पूर्वाधार

बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरो र जीर्ण

इकागज |
जेठ ६, २०७९ शुक्रवार १७:४५ बजे

बारा । बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो ।

पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन् । देशको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले साँघुरो र जीर्ण भएका छन् । पुल साँघुरो भएकै कारण राजमार्गमा घण्टौँ जाम हुने गरेको छ । 


पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा मात्र साना तथा ठूला गरेर एक दर्जन बढी पुल छन् । अधिकांश पुल साँघुरो र जीर्ण भएर सवारी जाम बढिरहेको छ । 
औसत पुलको आयु ५० देखि ६० वर्षको हुने बताइन्छ, तर बारामा निर्माण गरिएका पुलहरू करिब ७० वर्षभन्दा पुराना छन् । पुल साँघुरो र जीर्ण भएको वर्षाै भइसके पनि सरकारले नयाँ पुल निर्माणमा कुनै चासो दिएको छैन, जस कारण हजारौँ यात्रु जोखिम मोलेर गर्नुपर्ने यात्राको अन्त्य तत्काल हुने देखिँदैन । 

सरकारले महंगो सवारी कर लिने गरेको पनि सडक निर्माणमा चासो नदिएकै कारण म्याद सकिएको पुलमा जीवन नै दाउमा राखेर सवारी चलाउन बाध्य भएको सवारी चालकहरूको गुनासो छ । 

बाराको पसाहा, बालगंगा, भमारा पुल, एक नम्बर पुललगाएतका पुल साँघुरो र जीर्ण छन् । साँघुरा र जीर्ण पुलकै कारण ट्राफिक जामसमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाराको अधिकांश समय पुल क्षेत्रमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेमा बढी समय खपत हुने गरेको छ । पुलहरूमा सवारी चाप दैनिक बढिरहेको र साँघुरो  पुलका कारण जाम हुने गरेकाले अधिकांश ट्राफिक प्रहरी त्यहीँ जाम न्यूनीकरणका लागि खटाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । उनले नयाँ पुल निर्माण नभएसम्म समस्या समाधान नहुने बताए । 


Author

थप समाचार
x