पष्ट योजना ल्याउन भने पनि स्टिमेट तयार गर्न ढिला हुँदा काम अघि बढाउन नसकिएको उनले दाबी गरे ।    
    
पुलको लठ्ठाको बाहिरीस्वरुप फलामको साङ्लो हेर्दा अझै पनि कतै खियासमेत लागेको देखिदैन । पुलको दुवै छेउका लठ्ठाहरु फलामको साङ्लो तयार पारेर जोडिएको छ । उक्त साङ्लो जमिनमा गाडिएको छ । पुलको साङ्लो निकै आकर्षक छन् । यसले पर्यटकलाई लोभ्याउन सक्छ । सेती नदी माथि मोटरेवल पक्की पुल निर्माणसँगै फलामे साङ्लो झोलुङ्गे पुलको अस्तित्व हराएको छ ।    
    
श्रीकृष्ण शाहीले पुल नजिकैको परिसरमा शिवजी, नारायण, शङ्करेश्वरी महादेव, भगवती मन्दिर, झोलुङ्गे पुल र दुई वटा कलात्मक धर्मशाला निर्माण गरेका थिए । ढुण्डीराज शाहीले शिवजी मन्दिर निर्माण गरेको तथ्य पनि फेला परेको छ ।    
    
आफ्नै गाउँठाउँको फलाम खानीबाट निकालिएको फलामबाट निर्मित झोलुङ्गे पुल संरक्षणमा नगरपालिकाले प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । पुरातात्विक विभागसँगको निगरानीमा रहेर काम गर्न नगरपालिकाले आवश्यक पहलकदमी गरिरहेको उनले बताए।    
नगरपालिका पुल संरक्षणको अभियानमा रहे पनि पुरातात्विक विभागले उत्खनन गर्न नदिएकोले संरक्षणको कार्य अघि बढ्न नसकेको नगरप्रमुख सुवेदीले जानकारी दिए ।    
    
 “पुरातात्विक विभागको निगरानीमा रहेर काम गर्न पाइन्छ भने पनि हामी काम गर्न तयार छौँ”, उनले भने, “गौरवको विषय भएकाले यसको संरक्षणका लागि इच्छा शक्ति चाहिन्छ ।” आफ्नो कार्यकालमा संरक्षणको अभावमा ऐतिहासिक पुल भन्ने नबनाउन सक्रिय भएर लाग्ने आश्वासन नगरप्रमुख सुवेदीले दिए । रासस  



Author

थप समाचार
x