घटना-दुर्घटना

अविरल वर्षाले हेम्जाका ३०० घर डुबानमा

विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय

इकागज |
असार ११, २०७९ शनिबार १५:१० बजे

फाइल फोटो

कास्की - गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए । 

यसैगरी पहिरोले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ । डुबान र पहिरोका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए । 


बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । उनले भने, `भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिरोले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन ।` घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् । 

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण संकलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए । 

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरोमा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरोमा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । पहिरोबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले जानकारी दिए । रासस 


Author

थप समाचार
x